बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमतीको नयाँ मुख्यमन्त्री लामा कि बानियाँ ?

शुक्रबार, २८ असार २०८१, ०९ : १३
शुक्रबार, २८ असार २०८१

मकवानपुर । सत्ता समीकरण परिवर्तनसँगै केन्द्रदेखि प्रदेशसम्म सरकार फेरबदलको प्रक्रिया सुरु हुँदैछ । केन्द्रमा नयाँ सरकार निर्माण भए लगत्तै प्रदेशहरूमा पनि सो क्रम सुरु गर्ने तयारीमा दलहरू छन् ।

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्य अनुसार असार २४ गते नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी त्यागेर सरकारबाट बाहिरिइसकेको छ । योसँगै माओवादी केन्द्रबाट मख्यमन्त्री बनेका शालिकराम जम्कट्टेल अल्पमतमा परेको छन् ।

मुख्यगरी केन्द्रमा वर्तमान सरकारको समीकरणबाट अलग भएर नेकपा एमालेले कांग्रेससँगको साझेदारीमा सत्तारोहण गर्दैछ । सोही अनुसार कांग्रेस एमालेको गठबन्धनमा प्रदेश सरकार गठन गर्ने गरी नेताहरू लागि परेका छन् । दुवै दलले मधेस प्रदेशबाहेक ३-३ वटा सरकारको नेतृत्व गर्ने गरी प्रदेशमा सत्ता साझेदारी गर्ने सहमति गरेका छन् । जसअनुसार बागमती प्रदेश सरकारको भाग कांग्रेसको पक्षमा परेको छ ।

संघीयता कार्यान्वयनको ७ वर्षे अवधिमा बागमती प्रदेशमा पहिलो पटक कांग्रेसले सरकार निर्माण गर्ने अवसर कांग्रेस एमाले गठबन्धनले जुराएको छ । यसअघि एमाले, एकीकृत समाजवादी र माओवादीले सरकारको नेतृत्व गरेको बागमतीमा पहिलो पटक कांग्रेस सत्तारोहणको संघारमा पुगेको छ । अहिलेसम्म एमालेका २, एकीकृत समाजवादी र माओवादी केन्द्रका १-१ गरी ४ मुख्यमन्त्री पाएको छ ।

पाँचौँ मुख्यमन्त्री कांग्रेसबाट हुने निश्चित भए पनि को हुने भन्ने अन्योल भने कायमै छ । सरकारको नेतृत्व कांग्रेसले नै गर्ने भएपछि मुख्यमन्त्रीका लागि विशेष गरेर दुईजना नेताहरू सक्रिय बनेका छन् ।

कांग्रेसको प्रदेशसभा संसदीय दलको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । प्रदेशसभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताले नै नेतृत्व गर्ने भन्ने छ । सोही विधान अनुसार अघि बढ्ने हो भने नेता लामाको विकल्प अरू छैनन् । 

कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा र यसअघि संसदीय दलका नेता बनिसकेका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडमा रहेका छन् । 

दुवै नेताहरू काठमाडौँ केन्द्रित रहेर सक्रिय ढङ्गबाट पार्टी केन्द्रमा लबिङ बढाइरहेका छन् । नेताहरू समूहगत रूपमा रणनीति निर्माणसँगै कांग्रेस सभापति शेरबहादुुर देउवासँगको भेटघाटमा रहेका छन् । उनीहरू पार्टीका शक्तिशाली नेतृत्वको साथमा सभापति देउवासँग भेट गर्ने र प्रदेशको अवस्थाको ब्रिफिङ गर्न सक्रिय भएको एक नेताले रातोपाटीलाई बताए ।

उनका अनुसार प्रदेश सरकारको नेतृत्व सशक्त बनाउने गरी केन्द्रबाट तयारी भएको तर कसले नेतृत्वमा गर्ने भन्ने विषयमा भने हालसम्म निर्णय भएको छैन । सरकार गठनका विषयमा केन्द्रमा सामान्य छलफल भए पनि निकास दिने गरी छलफल हुन नसकेको उनको भनाई छ ।

सहज छैन लामा र बानियाँलाई
कांग्रेसको प्रदेशसभा संसदीय दलको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । प्रदेशसभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताले नै नेतृत्व गर्ने भन्ने छ । सोही विधान अनुसार अघि बढ्ने हो भने नेता लामाको विकल्प अरू छैनन् । 

तर, पछिल्लो समय उनको प्रस्तुति कमजोर भएको र संसदीय दलको भूमिका सशक्त बन्न नसकेको गुनासो पनि पार्टीभित्र रहेको छ । पछिल्लो पटक प्रदेश सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको भन्दै दलको नेता परिवर्तनको चर्चा समेत चलेको थियो । प्रदेशको राजनीतिक अवस्थाका कारण नेता लामालाई मुख्यमन्त्री बन्न सहज देखिँदैन ।

यता, बानियाँ पक्षका सांसदहरूले पार्टीका लागि पटक–पटक त्याग गरेकाले उनलाई मुख्यमन्त्री बनाउनु पर्ने तर्क गरेका छन् । उनीहरूले गठबन्धनमा सरकार बनाउँदा अघिल्लो पटक आलोपालो सरकार बनाउने लिखित सहमति भए पनि पार्टीका लागि बानियाँले त्याग गरेको उनीहरूको भनाई छ ।

कांग्रेस सांसद एवम् प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले सरकारको नेतृत्वका लागि दुवै नेताहरूको सम्भावना रहेको बताए । दुवै नेताहरू सक्रिय भएर सरकार गठनका लागि लबिङ गरिरहेको उनको भनाई छ । 

बानियाँनिकट एक सांसदका अनुसार यसअघि दलको नेता परिवर्तनको मुद्दा उठे पनि राजनीतिक अवस्थाका कारण उक्त मुद्दा अघि बढ्न नसकेको उनले बताए । पार्टीको भूमिका कमजोर हुँदा संसदीय दलको बैठक र संसद्मा नेता बानियाँको खोजी समेत भएको उनले दाबी गरे । प्रदेश सरकारको नेतृत्वमा पनि भूमिका कमजोर भए निर्णायक क्षमतामा अन्य दलहरू हाबी हुने आशङ्का रहेको उनको भनाई छ । सोही अनुसार प्रदेशको मुख्यमन्त्री चयनमा उचित निर्णय गर्नुपर्ने उनले बताए । नेता लामाबाट प्रदेश सरकार चल्न नसक्ने र त्यसका लागि दलको नेता परिवर्तन वा अन्य विकल्प खोजी गरेर बानियाँलाई मुख्यमन्त्री बनाउनु पर्ने उनको भनाई छ ।

यता, नेता लामा पक्षका सांसद भने तत्काल संसदीय दलको नेता परिवर्तन सम्भव नरहेको छैन । विधानअनुसार नै सरकारको नेतृत्व दलको नेताले गर्ने उनको भनाई छ । कांग्रेस आफ्नो विधान विपरीत जान नसक्ने र लामा नै मुख्यमन्त्री बन्ने उनको दाबी छ । दलको नेता नै फेर्ने योजना भएको खण्डमा भने पार्टी केन्द्र नै निर्णायक रहने उनले बताए ।

कांग्रेस सांसद एवम् प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले सरकारको नेतृत्वका लागि दुवै नेताहरूको सम्भावना रहेको बताए । दुवै नेताहरू सक्रिय भएर सरकार गठनका लागि लबिङ गरिरहेको उनको भनाई छ । 

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफलका क्रममा पनि कांग्रेसका सांसदहरूले सशक्त भूमिका खेलेर वर्तमान सरकारलाई ट्रयाकमा ल्याएको सभापति लामाले दाबी गरे । सरकारलाई सशक्त र निर्णायक बनाउन क्षमतावान् र भिजन भएका सांसदलाई मन्त्री बनाउनु पर्ने उनको भनाई छ । नागरिकको अपेक्षा पुरा गर्ने र आवश्यकताका आधारमा काम गर्ने व्यक्ति सरकारमा जानुपर्ने उनले सुझाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप