शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

जसपा नेपालको केन्द्रीय कार्यसमिति कहिले बन्छ ?

काठमाडौँमा झुम्मिएका नेताको खल्ती रित्तियो
बुधबार, २६ असार २०८१, १८ : ५८
बुधबार, २६ असार २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सकिएको झण्डै एक महिना हुन लागेको छ तर काठमाडौँमा जसपा नेपालका नेताहरूको चहलपहल र पार्टी कार्यालयमा देखिएको दौडधुपले महाधिवेशनकै झल्को दिइरहेको छ ।

जसपा नेपालको महाधिवेशन जेठ ३० गते जनकपुरमा सम्पन्न भएको थियो । महाधिवेशनबाट उपेन्द्र यादव पार्टीको अध्यक्षमा सर्वसम्मतले चयन भए । बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी आफैँमा राखेर अध्यक्ष यादव काठमाडौँ फर्के । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यका आकाङ्क्षी नेताहरू पनि अध्यक्ष यादवकै पछिपछि काठमाडौँ आइपुगे ।

अध्यक्ष यादवले केन्द्रीय समिति घोषणा गर्ने आशमा नेताहरू छन् तर अझै घोषणाको सुरसार भने देखिएको छैन । जसपा नेपालका नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंहले अबको एक–दुई दिनमा घोषणा हुन्छ कि भन्ने आफूलाई लागेको बताए । महाधिवेशनले सम्पूर्ण अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेपछि अरूले त्यसमा केही गर्न नमिल्ने भन्दै उनले अध्यक्ष यादव तयारीमा लागेकाले अब चाँडै सार्वजनिक हुने बताए । उनले भने, ‘यो हप्ताभित्र घोषणा गर्नैपर्ने हुन्छ ।’

महाधिवेशनले जिम्मेवारी दिए पनि अध्यक्ष यादवले आन्तरिक रूपमा सबैसँग सल्लाह गरेर कार्यसमिति बनाउने तयारी गरिरहेका छन् । ‘यत्रो ठुलो पार्टी छ, भर्खर विभाजन भएको छ,’ सिंहले भने, ‘हतारमा सार्वजनिक गरेर विवाद हुनुभन्दा केही समय लिएर सबैलाई चित्त बुझ्ने गरी गर्दा नै राम्रो हुन्छ ।’

काठमाडौँमा जसपा नेपालको चहलपहल

जसपा नेपालका नेताहरू करिब एक महिनादेखि काठमाडौँमै छन् । कतिपय नेताको आफ्नै घर छ । कोही नेता आफन्तको घरमा बसेका छन् भने कतिपय नेता होटल तथा गेस्टहाउसमा बसेर केन्द्रीय समितिको घोषणा हुने दिन पर्खिरहेका छन् । काठमाडौँ आएर बसेका अधिकांश नेता दिनदिनै पार्टी कार्यालय र पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरूको घरमा धाइरहेका छन् । उनीहरू केन्द्रीय समितिमा आउनका लागि जोडबल गरिरहेका छन् ।

पदाधिकारी तथा केन्द्रीय सदस्यका आकाङ्क्षीहरू अध्यक्षलाई भेटेर आफ्ना प्रस्ताव राखिरहेका हुन्छन् । अध्यक्ष यादवले सबैसँग भेट गरी उनीहरूको कुरा सुन्ने गरेका छन् । तर उनले कस्तो केन्द्रीय समिति कसरी र कुन मापदण्डका आधारमा बनाउँदैछन् भन्ने संकेत दिएका छैनन् ।

असार मसान्तभित्र जसरी पनि केन्द्रीय समितिको नाम सार्वजनिक गर्नुपर्ने हुन्छ । महाधिवेशन सकिएको ३० दिनभित्र केन्द्रीय समितिको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ । अध्यक्ष यादव केन्द्रीय समितिको नामावलीको तयारीमा लागेका छन् । जतिजति समय नजिकिँदैछ, नेताहरूमा कौतहलता बढ्दैछ ।

एक नेताले भने, ‘म असार ५ गतेदेखि काठमाडौँमा छु, कहिले कहाँ त कहिले कहाँ डुलेर बसिरहेको छु तर अध्यक्षज्यूले कहिले नाम सार्वजनिक गर्नुहुन्छ भन्ने अझै टुङ्गो छैन ।’

दिनभरि पार्टी कार्यालयमा बसेर समय कटाउने बाहेक अरू कुनै काम नभएको उनको गुनासो छ । उनले दुईतीन दिन अझै हेर्ने र त्यतिन्जेल केन्द्रीय समितिको नाम सार्वजनिक नभए घर फर्किने बताए ।

अहिले धान रोपाइँको समय भए पनि आफू काठमाडौँमै बसिरहेको उनको भनाइ छ । ‘नाम आजै सार्वजनिक हुन्छ, भोलि नै सार्वजनिक हुन्छ जस्तो कुरा पार्टी कार्यालयमा भइरहेको हुन्छ,’ उनले भने, ‘त्यही भएर घर जाने मान्छे पनि काठमाडौँमै अल्झिरहेको छु ।’

पार्टी कार्यालयमा भेटिएका एक अर्का नेताले भने, ‘अध्यक्षजीले केही समय लाग्छ, यति दिनमा केन्द्रीय समिति सार्वजनिक हुन्छ भनिदिएको भए ढुक्क भएर जान्थेँ, यहाँ बेकारमा खर्चमात्र भइरहेको छ ।’

आफ्नो घर हुनेलाई त समस्या छैन तर जो अरूको डेरा वा घरमा र होटलमा बसिरहेका हुन्छन्, उनीहरूको खल्ती रित्तिएर खर्च गर्न गाह्रो भइरहेको ती नेताले बताए ।

कार्यसमितिका लागि के छ प्रावधान ?

२०१ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी २० जना हुनेछन् भने त्यसमा खुला १६ जना र चार जना महिला अनिवार्य राख्नुपर्ने प्रावधान छ । केन्द्रीय सदस्य १८१ जनामध्ये खुला १२१ जना छन् भने ६० जना महिला अनिवार्य गरिएको छ ।

केन्द्रीय पदाधिकारीमा एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एक जना महिला अनिवार्य गरिएको छ । महासचिव दुई जना छन् भने उपमहासचिव तीन जना र त्यसमध्ये एक जना महिला अनिवार्य गरेको छ । सचिव सात जना हुनेछ । त्यसमध्ये दुई जना महिला अनिवार्य हुने भनिएको छ । कोषाध्यक्ष एक जना रहनेछ ।

जसपा नेपालले महाधिवेशनबाट आदिवासी जनजाति, मधेसी, खस क्षेत्री र ब्राह्मण, थारु, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसङ्ख्यक गरी सात वटा सामाजिक समूहबाट केन्द्रीय समितिमा समावेश गरिने प्रावधान छ ।

हरेक समूहबाट ३३ प्रतिशत महिला र ४० प्रतिशत युवा केन्द्रीय समितिमा रहने अनिवार्य छ । आदिवासी जनजाति समूहबाट ३० जना, मधेसी समूहबाट १६ जना, खस क्षेत्री र ब्राह्मण समूहबाट ३३ जना, थारुबाट ६ जना, दलितबाट १४ जना, मुस्लिमबाट ४ जना अपाङ्गता भएका र अल्पसङ्ख्यक समूहबाट ३ जना निर्वाचित गरिने प्रावधान छ । यसरी सामाजिक समूहबाट ३५ जना महिला र ४२ जना युवा निर्वाचित हुने छन् ।

अध्यक्ष यादवले यी प्रावधान अनुसार नै कार्यसमिति गठन गर्नेमा नेताहरू आशावादी छन् । २०१ जना केन्द्रीय सदस्यमध्ये २० प्रतिशत अध्यक्षले मनोनीत गर्ने प्रावधान विधानमा छ । तर अहिले अध्यक्षबाहेक अरू सबै पद अध्यक्ष यादवले नै मनोनीत गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप