बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

विद्यार्थीको अराजकता : चिट खोसेको भन्दै उपप्राध्यापकमाथि कुटपिट

बिहीबार, २७ असार २०८१, २० : २३
बिहीबार, २७ असार २०८१

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका एमाले निकट अनेरास्ववियुमा आवद्ध विद्यार्थीले परीक्षार्थीको चिट खोसेको भन्दै उपप्राध्यापक अर्जुन तामाङमाथि कुटपिट गरेका छन् ।

तामाङलाई बिहीबार बिहान उनकै कार्यकक्षमै पुगेर स्ववियु सदस्यसमेत रहेकी रिङ्कु चौधरीसहितको समूहले आक्रमण गरेको हो । तामाङलाई कुटपिट गर्न चौधरी, अनेरास्ववियुका क्याम्पस इकाई अध्यक्ष माधव पासवानसहितको समूह तामाङको कार्यकक्षमा पुगेको थियो ।

‘मलाई गत वर्ष पक्राउ पर्दा पनि चिट फिर्ता गर्न दबाब दिएका थिए । फिर्ता गर्ने कुरा मेरो अधिकारको विषय होइन । त्यो क्याम्पस प्रमुखले गर्ने कुरा हो । अहिले रिजल्ट आएपछि विद्यार्थीलाई फेल गराएको भन्दै मलाई कुटपिट भयो । समूहमा १२–१३ जना थिए,’ उपप्राध्यापक तामाङले भने ।

रिङ्कु चौधरी र पासवानले हातपात गरेको, गालीलौज र छाडा शब्द बोलेको, आफ्नो कार्यकक्षको सिसा र टेबुल फोरेको उनले सुनाए ।

तामाङ शिक्षा शास्त्रको कार्यक्रम संयोजक पनि हुन् । उनले आफूलाई आक्रमण भएको र काम गर्ने वातावरण नभएको भन्दै शिक्षा शास्त्र कार्यक्रम संयोजकबाट राजीनामा दिएका छन् ।

‘त्यस्तो वातावरणमा काम गर्न सकिँदैन,’ उनले भने । उनले आफूमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारबाही गर्नुपर्ने बताए । ‘विश्वविद्यालयको ऐन, कानुन अनुसार कारबाही हुनुपर्छ,’ तामाङले भने ।

आफूमाथि आक्रमण गर्नेविरुद्ध शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने उनले बताए ।

गत २०८० साउन २८ गतेदेखि मानविकी सङ्काय बीए दोस्रो वर्षको परीक्षा चलेको थियो । उक्त परीक्षामा उपप्राध्यापक तामाङ आन्तरिक पर्यवेक्षक थिए । पर्यवेक्षण गर्ने क्रममा एक छात्राले चिट चोरेको देखेपछि उनले चिट खोसे । सोही आधारमा उपप्राध्यापक तामाङले तत्कालीन क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई चिट र निवेदन दिए ।

रिजल्टमा ती विद्यार्थी ‘एक्पेल्ड’ अङ्कित भएपछि फेरि विवाद खडा गरिएको हो । ‘क्याम्पस प्रमुखले लेखेर पठाएको आधारमा परीक्षा नियन्त्रण कार्यालयले निर्णय गर्ने हो । हामीले यहाँबाट गर्ने कुरा थिएन,’ तामाङले भने । विद्यार्थीको अराजकता भएको उनले सुनाए । परीक्षामा सुव्यवस्थित ढङ्गले चलाउनुपर्छ आफ्नो मान्यता भएको उनले सुनाए ।

विद्यार्थीको शृङ्खलाबद्ध अराजकता

विराटनगरमा गत जेठ २७ गते पनि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका कांग्रेस निकट नेविसंघका केही कार्यकर्ताले अन्धाधुन्द आक्रमण र गाडी तोडफोड गरेका थिए । विद्यार्थीको तोडफोड र आगजनीका कारण कोशी प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको स्कारपियो जलेर नष्ट भएको छ ।

उक्त गाडीमा सवार योजना आयोगका उपाध्यक्ष राजेन्द्र अधिकारीलाई पनि समान्य चोट लागेको थियो ।

यस्तै सरकारी नम्बर प्लेटकै बीएबी ८१८० साथै नेपाल विद्युत् प्राधिकरणको बा१ञ १८८७, बा१ञ २४१९, बागमती प्रदेश ०१–००१ ञ २७०१ र बागमती प्रदेश ०१–००१ ञ २७९० नम्बरको गाडीमा आगजनी भएको थियो । सर्वसाधरणको केही थान साइकलमा पनि विद्यार्थीले नै क्षति पुर्याइदिएका थिए ।

स्ववियुका सभापति समेत रहेका जसवन्त पौडेल र सचिव सनम ठकुरीले  उक्त तोडफोडको नेतृत्व गरेका थिए । गत जेठ २४ गते साढे ४ बजेतिर रङ्गेली नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र विद्यार्थीबिच विवाद भएको निहुँमा महेन्द्र मोरङका विद्यार्थीले अराजकता मच्चाएका थिए । जिल्ला अदालत मोरङले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको भए पनि अझै पक्राउ परेका छैनन् ।

यस्तै महेन्द्र मोरङकै विद्यार्थीले केही दिन अगाडि क्याम्पसका विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन सङ्काय निर्देशक डा. मोहन सुवेदीको कुर्सी रुखमा झुण्ड्याएका थिए । पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको आरोपमा सुवेदीको कुर्सी रुखमा झुण्ड्याइएको थियो ।

यस्तै केही समय अगाडि महेन्द्र मोरङकै विद्यार्थीको अगुवाइमा परीक्षा नियन्त्रण कार्यालयको एक गाडीमा आगो लगाइएको थियो । उल्लेखित घटनामा संलग्न कसैलाई पनि कारबाहीको दायरामा नल्याएको कारण विद्यार्थीहरूले पटकपटक अराजकता देखाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप