शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
संसदीय समिति बैठक

सिंहदरबारमा सांसदका गुनासा : पिउने पानी किन्नुपर्‍यो, लुगा धुन पाइएन

बुधबार, २६ असार २०८१, १७ : २७
बुधबार, २६ असार २०८१

काठमाडौँ । खानेपानीका क्षेत्रमा काम गर्ने मन्त्रालयदेखि विभिन्न निकायका पदाधिकारीहरूलाई सांसदहरूले काठमाडौँमा धाराको पानी पिउन नपाएको र लुगा धुन समस्या भएको गुनासो गरेका छन् । बुधवार बसेको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले पानीको अभाव भएको कुरा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछाने, केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल लगायतका पदाधिकारीहरूलाई गुनासो गरेका हुन् । 

राष्ट्रियसभा सदस्य बामदेव गौतमले मेलम्ची आयोजनामा नेपाली जनता र विदेशी दातृ निकायको गरी खरबाै रुपैयाँ डुबेकोले आयोजना सुरु गर्ने र सो काममा संलग्नलाई कारबाही गर्नुपर्ने बताए । उनले हाल मेलम्चीमा के भएको छ त्यसको स्थलगत अध्ययन गर्नुपर्ने उल्लेख गरे । 

सांसद विष्णुबहादुर विश्वकर्माले आफू काठमाडौँको नयाँ नैकापमा बस्ने तर धारामा पानी नआएका कारण लुगा धुन समस्या भएको बताए । उनले पिउने पानी किनेर खानुपर्ने अवस्था रहेको बताउँदै ३ दिनमा बल्ल बल्ल एक पटक पानी आउने र पानी लिन ठुलो लाइन लाग्ने गरेको गुनासो गरे । 

सांसद घनश्याम रिजालले काठमाडौँमा जनसङ्ख्या बढिरहेको, मेलम्ची खानेपानी आयोजना पनि भरपर्दो नभएकोले खानेपानी व्यवस्थापनका लागि मन्त्रालयले के सोचिरहेको छ भन्दै प्रश्न गरे । यस्तै सांसद अन्जान शाक्यले धारामा पानी नपठाउने तर शुल्क लिने कुरा कति जायज भन्दै प्रश्न गरिन् । उनले पानी नआउने धाराको शुल्क मिनाहा गर्न सकिँदैन भन्दै प्रश्न गरिन् । 

यस्तै सांसद जितजंग बस्नेतले वर्षौदेखि धारामा पानी नआए पनि शुल्क भने तिर्नुपरेको बताए । मेलम्चीको पानी निरन्तर आउने कुराको ग्यारेन्टी नभएको र काठमाडौँ उपत्यकामा कमसल तरिकाले मेलम्चीको पाइपलाइन बिच्छाएको कारण पानी चुहावटको समस्या रहेको बताए । सांसद तुलप्रसाद विश्वकर्माले पहिले नै त्रुटि गरेका कारण अहिले समस्या झेल्नुपरेको उल्लेख गरे । 

सांसदहरूको प्रश्नको जवाफ दिँदै खानेपानी सचिव सुरेश आचार्यले बामदेव गौतमले भनेजस्तो मेलम्ची आयोजनामा खरबौँ रुपैयाँ खर्च नभई झन्डै ६७ अर्ब पुगेको बताए । 

मेलम्चीको खानेपानीको हेडवर्क्समा करिब ८०–९० करोडको क्षति भएको भन्दै उपत्यकावासीलाई सबै महिना पानीको सुविधा दिने हो भने हेडवर्क्स  सार्नुको विकल्प नरहेको र त्यसका लागि २ अर्ब अनुदान दिन एसियाली विकास बैंक सहमत भएको जानकारी गराए । सो रकमले हेडवर्क्स सार्न, याङ्ग्री र लार्केको पानी ल्याउने अध्ययनका लागि खर्च पुग्ने बताए । 

उनले काठमाडौँ उपत्यकामा विभिन्न स्रोतबाट वर्षा याममा दैनिक १० देखि १२ करोड लिटर पानी वितरण गरिरहेको बताए । काठमाडौँमा मेलम्ची बाहेक पानी आपूर्तिका लागि चाँगुनारायणमा रहेको महादेव खोला र मकवानपुरमा रहेको सिस्नेरी खोलाबाट पानी ल्याउन सकिने सम्भावना रहेकोले त्यसलाई योजनाका रूपमा अघि बढाउन आवश्यक रहेकोमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप