सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
विकास निर्माण

कर्णाली रङ्गशाला : समयसीमा सकिँदा १० प्रतिशत काम अझै बाँकी

बिहीबार, २७ असार २०८१, ०८ : ०६
बिहीबार, २७ असार २०८१

सुर्खेत । प्रदेश गौरवको आयोजना अन्तर्गत वीरेन्द्रनगरमा रङ्गशाला निर्माण कार्य अझै  सम्पन्न हुन सकेको छैन ।

०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि असार २४ गतेसम्मको विवरण अनुसार रङ्गशाला निर्माणको अझै १० प्रतिशत काम बाँकी छ ।

०७८ मङ्सिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशालाको शिलान्यास गरेका थिए । ३० महिनाभित्र अर्थात् ०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी ०७८ कात्तिक २८ गते एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माणको जिम्मेवारी पाएको थियो । यद्यपि रङ्गशालाको काम समयमा सम्पन्न हुन सकेन ।

०७८ माघ ११ गतेदेखि चैतसम्म लकडाउन घोषणा गरिएको थियो । प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल लकडाउनकै कारणले रङ्गशाला निर्माणको काम सम्पन्न हुन केही ढिलाइ भएको बताउँछन् । त्यसलाई पनि मेकअप गर्नेगरी रफ्तारमा काम गरिए पनि विविध कारणले गर्न नसकिएको उनले रातोपाटीलाई बताए ।

स्थापनाकालदेखि अहिलेसम्म कर्णाली सरकारबाट भइरहेको एकमात्र गौरवको आयोजना हो यो । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रङ्गशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माण लगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । १० हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रङ्गशालाको फिनिसिङ लगायतका काम गर्न बाँकी नै छन् । सञ्ज्यालका अनुसार अब मेसिनरी काममात्रै बाँकी छन् । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम पनि बाँकी छन् ।

यस्तै झ्याल ढोका, बाथरुम फिटिङ गर्नुपर्ने काम पूरा हुन बाँकी नै छ । यी सबै काम साउन र भदौ महिनामा जुनसुकै हालतमा सम्पन्न गरिने दाबी उनको छ ।

०८० असारमा ६० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको दाबी गरेको खेलकुद विकास परिषद्ले अहिले विभिन्न कारण देखाउँदै ढिलाइ भइरहेको बताएको छ । अहिलेसम्म एक अर्ब ४४ करोड बराबरको रकम निर्माण कम्पनीलाई भुक्तानी भइसकेको छ भने १० हजार दर्शक क्षमताको प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने बाहेकको भौतिक संरचनाको काम सबै सकिएको छ ।

वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माण लगायतका काम पनि सम्पन्न भइसकेका छैनन् । यी काम अन्तिम चरणमा रहेको सञ्ज्याल बताउँछन् ।

आउटडोर मोडमा बास्केट बल, भलिबल लगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ । यो रङ्गशाला मङ्सिरमा कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गरी अगाडि बढाइएको थियो । यद्यपि उक्त प्रतियोगिताबारे अहिलेसम्म तयारी भने खासै भइरहेको देखिन्न ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सञ्ज्याल रङ्गशालाका कारण मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनामा कुनै समस्या नआउने बताउँछन् । ‘हामीले त्यसका लागि सबै गरिसकेका छौँ, बाहिर देखाउनका लागि चिटिक्क पार्नमात्र बाँकी हो,’ उनले रातोपाटीसँग भने, ‘काम सकेर पनि हाम्रा खेलाडीले केही महिना रङ्गशालामा तालिम गर्न पाउँछन् ।’

यो रङ्गशालाभित्र १६ वटा खेल खेल्न सकिने उनले बताए । त्यस बाहेकका खेल कहाँ खेलाउने भन्नेबारे अहिलेसम्म कुनै छलफल भएको देखिन्न । ‘बाँकी खेलका लागि राष्ट्रिय खेलकुदले नै निर्णय गर्ने भएकाले २७ गते काठमाडौँ बोलाएको छ,’ उनले अगाडि भने, ‘त्यसमा छलफल होला नै । तर हाम्रो कुरा के हो भने जति सकिन्छ सुर्खेतमा गर्ने, नसकिने अन्य जिल्लामा लैजाने हो—जहाँ पूर्वाधार छन् र बसोबास गर्न सकिन्छ ।’

१० औँ खेलकुदको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्को भए पनि तयारीका बारेमा अहिलेसम्म खासै तदारुकता नदेखिएको उनले बताए । यद्यपि अहिलेसम्म कर्णालीले आफ्नै बलबुताले काम गरिरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप