बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय
मानव तस्करी

इराकमा बेचिएका चेलीको पीडादायी कथा

शुक्रबार, २८ असार २०८१, १० : ५४
शुक्रबार, २८ असार २०८१

काठमाडौँ । २० वर्ष अघि इराकमा १२ जना नेपाली मारिएको घटना सबैको मन मस्तिष्कमा जगजाहेरै छ । विश्व नै स्तब्ध हुनेगरी भएको त्यो घटना हरेक नेपालीका लागि कहिल्यै नमेटिने घाउ बनेको छ ।

सो घटना यता इराकमा रोजगारीका लागि जान नेपालीलाई जान रोक लागेको छ । यद्यपि अहिले पनि अवैध रूपमा हजारौँ नेपाली इराक पुगेर काम गर्दै आएका छन् ।

धादिङकी सविता (परिवर्तित नाम) र गोरखाकी सम्झना (परिवर्तित नाम) दिदीबहिनी हुन् । दुवै जना वैदेशिक रोजगारीका लागि इराक पुगे । तर त्यहाँ चरम यातना तथा दुःख पाएपछि चार महिनामै उनीहरू नेपाल फर्किन बाध्य भए ।

दुवै दिदीबहिनीलाई वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यू नेपाल) नामक संस्थाले उद्धार गरेर नेपाल ल्याएको हो । २३ वर्षीया सम्झनाले विवाह गरेको धेरै समय भएको थिएन । श्रीमानसँगको सल्लाहमा उनी वैदेशिक रोजगारीमा जान तयार भइन् । आफू विदेश गएर आएपछि श्रीमानलाई युरोप पठाउने उनको चाहना थियो ।

त्यसैले उनले श्रीमानसँग सल्लाह गरेर पहिला आफू विदेश जान तयार भइन् । उनी जाने भएपछि उनकी आफ्नै दिदी पनि वैदेशिक रोजगारीमा जान तयार भइन् ।

दुवै जना गाउँकै एक जना एजेन्टकहाँ पुगे । आफन्तमार्फत ती एजेन्टले भिजिट भिसामार्फत पठाइदिने आश्वासन दिए । उनले दुवै जनाले ऋण गरेर जनही ८० हजार रूपैयाँ दिए ।

२१ अप्रिल २०२४ मा उनीहरू भिजिट भिसामार्फत दुबई उडे । दुबईमा केही दिन उनीहरूलाई बन्द कोठामा राखियो । त्यो बेलासम्म उनीहरूलाई कहाँ लैजान लागेको भन्ने थाहा थिएन ।

उनीहरू बसेको ठाउँमा केही विदेशी आए । एजेन्ट र विदेशीबिच ती दुवै महिलाको सामु कुरा भयो । तर दुवै महिलाले भाषा समस्याका कारण वार्तालाप बुझेनन् । त्यसपछि ती दिदीबहिनीलाई २९ अप्रिल २०२४ मा दुबईबाट अर्को देश लगियो ।

कहाँ लैजाने, के काम गर्ने भन्ने पत्तो नभए पनि उनीहरू जता लान्छ, उतै जान बाध्य थिए । अन्ततः उनीहरू इराक पुगे । इराक पुगेपछि उनीहरूलाई त्यहाँको नेपाली एजेन्टसँग भेट गराइयो । त्यहाँबाट व्यक्तिका घरमा काम गर्न लगियो । घरको सबै काम गर्नुपर्ने भन्ने थियो ।

नेपालमा हुँदा एजेन्टले मासिक ३०० अमेरिकी डलर तलब पाइने, काम एकदमै सजिलो हुने भनेर प्रलोभन देखाएको थियो । ‘भिजिट भिसामार्फत जानु हुँदैन भन्ने थाहा थियो । तर पनि राम्रो तलब पाइने भनेपछि हामी लोभियौँ । काम पनि राम्रै पाइन्छ भनेका थिए । तर, गएपछि मृत्युको मुखबाट बचेर आयौँ,’ सम्झनाले भनिन् ।  

इराकमा पुगेपछि उनीहरूले भोगेको पीडाको बयान गरी साध्य छैन । काम गर्दाको पीडा एउटा छ तर, काम जानेन भनेर दिने पीडा बयान गर्न सकिने अवस्था छैन ।

‘बिहान ९ बजेदेखि राति १२ बजेसम्म घरको काम गर्नुपर्ने । फेरि राति उठ्नुपर्ने । बिहान एउटा अण्डा खान दिन्थ्यो । त्यसपछि दिउँसो ३ बजेमात्रै खान दिन्थ्यो । त्यो पनि खानै नसकिने खालको खाना हुन्थ्यो । फेरि अर्को दिनको बिहान त्यही अण्डा दिन्थ्यो । खानै नपाइ काम गर्नुपर्ने अवस्था थियो,’ सम्झनाले भनिन् ।

इराक पुगेको चार महिनामा उनीहरूले कयौँ दुःख तथा यातना पाए । यहाँसम्म कि दिदी सविता त सात दिन प्रहरी हिरासतमा बस्नुपरेको थियो । पासपोर्ट एउटा तथा ‘अकामा’ (सम्बन्धित देशले दिने परिचयपत्र) मा अर्कैै नाम परेपछि उनी सात दिन हिरासतमा बस्न बाध्य भएकी थिइन् । हिरासतको दुःख छुट्टै छ । त्यो सात दिन उनको लागि सात जुनीजस्तै थियो ।

सम्झनाले त्यो अवधिमा १६ दिनजति काम गरिन् । तर, एक पैसा पनि पाइनन् । सविताले भने सात दिन काम गर्दा १० हजार जति पैसा पाएकी थिइन्, जुन पैसा हिरासतमा बस्दा सकियो ।

सम्झनाका अनुसार आफूलाई काम राम्रो लागेन भनेर कुरा गरेपछि ३÷४ घण्टासम्म एक खुट्टामात्रै उभ्याएर राख्थ्यो । एउटा खुट्टामा उभ्याएर राख्ने र त्यो हेर्नका लागि छुट्टै गार्ड राख्ने गरेको थियो । जसले गर्दा उनको खुट्टा अहिले पनि सुन्निएको छ ।

‘खाना नै नदिइ काम गर्नुपरेपछि बिरामी भएँ । अस्पताल भर्ना गरियो । अस्पतालमा पनि राम्रोसँग उपचार गरिएन । बेवारिसे जस्तै बनाएर उपचार गरिन्थ्यो,’ उनले भनिन् ।

त्यो बिचमा उनीहरूले कतिपटक त आत्महत्या गर्ने सोच पनि बनाएका थिए । हजारौँ सपना पानीमा बिलाएको सोच्दै आत्महत्या गर्ने सोच बनाएको सम्झनाको भनाइ छ ।

‘आफ्नै जिद्दीले विदेश जान्छु भनेर गइयो । विदेश गएर कुकुरले नपाउनु दुःख पाएँ । भर्खरै बिहे गरेर श्रीमानलाई छोडेर आएको थिएँ । अब कुन मुखले यस्तो दुःख पाएँ भन्नु, कसरी घर फर्किन्छु भनेर सुनाउँजस्तो भएको थियो । त्यसपछि कतिपटक आत्महत्या नै गरौँ कि भन्ने सोच आउँथ्यो,’ सम्झनाले त्यो बेलाको पीडा सुनाइन् ।

नेपालको एजेन्ट तारा विकले उनीहरू दुवै जनालाई इराक पठाएकी थिइन् भने इराकमा रहेको नेपाली एजेन्ट लक्ष्मी कुमारी जिमी थिइन् ।

पीडित दिदीबहिनीकै परिवारले उद्धारका लागि रेस्क्यु नेपालमा निवेदन दिएका थिए । त्यसपछि इराकमा रहेको रेस्क्यू नेपालको प्रतिनिधि निमा शेर्पा र शान्ता थापाले आफ्नो पासपोर्ट र ‘अकामा’ बन्धकी राखेर उनीहरूलाई नेपाल पठाउन सफल भएका हुन् ।

रेस्क्यू नेपालका अध्यक्ष इन्द्रलाल गोलेले दुवै जनालाई जनही एक हजार डलर तिर्नेगरी नेपाल पठाइएको बताए । त्यस्तै इराकको मालिकले दुवै जनलाई किनेको भन्दै सात हजार डलर मागेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप