१० बजे, १० समाचार
आज २०८१ असार २६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–
- अफलाइन राइडको खतरा
अफलाइन राइड सेयरिङमा हिँड्दा सुरक्षा चुनौती देखिएको एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘अफलाइनमा हुँदा राइडर र यात्रुको सुरक्षा खतरा हुन्छ, उनीहरू लुटपाट र कुटपिटलगायत अपराधको जोखिममा पर्न सक्छन् ।’ अफलाइन राइडिङमा यात्रुको बीमा गरिएको हुँदैन । त्यस्तोमा जोखिम स्वाभाविक धेरै हुन्छ ।
- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त पदाधिकारीको लक्ष्य
अहिले उपकुलपतिसहित नयाँ पदाधिकारी आएको चार महिना नाघेको छ । यो अवधिमा त्रिविका पदाधिकारीहरूले आफूले वाचा गरेका के–के काम पूरा गरे ? यो आम सरोकारवालाहरूको प्रश्न छ । यही प्रश्न हामीले त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजाललाई सोध्यौँ । जवाफमा उनले छोटो समयमा केही सुधारका कामहरू भएको प्रतिक्रिया दिए ।
- नयाँ सत्ता समीकरण
सत्ता सहकार्यको समझदारी गरेका नेपाली कांग्रेस र नेकपा एमाले शक्ति बाँडफाँटमा घनीभूत संवादमा छन् । असार १७ को मध्यराति संसदको बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र एमाले अहिले मन्त्रालयको भागबण्डा केन्द्रित छन् ।
- प्रतिपक्षी भूमिका
सङ्घीयता कार्यान्वयनको ७ वर्ष अवधिमा अधिकांश समय बागमती सरकारमा रहेको नेकपा माओवादी केन्द्र अब भने बाहिरिने तरखरमा छ । सङ्घीय संरचना अनुसार प्रदेश गठन भएपछि बागमती प्रदेशमा माओवादी केन्द्र पटकपटक सत्ता साझेदार रहेको छ भने पछिल्लो समय सरकारकै नेतृत्वमा छ ।
- सहकारी पीडित
सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । बुधबार सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिमा बोल्दै सहकारी पीडितहरूले यस्तो माग गरेका हुन् । उनीहरुले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उपप्रधान तथा गृहमन्त्री लामिछाने उपर पनि छानबिन आवश्यक रहेको बताए ।
- प्रचण्डको ब्रिफिङ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढाँटछल गरेको ‘ब्रिफिङ’ गरेका छन् । त्यसक्रममा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले–कांग्रेसबिचको समीक्षा गर्दै अध्यक्ष ओलीले आफूहरूलाई ढाँटेको बताएका हुन् ।
- नेतालाई कारबाही
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।
- सांसदका गुनासा
खानेपानीका क्षेत्रमा काम गर्ने मन्त्रालयदेखि विभिन्न निकायका पदाधिकारीहरूलाई सांसदहरूले काठमाडौँमा धाराको पानी पिउन नपाएको र लुगा धुन समस्या भएको गुनासो गरेका छन् । बुधवार बसेको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले पानीको अभाव भएको कुरा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछाने, केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल लगायतका पदाधिकारीहरूलाई गुनासो गरेका हुन् ।
- मुकुलको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पदीय जिम्मेवारीबाट मुक्त भएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मनपर्ने रवि लामिछानेहरूलाई आफ्नो शैली बालापन लाग्नु स्वाभाविक भएको बताएका छन् ।
- एमाले बैठक
नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल