बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
अमेरिकी राष्ट्रपति निर्वाचन

बाइडन वा ट्रम्प जसले जिते पनि हुनेछन् अमेरिकी इतिहासकै सर्वाधिक वृद्ध राष्ट्रपति

यी हुन् बुढ्यौलीका बाबजुद सत्तामा रहेका विश्व नेता
बुधबार, २६ असार २०८१, १५ : ०३
बुधबार, २६ असार २०८१

काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेका जो बाइडन वा डोनाल्ड ट्रम्पमध्ये जसले जिते पनि अमेरिकी इतिहासमै सबैभन्दा बुढो राष्ट्रपति बन्ने छन् । चार दशकअघि रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति चुनिँदा ६९ वर्षका थिए । दुई कार्यकाल सकेर उनी बाहिरिँदा ७७ वर्षका भइसकेका थिए ।

त्यसो त अमेरिकाका बुढ्यौलीका बाबजुद काम गर्ने परम्परा छ । एक तथ्याङ्क अनुसार अमेरिकामा अहिले पनि ७५ वर्षभन्दा माथिका करिब २० लाख मानिस काम गरिरहेका छन् । सन् २०३२ सम्ममा यो सङ्ख्या बढेर ३३ लाख पुग्ने अनुमान गरिएको छ ।

अमेरिकाका शीर्ष ५०० कम्पनीमा कम्तीमा चार मुख्य कार्यकारी अधिकारीको उमेर अहिले राष्ट्रपति पदका दुवै उम्मेदवारको तुलनामा बढी छ ।

बाइडन र ट्रम्पको स्वास्थ्यमाथि प्रश्न

अमेरिकी राष्ट्रपति बाइडनलाई सीएनएनकी एङ्करले दोस्रो कार्यकालमा उनी ८५ वर्षको उमेरतिर बढिरहेको हुने प्रसङ्ग निकालेर प्रश्न सोधिन् । जवाफमा बाइडनले भने, ‘आधा राजनीतिक जीवनसम्म मलाई राजनीतिमा धेरै नै युवा रहेको भनेर आलोचना गरियो । अब तपाईं मेरो बुढ्यौलीलाई मुद्दा बनाइरहनु भएको छ ।’

ट्रम्पतिर इशारा गर्दै बाइडनले भने, ‘उनी मभन्दा तीन वर्ष कान्छो छन् तर मभन्दा कम योग्य छन् ।’ जब ट्रम्पसँग यस्तै प्रश्न गरियो, ट्रम्पको जवाफ थियो, ‘मेरो स्वास्थ्य बाइडनको तुलनामा राम्रो छ । दुईतीन दशक अघिको तुलनामा मेरो वजन निकै कम भइसकेको छ ।

मैले हालै दुई क्लबस्तरीय गल्फ प्रतियोगिता जितेको छु । यस प्रकारको प्रतियोगिता उसैले जित्छ जसले बललाई लामो दुरीसम्म प्रहार गर्न सकोस् । मेरो प्रतिद्वन्द्वी (बाइडन)ले बललाई ५० गजभन्दा टाढा पु¥याउन सक्दैनन्, यो मेरो चुनौती हो ।’

त्यसो त बाइडनलाई प्रत्यक्ष रूपमा कुनै मेडिकल समस्या छैन । उनी धुम्रपान, मद्यपान गर्दैनन् । उनी दैनिक व्यायाम गर्छन् । तर कहिलेकाहीँ उनी मानिसको नाम भुल्ने र शून्यतातिर हेरिरहने गरेको पाइन्छ ।

दुवैलाई छ बिर्सिने बानी

गत वर्ष बाइडनले एक भाषणका क्रममा ‘युक्रेनमा जारी युद्ध’लाई ‘इराकमा भइरहेको युद्ध’ भनेका थिए । एक चुनाव भाषणमा उनले हालै फ्रान्सका पूर्वराष्ट्रपति फ्रोन्स्वा मिटरानसँग भेट गरेको बताएका थिए । जबकि उनको निधन भएकै तीन दशक भइसक्यो । यद्यपि तत्कालै बाइडनले आफ्नो गल्ती सुधार गरे ।

चुनावी बहसको एक दिनपछि जब उनले नर्थ क्यारोलाइनामा एउटा ¥यालीलाई सम्बोधन गरे, उनको आवाज बुलन्द र आत्मविश्वासले भरिएको थियो । उनले भने, ‘म यो गर्न सक्दिनँ भन्ने विश्वास भएको भए म दोस्रो पटक चुनाव लड्दैनथिएँ ।’

तर बाइडन कहिलेकाहीँ यति बिस्तारै बोल्छन् कि माइक्रोफोनमा उनको आवाज नै सुनिँदैन । वाक्यको बिचमा उनी रोकिन्छन् । उनको चुनाव प्रचार टिमले बुढ्यौली ढाकछोप गर्न उनी चढ्ने विमानको खुट्किला छोट्याएको छ । उनीसँगै एक सहयोगी हुने गर्दछ, जसले उनको सुस्त गतितिर मानिसको ध्यान जान नपाओस् ।

ट्रम्पका चिकित्सकले उनी पनि स्वस्थ्य रहेको बताएका छन् । तर ट्रम्प जङ्क फुड खाने र सफ्ट ड्रिङ्क पिउने गरेको भेटिन्छन् । हालै ‘गेटी’ले खिचेको एउटा तस्बिरको खुब चर्चा भएको थियो जसमा बुढ्यौली लुकाउन ट्रम्पले शृङ्गारको सहारा लिएको देखिन्थ्यो ।

ट्रम्पलाई पनि बिर्सने र मानिस नचिन्ने बानी छ । बाइडनको चुनाव प्रचारमा ट्रम्पले निकी हेलीलाई अमेरिकी पूर्व सभामुख नान्सी पलोसी ठानेको विषय पनि चित्रण गरिएको थियो ।

सीआईए र एफबीआई जस्ता अमेरिकी एजेन्सीलाई राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरिरहेका यी दुई वृद्धका साथ देशको गोपनीय र संवेदनशील दस्तावेज सुम्पिन मिल्छ कि मिल्दैन भन्ने चिन्ता छ । किनकि गुप्तचर विभागका अधिकारीहरूलाई उनीहरूको मानसिक स्वास्थ्यमा कुनै प्रश्न नउठेको अवस्थामा मात्र त्यस्ता सूचनामा पहुँच हुन दिइन्छ । तर राष्ट्रपतिको मामिलामा भने त्यस्तो कुनै प्रावधान छैन ।

विश्वका सर्वाधिक युवा र वृद्ध नेता

प्यू रिसर्च सेन्टरको एउटा तथ्याङ्क अनुसार संयुक्त राष्ट्रसंघका १८७ सदस्य राष्ट्रमध्ये यतिबेला बाइडन नवौँ वृद्ध नेता हुन् । बाइडनको तुलनामा ट्रम्प तीन वर्ष कान्छो छन् तर उनको गणना पनि विश्वका २० वृद्ध नेतामै पर्छ ।

यतिबेला विश्वका सबैभन्दा युवा नेता बुर्किना फासोका राष्ट्रप्रमुख इब्राहिम तराउरे हुन् जो ३६ वर्षका छन् । उनी इक्वेडरका राष्ट्रपति डेनियल नोबोभा र मान्टेनिगरोका प्रधानमन्त्री मिलोहाओ स्पाहितभन्दा केही महिना कान्छो छन् । यी दुवै विश्व नेताले पनि ४० वर्ष भने काटेका छैनन् । ४० वर्ष मुनिकै दुई अन्य विश्वनेतामा आयरल्याण्डका साइमन हेरि र चिलीका राष्ट्रपति गेबरियल बोरिच छन् ।

विश्वको सर्वाधिक वृद्ध नेतामा क्यामरुनका राष्ट्रपति पल बिया छन् । उनी ९० वर्षभन्दा बढी उमेरका छन् । प्यालेस्टिन प्रशासनका प्रमुख महमुद अब्बासको उमेर ८८ वर्ष छ । उनी सन् २००५ देखि पदमा छन् । साउदी अरबका राजा सलमानको उमेर पनि ८८ वर्ष भइसक्यो । इरानका धार्मिक नेता खमेनी ८४ वर्षका भइसके ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ७६ वर्षकी भइन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७३ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ७१ वर्षका भए । विश्वका १९ प्रतिशत नेता ७० वर्षभन्दा माथि उमेरका रहेको एक तथ्याङ्कले देखाएको छ । ४० देखि ५० वर्षभित्रका नेता भने १६ प्रतिशत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप