बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

‘फिल्म क्षेत्र मेरालागि एउटा विद्यालय’

बिहीबार, २७ असार २०८१, १८ : ३१
बिहीबार, २७ असार २०८१

काठमाडौँ । अभिनेत्री मिरुना मगरको व्यस्तता बढेको छ । उनी अभिनित ‘घरज्वाइँ’ र ‘उनको स्वीटर’ गरेर दुई फिल्ममध्ये ‘घरज्वाइँ’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । त्यसैले उनी यो फिल्मको प्रचारप्रसारमा पनि जुटिरहेकी छन् । उनको अर्को चलचित्र ‘उनको स्वीटर’ छायाङ्कनका लागि फ्लोरमा छ । त्यसैले अहिले उनलाई दुवै फिल्मका लागि समय मिलाउन सारै सकस परिरहेको छ ।

आफू एक हिसाबले भाग्यमानी भएको उनले बताइन् । दुवै फिल्म युनिट एकदमै बुझ्ने खालको भएकाले आफूलाई धेरै सहज भएको उनको भनाइ छ ।

मिरुनाका अनुसार ‘घरज्वाइँ’ टिमले केही समय ‘उनको स्वीटर’ छायाङ्कनका लागि दिएरमात्र प्रचारमा बोलायो । अहिले ‘उनको स्वीटर’ टिमले पनि छायाङ्कन रोकेर प्रचारमा पठाएको उनले बताइन् ।

मिरुनाले अहिले ‘घरज्वाइँ’को प्रचारप्रसारमा समय दिइरहेकी छन् । सोही क्रममा रातोपाटीसँग ठोक्किएकी उनले ‘घरज्वाइँ’ मगर समुदायको संस्कृतिमाथि बनेको फिल्म भएको बताइन् । यो फिल्ममा एउटा सुन्दर प्रेमकथा रहेको उनको भनाइ छ ।

‘यो फिल्ममा कमेडी, सामाजिक र अन्य बिषयबस्तु पनि छन्,’ मिरुनाले भनिन् । फिल्म दर्शकको रुचिलाई ध्यानमा राखेर निर्माण भएको उनको भनाइ छ ।

मिरुनाको यसअघि ‘मन्सरा’ प्रदर्शनमा आएको थियो । जसमा उनले एकल महिलाको भूमिका निर्वाह गरेकी थिइन् । फिल्मले व्यावसायिक रूपमा सफलता भने पाएन । तर ‘घरज्वाइँ’बाट उनले अभिनयमा चर्चा र व्यावसायिक सफलता दुवै मिल्ने आश गरेकी छन् ।

‘फिल्ममा मेरो भलिबल खेलाडी, बुबाले हुर्काएको एक्लो छोरीको भूमिका छ’, उनले भनिन्, ‘आफ्नो निर्णयमा अडिग रहने र चाहेको कुरा पाउनैपर्ने जिद्दी स्वभावकी पनि छु ।’

449131884_10233429092214803_642516475406877664_n

फिल्ममा उनको जोडी बनेका छन् अभिनेता दयाहाङ राई । फिल्ममा दयाहाङ आफ्नै लागि घरज्वाइँ बसेको मिरुना बताउँछिन् । मिरुनाले अहिलेसम्म करिब दर्जन हाराहारी फिल्ममा अभिनय गरिसकेकी छन् ।

दयाहाङसँग ‘घरज्वाइँ’ उनको पाँचौँ फिल्म हो । ४ फिल्म रिलिज भइसकेका छन् । तीमध्ये तीन फिल्म ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ हिट छन् । ‘मन्सरा’ले भने सोचेजस्तो व्यवसाय गर्न सकेन ।

यसअघिका फिल्ममा दयाहाङकी श्रीमती, प्रेमिकाका रूपमा मिरुनालाई दर्शकले पटकपटक देखिसकेका छन् । त्यसैले ‘घरज्वाइँ’मा दयाहाङसँग उनको केमेस्ट्री फरक खोज्नु स्वाभाविक पनि हो । तर यो फिल्ममा पनि त्यस्तो छैन ।

‘फिल्मको पात्र उस्तैउस्तै भए पनि कथा भिन्न छ । किनभने मगर समुदायको कथा यसअगाडि यसरी आएको थिएन’, मिरुनाले भनिन्, ‘हामी दुई पात्रको भोगाइसमेत फरक छन् पहिलाको काम भन्दा ।’

धेरै कथा बाँकी

331805528_696775928910748_8699102056722781898_n

पछिल्लो समय नेपाली फिल्ममा अर्गानिक कथा धेरै भित्रिएका छन् । यसलाई सकारात्मक मान्न सकिए पनि अर्गानिक कथाको नाममा कतिपय फिल्म कुनै खास समुदायमा मात्र सीमित हुन पुगेको छ । त्यसले फिल्मको घेरा साँघुरिँदै जान थालेकोमा चिन्तासमेत व्यक्त गर्न थालिएको छ । मिरुना भने फिल्मको घेरा झन् ठुलो हुँदै गएको बताउँछिन् ।

‘हामी नेपाली धेरै कलासंस्कृतिले धनी छौँ । अहिले फिल्ममा आएको कल्चर भनेको थोरै हो । अझै धेरै आउनुपर्छ भन्छु म’, उनले भनिन्, ‘हाम्रो समाज मिश्रित छ । त्यसैले सबैको कथा बाहिर आउनुपर्छ  र त्यो जरुरी पनि छ ।’

कतिपय अवस्थामा हेर्ने दृष्टिले पनि फरक पार्ने धारणा राख्ने उनी अहिले पनि धेरै समुदायको कथा बाहिर आउन नसकेको बताउँछिन् ।

‘म पहिलेदेखि नै नेपालमा सबै समाज हेर्ने र बुझ्ने प्रयास गरिरहेको थिएँ । भौतिक रूपमा टाढा हुँदा त्यो सार्थक भइरहेको थिएन’, उनले अनुभव पोखिन्, ‘फिल्म अभिनय गर्न थालेदेखि तराई, पहाड, हिमाल सबै भूगोलमा पुग्न पाएँ । त्यसैले फिल्म क्षेत्र मेरालागि एउटा विद्यालय बन्यो ।’

एउटा फिल्म छायाङ्कनका क्रममा ३५ देखि ४० दिनसम्म एक ठाउँमा बिताउने गरेको कारण पनि त्यहाँ मानिससँग घुलमिल हुन, रहनसहन बुझ्न पाइने उनको भनाइ छ ।

‘भिज्दै जाँदा त्यो ठाउँसम्म साइनो बस्दो रहेछ । धेरै महिलाको कथा फिल्मको पात्रमार्फत मैले महसुस गर्न पाएँ’, उनले भनिन्, ‘म युकेमा मात्र बसेको भए मेरो जीवन एकदमै सीमित हुन्थ्यो । यहाँ काम गर्दा देश बुझ्न पाएँ ।’

पात्र हेर्छु

450780896_18446013418035346_4063321373718583251_n

युकेमा हुर्केबढेकी मिरुना आधुनिक केटी हुन् । तर सुरुका केही छोडेर भन्ने हो भने उनका अधिकांश फिल्ममा गाउँले भूमिका निर्वाह गरेकी छन् । कतिपय दर्शकले समेत उनलाई गाउँले रोल धेरै भयो भन्ने गरेका छन् । तर उनी गाउँ अनुसार भिन्न कथा हुने र नेपाल गाउँ नै गाउँले भरिएकाले गाउँले चरित्र मनपर्ने बताउँछिन् ।

‘सहरमा बसेर हेर्दा सबै गाउँ उस्तै लाग्दोरहेछ । तर सबैको परिवेश र भोगाइ फरक छ’, उनले भनिन्, ‘ती सबै कुरो बुझ्न गाउँ नै छिर्नुपर्छ ।’

उनले फिल्मको भूमिका हेर्दा कहिल्यै पनि गाउँले र सहरिया भनेर हेर्ने गरेकी छैनन् रे । ‘काठमाडाँैमा गाउँसँग नजोडिएको को होला’, उनले फिल्म छनौट प्रस्ट पारिन्, ‘म पात्रको साइकोलोजी बुझ्न खोज्छु । उसको भोगाइ के–के छन् । अबको एक्सन के र किन भनेर बुझ्छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप