दसौँ राष्ट्रिय खेलकुदमा ३५ खेलका ४ सय १९ स्पर्धा प्रस्ताव
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गरेका छन् ।
राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्य तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा भएको दसौँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार भएको बैठकमा उक्त प्रस्ताव गरिएको हो ।
सदस्य–सचिव घिसिङले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गरे । राखेपले दसौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ गतेदेखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको छ ।
महिला फुटबल, उसु, पुरुषमहिला बास्केटबल, जुडो, पुरुष/महिला हक्की र तेक्वान्दो खेललाई दसौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । निर्णायक सङ्ख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।
बैठकमा सदस्य–सचिव घिसिङले दसौँ राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए ।
उनले बृहत् राष्ट्रिय खेलकुद देशकै ओलम्पिक खेलकुदका रूपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताउँदै दसौँ राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनु पर्नेमा जोड दिए ।
सदस्य–सचिव घिसिङले दसौँ राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउँदै खेलकुदलाई व्यावसायिक बनाउनु पर्ने आवश्यकता औँल्याए । उनले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराउँदै खेल पोसाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको बताए ।
सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार दसौँ राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालमा पहिलोपटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताउँदै प्रस्ताव गरिएका बुँदामा यथाशीघ्र सुझाव उपलब्ध गराउन आग्रह गरे ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरान खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताए । उनले तोकिएकै समयमा दसौँ राष्ट्रिय खेलकुद गर्नुको विकल्प नरहेको बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको ५ जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुङ्गो लगाउनु पर्ने जिकिर गरे ।
बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्य–सचिवहरूले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनु पर्ने, एक खेलमा कम्तीमा ५ टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनु पर्ने लगायतका विषयमा धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समितिमा विचाराधीन विधेयकको विषयमा सत्तारूढ दलहरूले छलफल गर्ने
-
अनुमति नलिई क्यासिनो सञ्चालन गरे सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने निर्णय
-
बागमती सीटीइभिटीको कार्यकारी निर्देशकमा लामा नियुक्त
-
इजरायली आक्रमणमा मारिए पाँच पत्रकार
-
न्यायालयमाथि विप्लवको आक्रोश, प्रकाश सपुतको गीत गुनगुनाउँदै ओलीमाथि पनि प्रश्न
-
ओलम्पिक कमिटीको निर्वाचन गर्न सर्वोच्चले लगायो रोक, जीवनरामलाई धक्का