बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

व्यक्तिको जग्गामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण

बुधबार, २६ असार २०८१, १७ : ४०
बुधबार, २६ असार २०८१

बुटवल । रोल्पाको लुङ्ग्री गाउँपालिका–४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण भए पनि जग्गाको स्वामित्व व्यक्तिकै नाममा रहँदा झमेला देखिएको छ । २०७६ सालमा गाउँपालिकाको २७ लाखको लागतमा निर्माण गरेको दुई कोठे स्वास्थ्य सेवा केन्द्रको जग्गा अझैसम्म स्थानीय झके खड्काको नाममा छ ।

सामान्यतया व्यक्तिको नाममा रहेको जग्गा खरिद गरेर या निःशुल्क मालपोतमा रजिस्ट्रेसन गरेर पास गरेर भवनको अनुमति लिने प्रावधान भए पनि यी प्रक्रिया पूरा नगरी हचुवा भरमा निर्माण गरेको पाइएको हो । अहिले उक्त जग्गा एक वित्तीय संस्थामा धितोमा राखेको पाइएको छ ।

निर्माण गर्दा नै अनुगमन समितिले प्रश्न उठाउँदै गर्दा अटेर गरेर तत्कालीन वडाध्यक्ष शिवराम खत्रीले व्यक्तिको नाममा रहेको जग्गामा स्वास्थ्य चौकी भवन बनाएको आरोप लागेको छ । गाउँ कार्यपालिकाको बैठक र गाउँसभाको निर्णयविनै व्यक्तिगत जग्गामा स्वास्थ्य चौकी भवन बनाइएको आरोप तत्कालीन अनुगमन समिति संयोजक टेकबहादुर सुनारले लगाए ।

उनले रातोपाटीसँग भने, ‘लालपुर्जा आफ्नो नाममा नभएको जग्गामा भवन बनाउँदा बजेट कसरी पास भयो भन्नेमा शङ्का छ । लालपुर्जा एउटाको, भवन अर्काको हुँदा नक्सा कसरी पास हुन्छ ?’

जग्गाधनी खड्का र तत्कालीन वडाध्यक्ष खत्री आफन्त हुन् । लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले अघिल्लो जनप्रतिनिधिका पाला निर्माण भएको उक्त आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि जग्गाको लालपुर्जा स्वास्थ्य केन्द्रको नाममा नआउँदासम्म थप बजेट नदिने चेतावनी दिएपछि अहिले नामसारीको प्रक्रियामा गएको रातोपाटीलाई बताए ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पुरानो विषय भएकाले आफूलाई सबैकुरा थाहा नभएको बर्ता । ‘म भर्खर यहाँ आएको छु, यो पुरानो विषय रहेछ,’ उनले भने, ‘कुन प्रक्रियाबाट कसरी भयो भन्नेबारे म अध्ययन गर्छु ।’

गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि बजेट विनियोजन गरे पनि कसैले जग्गा दिन नमानेका कारण आफन्त पर्ने झके खड्कालाई जग्गाको लागि अनुरोध गरेर आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरेको तत्कालीन वडा अध्यक्ष शिवराम खत्रीले रातोपाटीलाई बताए ।

अहिले स्वास्थ्य चौकीको भवन रहेको जग्गा धितो राखेर एक लघुवित्तबाट १५ लाख रुपैयाँ जग्गाधनीले ऋण लिएको उनले बताए । त्यो ऋण चुक्ता नहुँदासम्म जग्गा नामसारी नहुने भन्दै उनले प्रक्रिया मिलाएर स्वास्थ्य सेवा केन्द्रको नाममा जग्गा पास गर्न पहल भइरहेको उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप