आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

यस्तो सेवा–सुविधा पाउँछन् प्रमुख प्रशिक्षक गम्भीरले, पहिलो प्रस्ताव नै बीसीसीआईद्वारा अस्वीकार

बिहीबार, २७ असार २०८१, ११ : ४२
बिहीबार, २७ असार २०८१

काठमाडौँ । गौतम गम्भीर भारतीय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक बनेका छन् । उनको कार्यकाल जुलाई–अगस्तदेखि प्रारम्भ हुनेछ । टी–२० विश्वकप लगत्तै राहुल द्रबिडको कार्यकाल समाप्त भएकाले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गम्भीरालाई उक्त जिम्मेबारी दिने निर्णय गरेको हो ।

आखिर कति पाउँछन् त भारतीय टोलीका प्रमुख प्रशिक्षक गम्भीरले पारिश्रमिक ? बीसीसीआई स्रोतका अनुसार प्रमुख प्रशिक्षक गम्भीरले वार्षिक करिब १२ करोड भारतीय रुपैयाँ (करिब १९ करोड नेपाली) पारिश्रमिक पाउने छन् ।

यसका अतिरिक्त उनले बीसीसीआईबाट आवस सुविधा पनि पाउने छन् । टोलीसँग विदेश भ्रमणमा रहँदा उनले दैनिक करिब २१ हजार भारतीय रुपैयाँ भत्ता पाउने छन् । प्रमुख प्रशिक्षकले विदेश जाँदा बिजनेश क्लासमा यात्रा गर्ने सुविधा पनि पाउँछन् ।

गम्भीर भारतीय टोलीका पूर्वखेलाडी पनि हुन् । उनले सन् २००३ देखि सन् २०१६ सम्म भारतीय टोलीबाट खेलेका थिए । उनले सन् २००३ मा बंगलादेशविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

त्यसको एक वर्षपछि नै उनले अस्ट्रेलियाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । भारतले सन् २००७ मा टी–२० विश्वकप र सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।

गम्भीरले आफ्नो सक्रिय खेलजीवनमा ५८ टेस्ट, एक सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र ३७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार, गौतम गम्भीरको कुल सम्पत्ति दुई सय पाँच करोड भारतीय रुपैयाँ रहेको छ ।

गम्भीरले जुलाई २७ तारिखमा सुरु हुने भारतीय टोलीको श्रीलंका भ्रमणका क्रममा आफ्नो जिम्मेबारी समाल्नेछन् । श्रीलंका भ्रमणका क्रममा भारतले तीनवटा टी–२० अन्तर्राष्ट्रिय र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ ।

हाल भारतीय टोली जिम्बाब्बे भ्रमणमा छ । खासमा गौतम गम्भीरले जिम्बाब्बे भ्रमणदेखि आफ्नो जिम्मेबारी समाल्ने प्रस्ताव बीसीसीआई समक्ष राखेका थिए । जिम्बाब्बे भ्रमणमा भारतीय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी भीभीएस लक्ष्मणले सम्हालेका छन् ।

लक्ष्मण नेशनल क्रिकेट एकेडेमीका प्रमुख हुन् । गौतम गम्भीर जिम्बाब्बे भ्रमणको बाँकी खेलमा लक्ष्मणको स्थानमा प्रमुख प्रशिक्षक बन्न चाहन्थे । तर, बीसीसीआईले उनको प्रस्तावलाई अस्वीकार गरेको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप