शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

जसपा नेपालको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?

बिहीबार, २७ असार २०८१, १२ : ४७
बिहीबार, २७ असार २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समितिको नामावली सार्वजनिक भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज २१५ सदस्यीय केन्द्रीय कार्य समिति सार्वजनिक गरेका छन् । जसपा अध्यक्षसहित नौ जना कार्यकारिणी समिति सदस्य छन् भने अरू बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

गत जेठ २८ गतदेखि ३० गतेसम्म जनकपुरमा सम्पन्न महाधिवेशनले उपेन्द्र यादवलाई केन्द्रीय समितिमा सर्वसम्मतिले चयन गरेको थियो । सोही महाधिवेशनले बाँकी पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि अध्यक्ष उपेन्द्र यादवले जिम्मेवारी दिएको थियो ।

सोही जिम्मेवारी अनुसार अध्यक्ष यादवले नौ जना कार्यकारिणी सदस्यसहित २१५ सदस्यीय कार्यसमिति घोषणा गरेका हुन् । तर त्यसले पूर्णता पाएको छैन । विधान अनुसार केन्द्रीय समिति २४१ जना हुनुपर्ने त्यसमध्ये उनले २१५ जनाको नाम मात्र सार्वजनिक गरेका छन् ।

विधान अनुसार २० जना पदाधिकारी चयन गर्नुपर्ने हुन्छ । अध्यक्ष यादवले पदाधिकारी चयन गर्न सकेका छैनन् । विधान अनुसार ३१ सदस्यीय कार्यकारिणी समिति हुनुपर्ने हो त्यसमध्ये अध्यक्षसहित नौ जना मात्र उनले कार्यकारिणी चयन गरेका छन् ।

३१ जना कार्यकारिणी सदस्यबाट नै २० जना पदाधिकारी चयन गर्ने व्यवस्था विधानमा छ । तर अहिले कार्यकारिणी समिति नै चयन नभएको कारण पदाधिकारी चयन गर्ने विषय ओझेलमा परेको छ ।

यो २१५ जनाको केन्द्रीय समितिको बैठक बसेर कार्यकारिणी चयन गर्नेछ, जसपा नेपालका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘केन्द्रीय समिति घोषणा भइसकेको छ, अबको १५ दिनभित्र केन्द्रीय समितिको बैठक बसेर कार्यकारिणी समितिलाई पूर्णता दिनेछ ।’

कार्यकारिणी समिति बनिसकेपछि अध्यक्ष यादवले पदाधिकारी मनोनयन गर्ने कार्यकारिणी समिति सदस्य सुनमले बताए । महाधिवेशनले नै पदाधिकारीदेखि लिएर अन्य सदस्यहरूको चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो सोही जिम्मेवारी अनुसार उनले चाडै नै पदाधिकारीको टुगों लगाउने नेता सुमनले बताए ।

जसपा नेपालका नेता पूर्ण बस्नेतले महाधिवेशन सम्पन्न भएको ३० दिनभित्र केन्द्रीय समितिको नामावली निर्वाचन आयोगमा बुझाउनुपर्ने बाध्यताका कारण अध्यक्ष यादवले हतार हतारमा कार्यसमिति बनाएको बताए ।  'छलफल गर्नका लागि कार्यकारिणी समिति र केन्द्रीय समिति बनेको छ, अब अध्यक्ष यादवलाई निर्णय लिन सजिलो हुनेछ । कार्यकारिणी र पदाधिकारी समितिले पनि चाँडै पूर्णता पाउनेछ', बस्नेतले भने । 

२४१ केन्द्रीय सदस्यमध्ये २० जना पदाधिकारी हुन्छन् । केन्द्रीय पदाधिकारीमा एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एक जना महिला अनिवार्य गरिएको छ । महासचिव दुई जना हुन्छन् भने उपमहासचिव तीन जना र त्यसमध्ये एक जना महिला अनिवार्य गरेको छ । सचिव सात जना हुनेछन् त्यसमध्ये दुई जना महिला अनिवार्य हुने भनिएको छ । कोषाध्यक्ष एक जना रहनेछ ।

जसपा नेपालले महाधिवेशनबाट आदिवासी जनजाति, मधेसी, खस क्षेत्री र ब्राह्मण, थारु, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसङ्ख्या गरी सात वटा सामाजिक समूहहरूबाट केन्द्रीय समितिमा समावेश गरिने प्रावधान रहेको छ ।

हरेक समुहबाट ३३ प्रतिशत महिला र ४० प्रतिशत युवा केन्द्रीय समितिमा रहने अनिवार्य छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप