बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सप्लाई चेनलाई कसरी भुक्तानी दिने भनेर चिन्तामा निर्माण व्यवसायी

बिहीबार, २७ असार २०८१, १४ : ११
बिहीबार, २७ असार २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष सम्पन्न हुन लाग्दा समेत निर्माण व्यवसायीहरुले भुक्तानी पाउन सकेका छैनन् । उनीहरु रकम भुक्तानीका लागि राज्यका निकायहरु धाउँदा धाउँदै यस आर्थिक वर्ष सम्पन्न हुन लागेको छ ।

 निर्माण व्यवसायीहरुको अर्बौँ रकम भुक्तानी गर्न सरकार आलटाल गरिरहेको छ । आर्थिक वर्ष सकिन लाग्दा समेत सरकार निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने पक्षमा देखिँदैन । सरकारले असारको २६ दिनमा १ खर्ब ७६ अर्ब २२ करोड रुपैयाँ पुँजीगत खर्च गर्दा समेत निर्माण व्यवसायीहरुको भुक्तानीलाई प्राथमिकता दिएन । 

सरकार पुँजीगत खर्च गर्न थप कमजोर देखिएको छ । सरकारले कुल १ खर्ब ७२ अर्ब ६२ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ५७.१५ प्रतिशत हो । सोही अवधिमा सरकारको चालु खर्च वार्षिक लक्ष्यको करिव ८२ प्रतिशत अथवा ९ खर्ब ३४ अर्ब ६३ करोड रुपैयाँ छ । गत वर्ष यसै अवधिमा एक खर्ब ८० अर्ब रूपैयाँ पुँजीगत खर्च भएको थियो । आगामी आर्थिक वर्षको बजेट पेस गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले यो वर्ष २ खर्ब ५३ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य राखेका थिए । तर यो वर्ष दुई खर्ब बजेट खर्च पु¥याउन पनि मुस्किल देखिएको छ ।

अर्थतन्त्रमा करिव तीन खर्ब रुपैयाँको योगदान तथा १५ लाख मानिसलाई रोजगारीको अवसर दिएको निर्माण क्षेत्र यतिबेला संकटमा छ । निर्माण क्षेत्र संकटमा आउनुको मुख्य कारण निर्माण उद्योगप्रति राज्य संवेदनशिल नहुनु रहेको जानकारहरु बताउँछन् । पछिल्लो सयम अन्य क्षेत्रहरुमध्ये सबैभन्दा कमजोर अवस्थामा निर्माण क्षेत्र पुगेको छ ।

अर्थतन्त्रमा झन्डै ६ प्रतिशत योगदान दिने निर्माण क्षेत्र नकारात्मक रुपमा गिरावट हुँदा मुलुकको समग्र अर्थतन्त्रको साइकलमा शिथिलता देखिएको छ । सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा निर्माण क्षेत्रमा मात्रै नभएर निर्माणसँग जोडिएका सिमेन्ट, डन्डी, रोडा ढुङ्गा लगायतका क्षेत्रमा ठूलो असर परेको कारण कयौँको रोजगारी समेत गुमेको अवस्था छ । यस्तो अवस्था हुँदा समेत राज्य मौन बस्नु गैरजिम्मेवारी पन देखिएको विज्ञहरुको भनाई छ । ठेक्का लगाएर निर्माण सम्पन्न भएका आयोजनाहरुको समेत राज्यले भुक्तानी दिन बाँकी रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । तर सरकारले आर्थिक वर्ष सम्पन्न हुन लागे पनि भुक्तानी दिएको छैन ।

निर्माण व्यवसायीहरुले बारम्बार राज्यसँग आफूहरुले पाउनुपर्ने रकम भुक्तानीका लागि अर्थ मन्त्रालय धाएपनि बजेटमा नै स्रोत सुनिश्चितता भएका र विधिसम्मत ठेक्का लागेको आयोजना भन्दा बाहेक अन्य आयोजनाहरुको भुक्तानी गर्न नसकिने बताउँदै आएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निर्माण व्यवसायीले ६० अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने बताएको छ ।

विकासे मन्त्रालयहरुले ३५ अर्बको रकमान्तर गर्न अर्थ मन्त्रालयमा प्रश्तावमा १४ अर्बको रकमान्तर भएर भुक्तानी भएको र बाँकी भुक्तानी भएको छैन । विगतका वर्षहरुमा आर्थिक वर्षको अन्त्यमा सहजै रुपमा भुक्तानी पाउने गरेपनि चालु आर्थिक वर्षमा एक शिर्षकमा रहेको रकम अर्को शिर्षकमा रकमान्तर गर्दै पुँजीगत खर्चको भुक्तानी दिने पक्षमा अर्थ मन्त्रालयका अधिकारीहरु देखिएका छैनन् । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी आर्थिक वर्षको अन्त्यसम्म दिने आशा देखाएपनि आजसम्म भुक्तानी नभएको बताए । उनले सरकार परिवर्तन हुने भएपछि राजनीतिक नेतृत्वले निर्देशन नदिएको र कर्मचारीले भुक्तानीको कामै नगरेको गुनासो गरे । 

उनले निर्माण व्यवसायीहरु सप्लाई चेनलाई कसरी भुक्तानी दिने भनेर चिन्तामा रहेको बताए । अध्यक्ष सिंहले सरकार माथिको  विश्वसनियतामा ठूलो संकट निजी क्षेत्रले भोग्नुपरेको बताए । 

उनले भने, ‘अघिल्लो वर्षको तुलनामा साढे तीन गुणा भुक्तानी भएको छैन । यो वर्ष सम्बोधन गर्छौँ भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले हामीसँग भन्नुभएको पनि थियो । तर उहाँहरू सरकारबाट बाहिर हुनुभयो । अर्थ मन्त्रालयले पूर्वाधार क्षेत्रलाई पूरै असहयोग गरेको छ ।’

तर, अर्थसचिव मधुकुमार मरासिनीले नियमसंगत कार्यविधि र मापदण्डभित्र लागेका ठेक्का तथा परियोजनाको भुक्तानी सरकारले समयमा नै गरेको दाबी गरे । उनले केही दिन अघि अर्थ समितिमा बोल्दै नियमसंगत लागेका ठेक्का र सम्पन्न भएकाको भुक्तानी नरोकिएको उल्लेख गरेका थिए ।

उनले सार्वजनिक खरिद ऐन तथा परियोजना कार्यान्वयन कार्यविधि भन्दा बाहिर गएर लागेका र लगाइएका ठेक्काहरूको राज्यले भुक्तानी दिन नसकेको बताए । उनले कुन परियोजनाको ठेक्का लगाउने र भुक्तानी निकासीलाई सहज बनाउने गरी पुँजीगत खर्चको कार्यान्वयन तथा ठेक्का सम्झौताका लागि मन्त्रालयले कार्यविधिहरू बनाएको बताए । उनले पुँजीगत खर्च गर्ने बजेट अर्थ मन्त्रालयले रोक्यो भन्नु बुझाइ गलत भएको बताए । सचिव मरासिनीले चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयमा १ खर्ब ३० अर्ब पुँजीगत बजेट छुट्याएको बजेट खर्च गर्न अर्थ मन्त्रालले नरोकेको बताए । मदन भण्डारी,मध्यपहाडी,पूर्वपश्चिम राजमार्गमा छुट्याएको बजेट अनुशासनमा बसेर खर्च गर्नलाई अर्थ मन्त्रालयले नरोकेको उनको भनाइ छ । 

यता, अर्थविद्हरुले सरकारले ठेक्का सम्मmौता गरेर काम लगाएपछि भुक्तानी दायित्वबाट भाग्न नमिल्ने बताएका छन् । उनीहरुले राज्यले निर्माण व्यवसायीहरुको भुक्तानी रोक्दा बैंक वित्तीय संस्थादेखि समग्र अर्थतन्त्रमा असर पारेको बताए । अर्थविद् केशव आचार्यले निर्माण व्यवसायीहरुको राज्यले भुक्तानी नदिनु गैरजिम्मेवारीपन भएको बताए । उनले राज्यले पुँजिगत खर्चको लागि २५ देखि ३० प्रतिशत मात्रै लगानी गर्ने र बाँकी ७० देखि ७५ प्रतिशत निजी क्षेत्रले गर्ने बताए । 

अर्थविद् आचार्यले राज्य गैरजिम्मेवार बन्न नपाउने भन्दै निर्माण उद्योगको संरक्षण गर्न जरुरी रहेको बताए । उनले सरकारले निर्माण क्षेत्रको भुक्तानी नगर्दा आर्थिक क्रियाकलाप समेत चलायमान हुन नसकेको बताए । 

अर्थविद् आचार्यले सरकारले सम्झौताअनुसार भुक्तानी नदिनु आफैँले गरेको करार सम्झौताको बिरोध हुने उल्लेख गरे । उनले सरकारले निर्माण व्यवसायीको भुक्तानी रोकेर सार्वजनिक खरिद नियमावली विपरित काम गरेको बताए । उनले सरकारले राज्यको क्षमता नहेरी ठेक्का सम्झौता गर्नु गलत भएको बताए । 

अर्थविद् आचार्यले सरकारले भुक्तानी नगर्नु गैरकानूनी र अपराधिक क्रियाकलाप भएको टिप्पणी गरे । 
यता, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि अन्य विज्ञहरुले भने जस्तै निर्माण व्यवसायीहरुको भुक्तानी रोक्न नहुने बताए । उनले अहिले निर्माण र औद्योगिक क्षेत्रमा नकारात्मक ग्रोथ रहेको बताए । गभर्नर अधिकारीले अर्थतन्त्रमा सबैभन्दा ठूलो चुनौती निर्माण क्षेत्रबाट परेको साइक्लिङ असर व्यवस्थापन भएको बताए । 

गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्ना सीमा भएकाले निर्माण व्यवसायीहरुले भुक्तानीका विषयमा काम गर्न नसक्ने बताए । 
गभर्नर अधिकारीले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी नगर्दाको असर राष्ट्र बैंकलाई पनि पारिरहेको बताए । उनले निर्माण व्यवसायीलाई दिएको भुक्तानीको ४० प्रतिशत राजश्वको रुपमा सरकारलाई नै आउँने भएको तत्काल भुक्तानी गर्न आवश्यक रहेको धारणा राखे । 
यस्तै नविल बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले पनि सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिँदा बैकिङ कर्जा समेत उठ्न नसकेको बताए । उनले बैंकहरुले निर्माण उद्योगलाई विभिन्न सेवासुविधाहरुसहित कर्जा प्रवाह गर्ने र समयमा भुक्तानी नहुँदा बैंकिङ क्षेत्र दोहोरो मारमा परेको बताए । 

निर्माण व्यवसायीहरुको सरकारी भुक्तानी रोकिँदा उधारोमा उठाएको सामग्रीको भुक्तानी दिन नसकेको मात्र नभई श्रमिकहरूलाई ज्याला समेत दिन समेत सकेका छैनन् । बैंकको खराब कर्जा कम गर्न र अर्थतन्त्रमा देखिएको शिथिलता कम गरी आर्थिक क्रियाकलापलाई चलायमान बनाउनका लागि भएपनि सरकारले निर्माण व्यवसायीहरुको रकम भुक्तानी गर्न आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन् । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप