कटाक्षका गीत गाएर र राजीनामा मागेर सकियो असार १७ यताका संसद् बैठक
काठमाडौँ । असार १७ गते कांग्रेस–एमालेको गठबन्धन बनेसँगै प्रतिनिधि सभाको बैठक प्रधानमन्त्रीको राजीनामा माग्ने र कटाक्ष गरेर गीत गाउँदैमा रुमल्लिएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन टुटेसँगै असार १९ गते सरकारबाट एमालेका मन्त्रीहरू बाहिरिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि असार २४ गते बसेको प्रतिनिधि सभाको बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै अन्जु पन्तले गाएको गीत सुनाए– ‘तिमीले पराई सम्झेपछि पराई हुन के भयो र ? तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ?’
सोही दिनको बैठकमा कांग्रेस सांसद सुनील शर्माले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै रामकृष्ण ढकालले गाएको ‘ओराली लागेको हरिणको चाल भो, बाँचुञ्जेलसम्म पनि मरेकै हाल भो, छल गर्यो मायाले’ भन्ने गीत सुनाए ।
गठबन्धन भत्किएर सरकार ढल्ने अवस्थामा पुगेपछि प्रतिनिधि सभा बैठक प्रधानमन्त्रीको राजीनामा माग्ने, कटाक्ष गर्नेमा बढी केन्द्रित भएको छ । यस्तै विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले वर्षाका कारण उत्पन्न बाढी पहिरोको प्रकोपबाट भएको जनधनको क्षतिको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
संसदमा सरकारको उपस्थिति हरायो
गठबन्धन भत्किएसँगै प्रतिनिधि सभामा सरकारको उपस्थिति हराएको छ । देशमा बाढी–पहिरो लगायतका घटना बढिरहेको अवस्थामा सांसदहरूले विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण जनधनको क्षति भएको जानकारी गराउँदै राहत र उद्धारको बारेमा सरकारसँग जानकारी मागे पनि सरकारको उपस्थिति लगभग शून्यको अवस्थामा रह्यो ।
एमाले–कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने लगायतका मन्त्रीहरू संसदमा देखिएनन् । प्राकृतिक प्रकोपको अवस्था कस्तो छ र त्यसका लागि सरकारले गरिरहेको कामबारे संसदमा जानकारी गराउन उनीहरूले जाँगर देखाएनन् ।
असार २५ गते बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विश्वासको मत लिनका लागि संविधानले दिएको पूरै समय लिए पनि संसदप्रति उत्तरदायी हुन सरकारलाई आग्रह गरे । उनले जहिलेसम्म सरकारमा बस्ने हो, त्यतिबेलासम्म संसदमा पनि उपस्थिति जनाउन मन्त्रीहरूलाई आग्रह गरेका थिए ।
लेखकले भनेका थिए, ‘सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीज्यूहरूको उपस्थिति संसदमा भइरहेको छैन । हिजो पनि यहाँ साथीहरूले कुरा उठाउनुभयो । सरकार विश्वासको मत लिने तयारी गरिरहेको छ, संविधान अनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ, त्यसमा कुनै द्विविधा छैन । सरकारले ३० दिन नै लिओस् । २८ गते विश्वासको मत लिन थोरै समय हुन्छ, त्यसमा पनि थप्दा भयो । त्यसमा आपत्ति छैन तर सरकार छउन्जेल त संसदप्रति उत्तरदायी भइदिनुपर्यो, आइदिनुपर्यो । भनिदिनुपर्यो कति मानिसको मृत्यु भएको छ, कति घाइते भएका छन्, कतिको उपचार भइरहेको छ ? स्थिति के छ ?’
प्रधानमन्त्रीको राजीनामा माग्न एमालेको समय खर्च
सरकारबाट एकाएक बाहिरिने बित्तिकै प्रतिपक्षको बेञ्चमा पुगेको एमालेले संसदमा प्रधानमन्त्रीको राजीनामा माग्नका लागि समय खर्च गर्यो । एमालेका प्रमुख सचेतक महेश बर्तौलादेखि सांसदहरू रघुजी पन्त, योगेश भट्टराई, सूर्यबहादुर थापा लगायतले प्रधानमन्त्रीले तत्काल नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।
एमालेले सरकार छोडेलगत्तै प्रधानमन्त्रीको राजीनामा माग्न जोडबल गरेको देखियो । संविधानले विश्वासको मत लिन पाउने व्यवस्था गरे पनि प्रचण्डले बहुमत समर्थन गुमाइसकेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमाले सांसदहरूले तर्क गरेका थिए ।
उता माओवादी केन्द्रका सांसदहरू भने विपक्षी दलले लगाएको आरोपको खण्डन तथा प्रतिरक्षाका लागि संसदमा प्रस्तुत भए । माओवादीका सांसद लेखनाथ दाहाल, माधव सापकोटा लगायतका सांसदहरू विपक्षीहरूको अरोपको खण्डन र प्रतिरक्षामा उत्रिए ।
मन्त्री नआएपछि २ मिनेटमै सकियो प्रतिनिधि सभा बैठक
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एक जना पनि मन्त्री उपस्थित भएनन् । मन्त्रीको उपस्थिति नभएपछि बैठक स्थगित गरियो । दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ साढे ५ बजे बसेको थियो ।
बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा एक जना पनि मन्त्री नभएका कारण संसद बैठक अगाडि जान नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ अनुसार प्रतिनिधि सभा बैठक सञ्चालन गर्न मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था रहेको भन्दै शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरे । बैठक जम्मा २ मिनेट बसेर स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)’ पेस गर्ने कार्यसूची थियो । असार १७ गते यता बसेका प्रतिनिधि सभाका ६ वटा बैठकमा न कुनै विधेयकमाथि छलफल भयो, न त सरकारको उपस्थिति देखियो । यो बिचमा संसद्को कार्यसूची विभिन्न संवैधानिक आयोगका प्रतिवेदन पेस गर्नेमा केन्द्रित रहन पुग्यो ।
शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ ।