तस्करीको उजुरीपछि सशस्त्रका एसपीमाथि छानबिन सुरु
विराटनगर । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु भएको छ । मोरङमा २०८० फागुन पहिलो साता सशस्त्र प्रहरीको प्रमुखको रूपमा आएका एसपी खड्कामाथि तस्करीको लाइन चलाएको आरोप लागेको हो ।
मोरङमा तीन दर्जन वटा सीमा नाका छन् । जसमध्ये विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट तस्करीको लाइन चलाएर अवैध असुली गरेको उनीमाथि आरोप छ । विराटनगरका व्यापारी विनोद केशरीले एक महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, नियन्त्रणमा लिइएको उक्त चिनी भन्सारमा बुझाउनुको साटो एसपी खड्काले यतिकै छाडेको आरोप लगाइएको छ ।
उनले पैसा लिएर चिनीसहितको गाडी छोडेको आरोपमा आईजीपी राजु अर्यालको सचिवालयमा बेनामे उजुरी परेको थियो । आईजीपी राजु अर्यालकै निर्देशनमा खड्कालाई काठमाडौँ तानेर आवश्यक छानबिन एवं अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो ।
अहिले खड्कामाथि लागेको आरोपको छानबिन एवं अनुसन्धान गर्न डिआइजी लक्ष्मणबहादुर सिंहको नेतृत्वमा तीन सदस्य छानबिन टोली गठन भएको छ । समितिमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य छन् । गठित समितिका सदस्य एसपी रेग्मी मोरङ आएर घटनाको अनुसन्धान सुरु गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।
प्रतिवेदनका आधारमा एसपी खड्कामाथि कारबाही हुने कि नहुने भन्ने टुङ्गो लाग्ने उनले बताए । सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चिनियाँ स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको आरोप छ । ‘यहाँ खुलेआम तस्करी भइरहेको छ । जसको असर राजस्व संकलनमा परिरहेको छ,’ भन्सारका अधिकारीहरू बताउँछन् ।
भारतबाट धान, गहुँ लगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपुर्जा, हार्डवेयरका सामानलगायत भन्सार छली गरेर नेपाल भित्रिने गरेको छ । सशस्त्र प्रहरीले एसपीहरूलाई पठाउँदा नै राजश्व चुहावट र तथा सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्ने प्रमुख दायित्व दिएर पठाउँछ । तर खड्काले भने मोरङमा आएपछि हदै गर्न थालेको थाहा पाएको सुरक्षा अधिकारीहरू नै बताउँछन् ।
प्रहरीले कुनै पनि सामान समाएपछि छोड्नका लागि अदालतमा वा सम्बन्धित निकायमा बुझाउनु पर्छ । तर, खड्काले चिनीसहितको गाडी सशस्त्रको क्याम्पभित्रै लगेर गएका थिए । ‘त्यसरी सुटुक्क लाने, सुटुक्क छोड्ने गरेपछि लेनदेन गरेको शङ्का नहुने कुरै भएन नि । राम्रो परिणाममा चिनी थियो,’ स्रोत भन्छ ।
मोरङमा भारतसँग सीमा जोडिएको ५२ किलोमिटर छ । ५२ किलोमिटरमा तीन दर्जन बढी सीमा नाका छ । तस्करीको लाइन सबैभन्दा बढी विराटनगरको दक्षिण क्षेत्र मटिअर्वा, दक्षिण गेट, दरैया नाका पर्दछ । यसैगरी पूर्वमा रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको पाइएको हो ।
बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजेको समयमा तस्करीमा लागेका भरियालाई निश्चित रकम दिए एउटा मोटरसाइकल र अटोमा सामान ओसार्ने गरिएको छ । यस्ता भरियाले मोरङको उत्तरी क्षेत्र उर्लाबारी, मधुमल्ला, पथरीदेखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यवस्तु निश्चित रकम लिएर पुर्याइदिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त