आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
रास्वपा विवाद

रवि–मुकुल बिछोडको सत्ता–स्वर्णिम कनेक्सन

अब रास्वपामा मुकुलको विकल्प को ?
बिहीबार, २७ असार २०८१, १९ : २४
बिहीबार, २७ असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवाद छताछुल्ल भएको छ । असार दोस्रो साता सतहमा आएको विवाद संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीको सबै जिम्मेवारीबाट पदमुक्त गराउने तहसम्म पुग्यो ।

पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै असार १९ मा बसेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्री तथा प्रवक्ताबाट ७ दिनका लागि मुकुललाई निलम्बित गर्‍यो । असार २५ मा रास्वपाको केन्द्रीय समिति बैठकले मुकुललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको हातबाट दही खाएर जेठ ६ मा ३८ जिल्लाको समीक्षा यात्रामा निस्किएका मुकुल सोही यात्राको प्रतिवेदनका कारण पार्टीबाट पदमुक्त भए ।

मुकुलको समीक्षा प्रतिवेदन र रास्वपाको कारबाही अहिले चर्चाको केन्द्रमा छ । पार्टी सभापति लामिछानेविरुद्ध संस्थापक महामन्त्री (हाल निष्कासित) मुकुल ढकालले विषवमन गरिसकेका छन् । अभियोग र प्रश्नमा जेलिएका रविले आफ्नै विश्वासपात्र मुकुलको पनि सामना गर्नु परेको छ ।

रवि–मुकुलको मिलन

२०७४ भदौमा एमबीबीएस पास गरेपछि मुकुलले अमेरिकामा बस्ने नेपाली डाक्टरहरूद्वारा सञ्चालित आस्क फाउण्डेशन नामक आइएनजीओमा काम गरेका थिए । उक्त फाउण्डेशनले दुर्गम क्षेत्रका जनतालाई टेलिमेडिसिनमार्फत सेवा दिँदै थियो । आस्क फाउण्डेशनकै कार्यक्रम अन्तर्गत मुकुलले कालिकोट, रास्कोटका बिरामीलाई फोनमार्फत उपचार गर्ने काम गरेका थिए । त्यसपछि आँखा शिविर कार्यक्रमका लागि उनी जुम्ला पुगे । सोही क्रममा जुम्लाबाट कालिकोट पुगेका मुकुललाई रास्कोटमा अस्पलाल बनाउने योजना जाग्यो । २०७२ सालको भूकम्पपछि नुवाकोटमा दुई वटा विद्यालय पुनर्निर्माण गरेका थिए ।

विद्यालय पुनर्निर्माणको हौसलाले रास्कोटमा अस्पताल बनाउने आत्मविश्वास जागेको उनी सुनाउँछन् । सुविधा सम्पन्न विराटनगरमा जन्मिएर मुलुकको राजधानी काठमाडौँमा पढे–लेखेका मुकुलका लागि रास्कोटमा अस्पताल बनाउन सहज थिएन । तर, रास्कोटमा अस्पताल बनाउने उद्घोष गरेर उनी फर्किए । रास्कोटमा अस्पताल बनाएर दुर्गमका बिरामीको उपचार गर्ने सेवाभावको सपना बोकेर काठमाडौँ फर्किएका मुकुलले आफैँ गम्भीर रोगको मुकाबिला गर्नुपर्‍यो । सन् २०१७ डिसेम्बर ३१ गते स्वास्थ्य परीक्षण गर्दा मुकुलको घाँटीमा क्यान्सर पहिचान भयो ।

क्यान्सरको पहिलो स्टेजमै पहिचान हुँदा २०१८ जनवरीमा मुकुलको अप्रेसन भयो । क्यान्सरसँगको सङ्घर्षका क्रममा अस्पतालको शय्यामा मुकुलले भागवत गीतादेखि कुरानसम्म पढ्न भ्याए ।

लामो उपचारपछि क्यान्सर जितेका मुकुलको दिमागमा रास्कोट अस्पतालको सपना कायम थियो । उनी फेरि रास्कोट हानिए । रास्कोटमा जग्गा प्राप्तिदेखि प्राविधिक कुरा मिलाएर उनी आफ्नो अभियानमा सेलिब्रेटीको खोजीमा थिए ।

‘एक्लैको पहलले अस्पताल बनाउन सकिँदैन । कोही चर्चित अनुहार चाहिन्छ भनेर हेर्दै थिएँ । त्यतिबेला रवि लामिछानेको पासपोर्ट काण्ड आएको थियो । मैले पोसपोर्ट काण्डमा ध्यान दिइनँ । रवि लामिछानेको पक्षमा जनताको अपार समर्थन देखेँ,’ मुकुलले भने ।

त्यसपछि रविको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा मुकुल पुगे । ‘त्यहाँ मैले तपाईंको नाम बेचेर अस्पताल बनाउँछु । मलाई मेरो नाम चाहिँदैन भनेँ । उहाँ आफ्नो नाममा अस्पताल बनाउन तयार हुनुभयो,’ उनले विगत सम्झिए । मुकुलका अनुसार कालिकोट जाने क्रममा रवि लामिछानेसँग मुलुकको राजनीतिक दुरावस्थाबारे बारम्बार कुरा हुन्थ्यो ।

‘देशको अवस्था दर्दनाक छ । अस्पताल बनाइसकेपछि देश बनाउने दिशातर्फ अगाडि बढ्नुपर्छ भनेर कुरा हुन्थ्यो । उहाँले मलाई तयारी गर्दै गर भन्नुहुन्थ्यो,’ उनले भने । यो बिचमा पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा रवि चितवनको प्रहरी हिरासतमा पुगे । रविको पक्षमा चितवनमा जनलहर उर्लियो । २०७६ भदौमा ५ लाख धरौटी बुझाए रवि रिहा भए । त्यतिबेलै रविलाई आफ्नो नामको फाउण्डेशनलाई संगठनको प्रारुप दिएर २०७९ मा पार्टी खोल्ने गरी अगाडि बढ्न मुकुलले सुझाएका थिए । रविले त्यसको खाका कोर्ने जिम्मा मुकुललाई दिए, तत्काल राजनीतिमा हामफाल्ने आँट गरेनन् ।

रवि सञ्चारकर्ममै फर्किए । तर, मुकुलका अनुसार २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा लड्ने रविको तयारी थियो । अन्तिममा रविले चुनाव लड्ने हिम्मत गरेनन् । २०७९ को निर्वाचनबाट काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन शाहको उदय भयो ।

बालेनको उदयमा रवि र आफूले सक्दो सहयोग गरेको मुकुल बताउँछन् । बालेन शाह काठमाडौँको मेयरमा निर्वाचित हुनु अगावै मुकुलले राजनीतिको नविन कार्यदिशा भन्ने राजनीतिक दस्ताबेज तयार पारेका थिए । मुकुलले त्यो दस्ताबेज रविलाई सुनाए । त्यसपछि पार्टी खोलेर जाने निष्कर्षमा मुकुल–रवि पुगे ।

२०७९ असारमा विराटनगरमा रहेका मुकुललाई रविले काठमाडौँ बोलाए । पार्टी खोल्ने तयारी अगाडि बढ्यो । २०७९ को आम चुनावअघि स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएकाहरू मिलेर पार्टी खोल्ने चर्चा थियो । पार्टी बनाउने उद्देश्यमा स्वतन्त्र पक्षधर व्यक्तिहरू काठमाडौँको इन्द्रेणी फुडल्याडनमा भेला भएका थिए । ‘त्यो भेलामा सहभागी एक जनाले नयाँ पार्टी खोलौँ । पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखौँ भन्नुभयो । मैले त्यो नाम त्यहाँबाट टिपेँ,’ मुकुल सम्झिन्छन् ।

पार्टीको चुनाव चिह्नमा ढुङ्गा, ब्लेड, चिमदेखि अनेक आकृति प्रस्ताव गरियो । तर एकाएक मुकुलको दिमागमा ‘घण्टी’ बज्यो । मुकुलको दिमागमा बजेको त्यही ‘घण्टी’ नै रास्वपाको चुनाव चिह्न बन्यो ।

पार्टी खोल्ने निर्णय गर्दा रवि लामिछाने, डीपी अर्याल, मुकुल ढकाल, विपिन आचार्य, खुस्बुसरकार श्रेष्ठ र निकिता पौडेल (रविकी पत्नी) गरी ६ जनामात्र थिए । डीपी अर्याललाई आर्थिक व्यवस्थापन र केन्द्रीय सदस्य खोज्ने जिम्मेवारी थियो । खुस्बुसरकार श्रेष्ठलाई ब्राण्डेडको जिम्मेवारी दिइएको थियो ।

पार्टीको चुनाव चिह्नमा निलो कलर र घण्टीको आकार श्रेष्ठले बनाए । विपिन आचार्यलाई अनलाइन प्लेटफर्म हेर्ने जिम्मेवारी दिइयो । मुकुललाई पार्टीको विधान र दस्ताबेज लेख्ने जिम्मेवारी थियो । डीपी अर्यालका कर्मचारी तथा व्यापारी साझेदार कविन्द्र बुर्लाकोटीलाई मुकुलले आफ्नो काममा सहभागी गराएका थिए । मुकुलले २१ सदस्यीय केन्द्रीय समितिका लागि सबै क्लस्टरको प्रतिनिधित्व हुनेगरी खाका दिएका थिए ।

डीपी अर्याल, निकिता पौडेल, कविन्द्र बुर्लाकोटीको सिफारिसमा अधिकांश केन्द्रीय सदस्य बन्दा डा. प्रभात अधिकारी मुकुलको सम्पर्कबाट रास्वपामा जोडिएका थिए । पार्टी स्थापनापछि संगठन विस्तारको खाका मुकुलकै नेतृत्वमा तयार पारिएको थियो । आफ्नो रणनीतिमा रास्वपाले २०७९ को आमनिर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकतर्फ १३ सांसद जितेको मुकुलको दाबी छ ।

रास्कोटको अस्पताल बन्यो । नयाँ राजनीतिक दल नै जन्मियो । मेघा अस्पतालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छाडेर राजनीतिमा होमिनु आफैँमा एउटा जोखिमपूर्ण कदम थियो । ३१ वर्षीय मुकुलको विद्रोह र परिवर्तनको हुटहुटीले धेरै उचारचढावसँग साक्षात्कार गरिसकेको छ । मुकुलको योजनामा बनेको रास्वपाले स्थापनाको ६ महिनामै आमनिर्वाचनबाट राष्ट्रिय राजनीतिमा धक्का दियो । तर अहिले संस्थापक महामन्त्री मुकुल रास्वपाबाट धकेलिएर भिरको डिलमा छन् ।

रवि–मुकुलको बिछोडमा सत्ता–स्वर्णिम कनेक्सन

मुलुकको नजरमा हिजोका आशा र भरोसाका पात्र रवि आज अक्षम र नालायक देखिन पुगेका छन् । गृहमन्त्रीमा रविलाई अक्षम सावित भएको मुकुलको निष्कर्ष छ । गत फागुन २२ गते सरकारमा रास्वपा सहभागी भएपछि रवि–मुकुलको सम्बन्धनमा दरार आएको देखिन्छ ।

बुधबारको पत्रकार सम्मेलनमा मुकुलबाट त्यसको संकेत मिलेको थियो । रास्वपाका मन्त्रीहरूको समीक्षा गर्नुपर्ने विषय उठाएपछि सभापति रवि रिसाएको मुकुलको आशय थियो । ‘मूल विवाद भनेको सरकारले काम गर्न सकेन, अक्षम हुनुभयो । यो अक्षमता किन हो, जनताका अगाडि आत्मालोचना गरेर अगाडि बढौँ, हामीले चाहँदाचाहँदै पनि केही कुरा भएनन्,’ उनले भने, ‘कर्मचारीतन्त्रले दिएनदेखि धेरै कुरा छ, सबै कुरा खुला भनौँ, लाइभ गरौँ । अब पारदर्शी बनौँ भन्दा उहाँले गृह मन्त्रालयले जति काम त कसैले गरेको छैन, यो देशको सबैभन्दा सफल गृहमन्त्रीका रुपमा आफू उपस्थित भएको छु भन्ने दाबी गर्नुभयो, त्यो दाबी मलाई चित्त बुझेन ।’

mukul

आफूले पहिलो पटक रविलाई प्रश्न गर्दा कारबाही भएको उनको गुनासो छ । पार्टी सुधारको आवश्यकता रहेको औँल्याएपछि रविले निकटहरू आफूविरुद्ध परिचालित गरेको मुकुलको आरोप छ । रविको निर्देशनमा सहकोषाध्यक्ष दीपक बोहरा, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य ज्वाला संग्रौला आफूविरुद्ध उत्रिएको मुकुलको बुझाइ छ । ‘मुकुल ढकाल रवि लामिछानेको विरुद्धमा गयो भन्ने भाष्य बनाइयो । सभापतिलाई भेट्न आग्रह गरेँ, मान्नुभएन,’ मुकुलले भने ।

२०७९ चैतमा कांग्रेस छाडेर स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरेपछि रविका लागि मुकुलको महत्त्व कम हुँदै गयो । नागरिकता र राहदानी प्रकरणले घेरिएका रविलाई चर्चित अर्थशास्त्री स्वर्णिमको प्रवेशले पार्टीको पक्षमा जनमत जुटाउन बल पनि पुग्यो । २०८० को उपनिर्वाचनमा चितवन–२ बाट रवि दोहोरिँदा तनहुँमा कांग्रेसको गढ भत्काएर स्वर्णिमले रास्वपामा ऊर्जा र उत्साह थपे ।

देश तथा विदेशमा पहिचान बनाएका वाग्लेसामु रविलाई मुकुल फिक्का लाग्नु स्वाभाविक थियो । बौद्धिक नेताहरू भरिँदै गएपछि पार्टीको विचार निर्माणको जिम्मा सम्हालेका मुकुलको विचार र दृष्टिकोण रास्वपामा कमसल देखिन थाल्यो ।

सभापति लामिछानेले अधिकांश कुरामा वाग्लेसँग सहकार्य गर्न थालेपछि मुकुल रुष्ट थिए । आफूलाई भन्दा स्वर्णिमलाई बढी सोधपुछ गर्न थालेपछि मुकुल र रविको सम्बन्ध चिसिएको रास्वपामा चर्चा छ । रास्वपाका एक केन्द्रीय सदस्यले भने, ‘स्वर्णिम दाइ आउनुभन्दा अगाडि सभापतिले ओपेनियन सुन्ने मुकुलको मात्रै हो । मुकुल विचारमा हाबी हो । मुकुलको विचारमा पार्टी चलेको हो । पछिल्लो समय स्वर्णिम दाइसँग सभापतिको परामर्श व्यापक हुन थालेको साँचो हो ।’

स्वर्णिमले गुट बनाएर पार्टी फुटाउन थाल्यो भन्ने चर्चा निराधार भएको ती सदस्यको भनाइ छ । ‘सभापति र स्वर्णिम दाइबिच गोप्य परामर्श हुन्छ । मुकुलको भ्यालु घट्यो । अनि पार्टीमा असहज महसुस गरेको देखिन्थ्यो,’ उनी भन्छन् ।

२०८० वैशाखमा मुकुलले पार्टीमा नयाँ युगको नयाँ प्रस्ताव नामक राजनीतिक प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावको पार्टीभित्रै धेरै आलोचना भयो । यो राजनीतिक प्रस्तावजस्तो भएन । यसलाई पुनर्लेखन गर्नुपर्छ भनेर ९ सदस्यीय नीति विचार समिति बन्यो । आफ्नो प्रस्ताव पार्टीबाट अस्वीकृत भएर पुनर्लेखन गर्नुभन्ने ठाउँमा पुग्नु मुकुललाई एउटा झट्का थियो ।

गत मंसिरमा महोत्तरीको जलेश्वर बैठक पनि मुकुलका लागि सुखद् रहेन । पार्टीको प्रस्तावना तय गर्दा स्वर्णिमले वैचारिक रूपमा रास्वपालाई आफ्नो लाइनमा उभ्याउन रविको साथ पाए । जलेश्वर बैठकले वाग्लेलाई उपसभापति बनायो भने आफू निकटलाई सहमहामन्त्री र सहप्रवक्ता बनाएर नेतृत्वमा ल्याए । उक्त निर्णय चित्त नबुझेर रविको विरोध गर्नु प्रत्युत्पादक हुने भयले मुकुलले मौन समर्थन जनाए । त्यो कुरा अहिले मुकुलले सार्वजनिक रूपमै स्वीकारेका छन् ।

जलेश्वर बैठकबाट रास्वपा वर्तमान राज्य व्यवस्थाको विकल्पभन्दा पनि सुदृढीकरणको पक्षमा उभियो । समीक्षा यात्रापछि मुकुल पार्टीको प्रस्तावनाको विपक्षमा उभिनुले पनि त्यसको पुष्टि गर्छ ।

मुकुलको विकल्प

रास्वपामा महामन्त्री मुकुलको स्थानमा जान नेताहरूबिच हानथाप सुरु भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र केन्द्रीय सदस्य शिशिर खनाल महामन्त्रीको दौडमा छन् । सभापति लामिछाने सहमहामन्त्री आचार्यलाई महामन्त्रीको जिम्मेवारी सुम्पिन चाहन्छन् । रविका मिडिया क्षेत्रदेखिकै सहकर्मी उनी रास्वपा निर्माणमा सुरुदेखि संलग्न छन् । आचार्य सहकारी ठगी प्रकरणमा प्रश्नको घेरामा छन् ।

साथै ग्यालेक्सी फोर के टेलिभिजनमा हिमालयन बैंकले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरेको र पेस्कीबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उपसभापति डीपी अर्याल सहमहामन्त्री बुर्लाकोटीलाई महामन्त्री बनाउन चाहन्छन् । बुर्लाकोटी र अर्यालको दोस्ती व्यापारिक तहसम्म छ ।

रास्वपा संगठन विभाग प्रमुख बुर्लाकोटीको नाम पनि सहकारी ठगीमा मुछिएको थियो । इलाम–२ को उपनिर्वाचनमा चुनावी कमाण्डर बनेका बुर्लाकोटीको कार्यक्षमतामाथि रास्वपामा प्रश्न छ । बुर्लाकोटीले कमाण्ड सम्हालेको इलाम–२ मा रास्वपामा मिलन लिम्बुले जमानतसमेत जोगाउन असफल भए । यता उपसभापति स्वर्णिम वाग्ले केन्द्रीय सदस्य खनालको पक्षमा उभिएको चर्चा छ । काठमाडौँ–६ बाट निर्वाचित खनाल पूर्वशिक्षामन्त्री समेत हुन् । गत आम निर्वाचनमा रास्वपाको चुनाव चिह्न लिएर लडेका खनालको योगदान पार्टी निर्माण खासै छै्रन । तर, रास्वपामा वाग्लेको इन्ट्री गराउन खनालले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

आफ्नो पुर्ख्यौली जिल्ला तनहुँमा वाग्लेलाई २०८० को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार खडा गराउन खनालको मुख्य भूमिका थियो । खनालको स्थलगत अध्ययनपछि तनहुँ–१ बाट निर्वाचन जित्ने आधार देखेपछि वाग्ले कांग्रेस छाडेर रास्वपामा हामफालेका थिए । पछिल्लो समय रास्वपामा वाग्लेको विचार र एजेण्डा हाबी हुँदै गएको छ । रास्वपामा वाग्लेले सभापति लामिछानेलाई विश्वासमा लिएर आफू अनुकूलको निर्णय गराउने गरेको पाइन्छ । बुर्लाकोटी, आचार्य र खनालका साथै रास्वपामा बाहिरबाट पनि महामन्त्रीको खोजी हुन सक्ने चर्चा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप