सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘प्रेस स्वतन्त्रता दुरुपयोग काउन्सिलको नियमनको दायरामा’

बिहीबार, २७ असार २०८१, २२ : ५५
बिहीबार, २७ असार २०८१

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जाल प्रयोगगरी चलेका सञ्चारमाध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग काउन्सिलको नियमनको दायरामा पर्ने बताएका छन् ।

परम्परागत तथा न्यू मिडियाले दिने विषयवस्तु, पत्रकार र सञ्चारकर्मीको व्यवहार र पत्रकारितामा देखिएका विसङ्गतिका बिषयमा काउन्सिलले नियमन गर्ने बताएका हुन् । प्रेस काउन्सिल नेपालद्वारा आज आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने भए पनि पत्रकारले सीमामा बसेर लेख्नुपर्ने धारणा राखे । स्रोतसाधनको सीमितता हुँदाहुँदै पनि काउन्सिलले काम गरिरहेको उनको भनाइ थियो । उनले भने, “आफ्नो ठाउँबाट काउन्सिलले काम गरिरहेको छ ।”

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवद्र्धनमा संविधान,  कानुनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतले बताए । मिडिया पीडितलाई न्याय दिलाउने संस्थाका रूपमा काउन्सिल रहेको र समाचार लेखेकै आधारमा अप्ठ्यारो अवस्था सिर्जना गर्न नहुने उनको धारणा छ । समाचार कक्षले पनि आन्तरिक आचारसहिंता बनाएर स्वनियमन प्रणालीको विकास गर्नुपर्ने उनको सुझाव छ । 

काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष सोमनाथ घिमिरेले सञ्चारमाध्यममा निर्देशित र प्रक्षेपित सूचनाको प्रवाह गर्ने र सञ्चार जगत्लाई भ्रमित पार्ने काम विगतमा पनि हुने गरेको र अहिले पनि भइरहेको बताए । पत्रकार राजनीतिक र व्यापारिकलगायत विभिन्न क्षेत्रबाट प्रभावित हुने हुँदा यस्तो प्रवृत्ति प्रेस स्वतन्त्रताको बाधक रहेको उनको भनाइ थियो । 

उनले भने, “पत्रकार विभिन्न ठाउँबाट प्रभावित भएर आग्रहजन्य सूचना र विचार प्रवाह गर्ने काम भइरहेको छ ।”

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताका विषयमा राज्यको चरित्र उदार नभएको धारणा राख्नुभयो । संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख भए पनि प्रेस स्वतन्त्रतालाई सङ्कुचित पार्नेगरी कानुन बनाउन सकिने व्यवस्था भएको उनले बताए । उनले भने, “अभिव्यक्ति स्वतन्त्रता भनेको नागरिक अधिकार मात्रै नभएर विश्वव्यापी अधिकारको विषय हो ।”

नेपाल पत्रकार महासङ्घका सचिव पवन आचार्यले परम्परागत मिडिया लोप हुँदै गइरहेको र न्यू मिडियामा ‘गेट किपिङ’ कमजोर रहेको उल्लेख गरे । डिजिटल मिडिया साक्षरताका लागि काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले प्रेस स्वतन्त्रता देशका लागि अवसर भएको र यसलाई कुनै बहानामा सङ्कुचन गर्न नहुने धारणा राखे । नेपाल प्रहरीका प्रवक्ता  दानबहादुर कार्कीले भीडभाडका समयमा प्रहरीले तोकेको निषेधित क्षेत्रभित्र जाँदा कतिपय यस्ता घटना हुने गरेको स्वीकारे ।

नेपाली सेनाका महासेनानी खेमराज शर्माले प्रेस स्वतन्त्रताका विषयमा सरोकारवाला मिलेर अघि बढ्नुपर्ने धारणा राखे । सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले एउटै दृश्यमा हेर्ने दृष्टिकोण फरक फरक हुने भए पनि संवेदनशील विषयमा सबैको आँखा एउटै हुन जरुरी रहेको बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोजकुमार यादव, श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसी, फ्रिडम फोरमका अध्यक्ष हरि विनोद अधिकारी, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका महासचिव समीर बलामीलगायतले प्रेस स्वतन्त्रता संरक्षणमा राज्य जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप