सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, २७ असार २०८१, २२ : ०८
बिहीबार, २७ असार २०८१

आज मिति २०८१ साल असार महिनाको २७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. ओली सरकारमा कांग्रेसबाट प्रकाशमानको नेतृत्व

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सहभागी हुने भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहिसकेका सिंहको नेतृत्वमा कांग्रेस नयाँ सरकारमा सहभागी हुने भएको हो ।

२. वर्षमानको भनाइ र सांसदको आरोप

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट पारित भएको आर्थिक विधेयक, २०८१ माथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु अनैतिक भएका बताएका छन् । बिहीबार मन्त्री पुनको सचिवालयले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाबाट पारित भएको आर्थिक विधेयक, २०८१ माथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु राजनीति, नैतिक र स्थापित संसदीय अभ्यास, परम्परा, प्रचलन र मूल्यमान्यता विपरीत भएको उल्लेख गरिएको छ ।

३. प्रचण्डको अवको रणनीति के ?

संविधान संशोधनसहित सत्ता समीकरण फेरबदल गर्ने कांग्रेस र एमालेको सहमतिलाई माओवादी केन्द्रले मुख्य हतियार बनाउने रणनीति  बनाएको छ ।

असार १७ गते मध्यराति कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबिच ७ बुँदे सहमति भएको चर्चा चलेको थियो । उक्त सहमति आ–आफ्ना दलबाट अनुमोदन भएको दुवैतर्फका नेताहरूले दाबी गरेका थिए । तर १० दिन बितिसक्दा समेत दुवै दलले सहमतिपत्र सार्वजनिक गर्ने आँट गरेका छैनन् । 

४. संविधान संशोधन बहस

कांग्रेस–एमालेको अहिलेको सहमतिको अन्तर्य सरकारमा पुग्ने राजनीतिक दाउपेच मात्र होइन भने सार्वजनिक नभएको तर लिखित भनिएको ‘सम्झौतापत्र’ बमोजिम संविधान संशोधन हुनेमा सन्देह छैन ।

यो संविधान यसअघि दुईपटक संशोधन भइसकेको छ— एकपटक मधेसको माग सम्बोधन गर्न र अर्कोपटक चुच्चे नक्सा समेट्ने क्रममा ।

तेस्रोपटक हुने भनिएको संशोधन त्यति सहज भने छैन । यसले राजनीतिक प्रणालीलाई झन् अस्थिर पार्न सक्छ । संशोधन प्रक्रियामा प्रवेश गरेपछि आउने जटिलता र उल्झनको व्यवस्थापन गर्न नसकिए राष्ट्रिय राजनीतिमा थप जटिलता र अस्थिरता उत्पन्न हुनेछ । यसप्रति दलहरू सचेत हुनैपर्छ ।

फराकिलो छलफलबाट मात्र संशोधन या पुनरवलोकनको प्रक्रियामा प्रवेश गर्नुपर्छ । तर, सुरुवात नै झुर भएको छ, सम्झौता सार्वजनिक नहुँदा अन्यौलता बढेको छ । जति दिन गुपचुप राखिन्छ, त्यति आशङ्काहरू बढ्ने भएकाले सम्झौता तत्काल सार्वजनिक गरिनु पर्दछ ।

 

५. विपद्को घटना

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ ।

६. मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने अघिल्लो दिन बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी एमालेले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

 

७. जसपाको केन्द्रीय समिति घोषणा

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समितिको नामावली सार्वजनिक भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज २१५ सदस्यीय केन्द्रीय कार्य समिति सार्वजनिक गरेका छन् । जसपा अध्यक्षसहित नौ जना कार्यकारिणी समिति सदस्य छन् भने अरू बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

 

८. सेयर बजार

केही दिन यताको लगातार वृद्धिसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से  सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको हो ।

९.अपराध

गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी पक्राउ परेका छन् । गृह मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटर निर्मल विष्टलाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले रातोपाटीलाई बताए ।

 

१०. प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठकमा एक जना पनि मन्त्री नआएपछि भोलीसम्मका लागि स्थगित भएको छ । दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ साढे ५ बजे बसेको थियो । बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा एक जना पनि मन्त्री नभएका कारण संसद् बैठक अगाडि जान नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण जनाए ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप