बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

प्लास्टिकको भाँडा स्वास्थ्यका लागि कति हानिकारक ? छैन नियमन

बिहीबार, २७ असार २०८१, १७ : ३२
बिहीबार, २७ असार २०८१

काठमाडौँ । अचेल घर–घरमा प्लास्टिकको भाँडा प्रयोग भइरहेको पाइन्छ । तर स्वास्थ्यका लागि यस्ता भाँडा हानिकारक हुने विज्ञ बताउँछन् । प्लास्टिकको भाँडामा हुने रसायन खाद्य वस्तुमा मिश्रित भएर खानाका माध्यमबाट पेटभित्र पुग्दा स्वास्थ्यलाई हानि पुर्याउने उनीहरूको भनाइ छ ।

प्लास्टिक विभिन्न वर्गको हुन्छ । कुनै–कुनै प्लास्टिकको भाँडा खाना खाने सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ भने कुनै स्वास्थ्यको दृष्टिकोणले सुरक्षित मानिँदैन । त्यसैले त्यस्ता भाँडामा प्रयोग हुने प्लास्टिक स्वास्थ्यका लागि खतरा हुन्छ कि हुँदैन भनेर जाँच गर्नुपर्ने हुन्छ । तर नेपालमा हालसम्म कस्ता प्लास्टिकको भाँडा प्रयोग भइरहेका छन् भनेर जाँच गर्ने कुनै निकाय नै छैन ।

खाद्य स्वच्छता विशेषज्ञ निर्भिक श्रेष्ठले प्लास्टिकमा ‘कार्सिनोजेन्स’ रसायन पाइने बताए । यो रसायन मानव स्वास्थ्यमा असर पार्ने तत्वहरूमध्ये एक मानिने उनको भनाइ छ । यसले क्यान्सरसमेत गराउने उनले बताए ।

‘प्लास्टिकमा पाइने तत्त्वलाई कार्सिनोजेन्स भनिन्छ, यसलाई क्यान्सरको करक तत्त्व भनिन्छ,’ उनले भने, ‘यसले क्यान्सरको सेलहरूलाई एक्सरसाइज वा एक्टिभेट गर्ने र लामो समयसम्म प्लास्टिकको भाँडा प्रयोग गरेमा क्यान्सर हुने सम्भावना हुन्छ ।’

खाद्य स्वच्छता विशेषज्ञ श्रेष्ठका अनुसार प्लास्टिक वा प्लास्टिकजन्य भाँडाहरूलाई सात भागमा विभाजन गरिएको छ । ‘हामीले बजारबाट किन्ने पानीको बोतलको पछाडिपट्टी ट्रेङ्गल सेप दिएको हुन्छ, त्यो सङ्केतभित्र नम्बरहरू लेखिएको हुन्छ,’ उनले भने, ‘प्लास्टिकहरूको परिकार पेट बोतल वा सामान्य प्लास्टिक बोतल हुन्छ नि, पोलिथाइलिन भन्छौँ नि, त्यो फुड ग्रेडको हुँदैन ।’

विशेषज्ञ श्रेष्ठका अनुसार पानी पिउने बोतललाई ‘पेट बोतल’ भनिन्छ । एक पटक प्रयोग गर्दा समस्या हुँदैन तर लामो समयसम्म वा पटक–पटक प्रयोग गर्दा स्वास्थ्यमा समस्या हुन्छ ।

‘प्लास्टिकको बोतलमै भएको पानी पिउँदा कुनै पनि समस्या छैन, यो फुड ग्रेडकै हुन्छ,’ उनले भने, ‘तर यो पुनर्प्रयोग गर्नुहुँदैन किनकि फेरि पानी हालेर खाइरहँदा पछिपछि यसका रसायन पानीमा मिसिन्छ र स्वास्थ्यमा असर गर्ने सम्भावना रहन्छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले भने, ‘प्लास्टिकमा बिसफिनल ए, थाइलाइडस, अक्सिडिन र पोलिकार्बन लगायतका रसायन पाइन्छ । यी रसायन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।’

धितालका अनुसार प्लास्टिक भाँडाहरू तातो वा चिसो खाद्य वस्तु राखेमा प्लास्टिकमा रहेका रसायन खानामा मिश्रित हुन्छ । त्यस्ता खाद्य वस्तु खाएमा शरीरमा हानि गर्छ । शरीरमा एलर्जी हुनेदेखि जन्मने बच्चामा शारीरिक तथा वंशाणुगत परिवर्तनसम्म गर्न सक्ने धितालको तर्क छ ।

प्लास्टिकका भाँडाहरू जाँच गर्ने ल्याब छैन

नेपालमा प्रयोग भइरहेका प्लास्टिजन्य भाँडाहरूको जाँच गर्ने ल्याब छैन । घरायसी प्रयोग हुने विभिन्न प्लास्टिजन्य पाइप, ट्याङ्की लगायतको जाँच गर्ने ल्याब रहे पनि खाद्यान्नमा प्रयोग हुने भाँडाहरूको जाँच गर्ने ल्याब नरहेको नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी (भट्ट) ले बताइन् ।

‘सानो म्यानुफेक्चरले बनाएको प्लास्टिकहरू फुड ग्रेडको हुँदैन,’ विशेषज्ञ श्रेष्ठले भने, ‘मैले फुड सेफ्टीमै काम गर्ने भएकाले अडिटहरूमा जाँदा फुड ग्रेडको काजगत लिएर आऊभन्दा प्रायःले दिन सक्दैनन् । यसको मतलब उनीहरूले युज गर्ने प्लास्टिक कच्चा पदार्थ हुन्छ, त्यो फुड ग्रेडको होइन भनेर बुझिन्छ ।’

प्लास्टिकलाई नजरअन्दाज

नेपालमा प्लास्टिकजन्य पदार्थलाई नजरअन्दाज गरिएको छ । घरदेखि लिएर ठुला रेस्टुरेन्टमा प्रयोग हुने प्लास्टिजन्य भाँडा ‘फुड ग्रेड’ हुन् वा होइनन् भनेर जाँच गर्न ल्याबको अभावमा समस्या रहेको श्रेष्ठको भनाइ छ । ‘ल्याब नहुनु एकातर्फ समस्या छँदैछ,’ उनले भने, ‘तर फुडहरूमा प्रयोग भइरहेको लेबल इङ्क होस्, प्रिन्टेड ¥यापर होस, कागजभित्रै राखिन्छ, यो पनि सुरक्षित छैन ।’

श्रेष्ठका अनुसार ‘इङ्क’ खाद्य पदार्थमा परेमा स्वास्थ्यलाई हानि गर्छ । खाद्यान्न प्याकेजिङ गर्ने प्लास्टिकको बाहिरबाट इङ्क भित्र जान्छ कि जाँदैन भनेर जाँच गर्नुपर्ने उनको तर्क छ ।

नेपालमा प्रयोग भइरहेका प्लास्टिकजन्य भाँडा, प्याकेजिङका प्लास्टिक लगायतलाई खाद्य सुरक्षाको रूपमा सुरक्षित भए नभएको परीक्षण र नियमनको आवश्यक रहेको श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप