बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सत्ता राजनीति

लामो समय बागमतीको सत्तामा रहेको माओवादी अब प्रतिपक्षी भूमिकामा पुग्ने

बुधबार, २६ असार २०८१, १९ : ३७
बुधबार, २६ असार २०८१

मकवानपुर । सङ्घीयता कार्यान्वयनको ७ वर्ष अवधिमा अधिकांश समय बागमती सरकारमा रहेको नेकपा माओवादी केन्द्र अब भने बाहिरिने तरखरमा छ ।

सङ्घीय संरचना अनुसार प्रदेश गठन भएपछि बागमती प्रदेशमा माओवादी केन्द्र पटकपटक सत्ता साझेदार रहेको छ भने पछिल्लो समय सरकारकै नेतृत्वमा छ ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए । २०७४ माघ २८ मा गठित बागमती प्रदेश सभामा एमालेका ५८ र माओवादी केन्द्रका २३ गरी सत्ता पक्षमा ८१ जना सांसद थिए । २ तिहाइको बहुमत रहेको सो सरकारको नेतृत्व माघ २८ मा एमालेका डोरमणि पौडेलले गरेका थिए ।

त्यतिबेला २ मन्त्रीसहित सरकारमा सहभागी भएको माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र युवराज दुलाल मन्त्री बनेका थिए । ३ वर्ष सत्तामा रहेको माओवादी केन्द्रबाट उनीहरू क्रमशः आन्तरिक मामिला तथा कानुन र सामाजिक विकास मन्त्री बनेका थिए ।

नेकपा विवाद सुरु भएपछि २०७७ पुस ५ मा माओवादीले सरकारप्रतिको समर्थन फिर्ता लिनुका साथै आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

नेकपा विवादमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग हुने बाटो खोलिदिएपछि माओवादी केन्द्र केही समय सरकार बाहिर रह्यो । सरकार छाडेर माओवादी केन्द्र २३ सांसदका साथ प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको थियो ।

त्यसपछि पनि एमालेका डोरमणिले नै सरकारको नेतृत्व गरे । तर, उनको सरकार लामो समय टिक्न सकेन । नेकपा विवाद सकिए पनि एमालेमा अन्तरद्वन्द्व कायम थियो । पार्टीमा अन्तरद्वन्द्व बढ्दै जाँदा २०७८ भदौ २ मा एकीकृत समाजवादी पार्टी निर्माण भयो र २०७८ भदौ २२ मा बागमतीका १३ सांसदले एमाले त्याग गरेर एकीकृत समाजवादी रोजे ।

एमाले विभाजन रोक्न भदौ २ मा डोरमणि पौडेलले शासन सत्ता एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सुम्पिएका थिए । शाक्यलाई एमाले दलको नेता बनाएर सरकार जिम्मा लगाए पनि एमाले विभाजन रोकिएन । ७० दिन सरकार चलाएर २०७८ कात्तिक १० मा शाक्ले सरकारको नेतृत्व छाडिन् ।

त्यस लगत्तै ११ महिना सरकारबाट बाहिरिएको माओवादी केन्द्र फेरि सत्तामा फर्कियो । प्रदेश सभामा कुनै पनि दलको प्रस्ट बहुमत नहुँदा गठबन्धन सरकार बन्यो । माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, जसपाका १ सहित ५९ सांसदको समर्थनमा एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बने ।

पाण्डे नेतृत्वको सरकारमा १४ मन्त्रालय र ४ राज्यमन्त्रीसहित १८ जनाको मन्त्रीमण्डल बन्यो जसमा माओवादी केन्द्रबाट ५ मन्त्री सहभागी भए । सो सरकारमा माओवादी केन्द्रबाट हालका मुख्यमन्त्री जम्कट्टेल आर्थिक मामिला तथा योजना मन्त्री, धनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, रत्न प्रसाद ढकाल युवा तथा खेलकुद मन्त्री, विशाल खड्का वन तथा वातावरण मन्त्री र कुमारी मोक्तान सामाजिक विकास मन्त्री नियुक्त भएका थिए । निर्वाचनसम्म उक्त सरकारले १४ महिना प्रदेशमा शासन ग¥यो ।

निर्वाचनपछि प्रदेशमा माओवादी केन्द्रकै नेतृत्वमा सरकार बन्यो । सो सरकारको नेतृत्व माओवादी केन्द्रबाट जम्कट्टेलले गर्दै आएका छन् । यद्यपि उनले यसबिचमा विभिन्न समीकरणको सहारा लिएर सरकार टिकाउँदै आएका छन् ।

६ वर्षदेखि सत्ताको केन्द्रमा जम्कट्टेल

मुख्यमन्त्री जम्कट्टेलको सत्ता यात्रा अत्यन्त सुखद् छ । सङ्घीयता कार्यान्वयनको ७ वर्षमध्ये अधिकांश समय उनी सत्ताको केन्द्रमा रहँदै आएका छन् ।

उनी प्रदेश सरकार गठनदेखि हालसम्म गरेर ६ वर्ष सत्ताको केन्द्रमा रहे । २३ सांसद हुँदा पनि सरकार निर्माण र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी २१ सांसद रहँदा पनि उत्तिकै सशक्त छन् । २ कार्यकालको संसदीय भूमिका (७ वर्ष)मा उनी १० महिनामात्र प्रतिपक्षमा रहे ।

१० महिना बाहेक अधिकांश समय उनी सरकारको नेतृत्व र मन्त्रीको भूमिकामा छन् । त्यसो त उनी मन्त्रीको जिम्मेवारी सम्हालिरहेको अवस्थामा मुख्यमन्त्री बन्न सफल भएका थिए ।

बहालवाला मन्त्री भइरहेका बखत २०७९ को निर्वाचनपछि गठित सरकारको नेतृत्व गर्ने अवसर उनले पाएका थिए । तत्कालीन मुख्यमन्त्री पाण्डे सङ्घीय संसदमा निर्वाचित भएपछि २०७९ पुस २५ मा एमाले, राप्रपा र माओवादी केन्द्रको गठबन्धनबाट उनी मुख्यमन्त्री बनेका थिए ।

एक छलफलका क्रममा उनले भने, ‘म अत्यन्त भाग्यमानी व्यक्ति हुँ । म सत्ताबाट बाहिर खासै बस्नु परेन । यतिसम्म भाग्यमानी कि एउटा झण्डावाला गाडीमा गएर अर्को झण्डावाला गाडी चढेर फर्किने व्यक्ति विरलै हुन्छ । त्यसको एउटा उदाहरण म हुँ ।’

प्रदेश सरकार गठनताका आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट सत्ता यात्रा सुरु गरेका जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सम्हाले । उनले ३ वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्री, १४ महिना आर्थिक मामिला तथा योजना मन्त्री र १७ महिनादेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

‘म सरकारमा बस्दिनँ भन्दा पनि पार्टीले जिम्मेवारी दिँदै आएकाले लामो समय बितेको हो । सुरुवातमा एउटा मन्त्रालयको जिम्मेवारी लिएँ । राजनीतिक समीकरण फेरियो, अब म बन्दिनँ भनेर पार्टी र भूगोलमा काम गर्ने सोच बनाएको थिएँ । त्यस समय म धादिङको गंगाजमुनामा पुगेको थिएँ, प्रधानमन्त्रीले फोन गरेर राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा अर्थ मन्त्रालय हेर्ने जिम्मेवारी दिनुभयो । बाध्य भएर मन्त्री बन्नु परेको थियो । अहिले पनि मुख्यमन्त्रीको जिम्मेवारी पाएको छु,’ उनले भने ।

अब प्रतिपक्षी भूमिकामा पुग्ने निश्चित

६ वर्षदेखि सत्तामा रहेको माओवादी केन्द्र निकट भविष्यमै प्रतिपक्षको भूमिकामा रहने निश्चित भएको छ । केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्र प्रतिपक्षमा पुग्ने निश्चित भएको हो ।

सत्ता समीकरण फेरिएसँगै उनी नेतृत्वको सरकारबाट एमालेका ५ मन्त्रीले राजीनामा बुझाइसकेका छन् भने सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री जम्कट्टेललाई सरकार टिकाउन आगामी साउन २२ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ ।

०७९ माघ ३ गते, चैत १० मा र ०८० चैत १९ गते गरी ३ पटक विश्वासको मत लिएर सरकार टिकाएका जम्कट्टेल यसपटक भने सङ्कटमा छन् । कुनै पनि अवस्थामा उनको सरकार नटिक्ने अङ्कगणितले प्रस्ट पारेको छ ।

अङ्कगणित अनुसार ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ । जुन मुख्यमन्त्री जम्कट्टेलको पक्षमा देखिँदैन । हाल मुख्यमन्त्री जम्कट्टेलसँग २९ सांसदको समर्थन छ । उनलाई थप २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस–एमालेको गठबन्धन भइरहँदा सो सङ्ख्या जुटाउन असम्भव छ ।

नयाँ सत्ता गठबन्धन कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन् । ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् भने माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप