१५ पटकको च्याम्पियन उरुग्वेलाई लगातारको जितबाट उत्साही कोलम्बियाको हुङ्कार
(प्रारम्भिक चरणमा कोलम्बिया र उरुग्वे दुवै आ–आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । पछिल्लो फिफा वरीयतामा कोलम्बिया १२औँ र उरुग्वे १४औँ स्थानमा छन् । कोपा–अमेरिकामा भने कोलम्बियाभन्दा उरुग्वेको इतिहास गौरवशाली छ । यी दुई राष्ट्रबिच हालसम्म ४५ खेल खेलिएको छ । २० खेलमा उरुग्वे र १४ खेलमा कोलम्बिया विजयी भएका छन् ।)
- बिहीबारको खेल
- उरुग्वेविरुद्ध कोलम्बिया (बिहान ५ः४५ बजे)
काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करणमा बिहीबार दोस्रो सेमिफाइनल खेल खेलिँदैछ । दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले बलियो प्रतिद्वन्द्वी उरुग्वेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार, बिहीबार बिहान ५ः४५ बजे सुरु हुनेछ ।
लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिना भने यसअघि नै फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी क्यानडालाई २–० गोलले हराएको थियो ।
प्रारम्भिक चरणमा कोलम्बिया र उरुग्वे दुवै आ–आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । उरुग्वे समूह ‘सी’ को विजेता बनेको थियो । उरुग्वे समूहगत चरणमा आफूले खेलको तीनवटै खेलमा विजयी भएको थियो ।
उरुग्वेले आफ्नो पहिलो खेलमा पानामालाई ३–१ गोलले हराएको थियो । दोस्रो खेलमा उरुग्वेले बोलिभियालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेका थिए । तेस्रो खेलमा भने उरुग्वेले आयोजक राष्ट्र अमेरिकालाई १–० गोलले पाखा लगाएको थियो । समूहगत चरणमा उरुग्वेको टोलीले विपक्षीको पोस्टमा नौ गोल गरेको थियो भने केवल एक गोल खाएको थियो ।
कोलम्बिया भने समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्यो ।
कोलम्बियाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले हराएको थियो । कोलम्बियाले दोस्रो खेलमा कोस्टा रिकालाई ३–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा भने कोलम्बियाले बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको थियो । समूहगत चरणमा कोलम्बियाले ६ गोल गरेको थियो भने केवल दुई गोल खाएको थियो ।
यसैगरी प्रतियोगिताको क्वार्टरफाइनलमा उरुग्वेले बलियो प्रतिद्वन्द्वी ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । कोलम्बियाले भने क्वार्टरफाइनलमा पानामालाई ५–० गोलले पराजित गरेको थियो ।
विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो वरीयतामा भने उरुग्वेभन्दा कोलम्बिया केही माथि छ । वरीयतामा कोलम्बिया १२औँ र उरुग्वे १४औँ स्थानमा आसीन छन् । कोपा–अमेरिकामा भने कोलम्बियाभन्दा उरुग्वेको इतिहास गौरवशाली छ ।
उरुग्वे सबैभन्दा बढी कोपा अमेरिकाको उपाधि जित्ने राष्ट्र हो । उरुग्वेले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमेको छ । उरुग्वेका अतिरिक्त अर्जेन्टिनाले मात्र १५ पटक कोपा–अमेरिकाको उपाधि जित्न सकेको छ ।
सन् १९१६ मा सम्पन्न पहिलो संस्करणको उपाधि नै उरुग्वेले जितेको थियो । पछिल्लो पटक उरुग्वेले सन् २०११ मा कोपा–अमेरिकाको उपाधि हात पारेको थियो । उरुग्वे हालसम्म ६ पटक उपविजेता बनेको छ भने नौपटक तेस्रो र पाँचपटक चौथो भएको छ । कोपा–अमेरिकामा उरुग्वेको यो ४६औँ सहभागिता हो । उरुग्वे कोपा–अमेरिकाको सबैभन्दा बढी संस्करण खेल्ने राष्ट्र पनि हो ।
यसको विपरीत कोलम्बियाले हालसम्म एकपटक मात्र कोपा–अमेरिकाको उपाधि उचाल्न सकेको छ । कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेला घरेलु मैदानमा खेलिएको फाइनलमा कोलम्बियाले मेक्सिकोलाई १–० गोलले हराएको थियो ।
कोलम्बिया सन् १९७५ मा पनि फाइनलसम्म पुगेको थियो । यसका अतिरिक्त कोलम्बिया पाँचपटक तेस्रो र दुईपटक चौथो भएको थियो । कोपा–अमेरिकामा कोलम्बियाको यो २४औँ सहभागिता हो । कोलम्बियाले सन् १९४५ मा पहिलो पटक कोपा–अमेरिका खेलेको थियो ।
विश्व फुटबलमा पनि कोलम्बियाभन्दा प्रभावशाली राष्ट्र हो, उरुग्वे । उरुग्वेले हालसम्म दुईपटक विश्वकपको उपाधि पनि जितिसकेको छ । उरुग्वेले सन् १९३० र सन् १९५० मा विश्वकपको उपाधि उचालेको थियो । कोलम्बियाका लागि भने उरुग्वेले विश्वकपमा हासिल गरेको यो उपलब्धि अझै पनि आकाशकै फल बनेको छ ।
तर, विश्व फुटबलमा निकै गौरवशाली इतिहास बोकेको उरुग्वेको प्रदर्शन पछिल्लो समय भने केही खस्किएको छ । त्यसैले बिहीबार हुने सेमिफाइनल खेलमा उरुग्वेले एकपछि अर्को सफलताबाट हौसिएको कोलम्बियालाई कमजोर आँक्ने भुल पक्कै गर्नेछन् ।
अन्तर्राष्ट्रिय फुटबलमा उरुग्वे र कोलम्बिया एक–अर्काका निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म ४५ वटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये २० खेलमा उरुग्वेले कोलम्बियालाई हराएको छ । १४ खेलमा कोलम्बियाले उरुग्वेलाई पराजित गरेको छ । ११ खेल भने बराबरीमा सकिएको छ ।
सन् १९४५ को जनवरी २८ मा यी दुई राष्ट्रबिच पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेलिएको थियो । कोपा–अमेरिकाअन्तर्गत नै खेलिएको त्यो खेलमा उरुग्वेले कोलम्बियालाई ७–० गोलले हराएको थियो । यी दुई राष्ट्रबिच हालसम्म भएको सबैभन्दा ठुलो हार–जित यही हो ।
पछिल्लो पटक यी दुई टोली सन् २०२३ को अक्टोबर १२ मा आपसमा भिडेका थिए । त्यो खेल २–२ गोलको बराबरीमा सकिएको थियो । जारी कोपा–अमेरिकामा कोलम्बियाका जोन कोर्डोबा, लुइस डियाज र ड्यानियल मुनोजले दुई–दुई गोल गरेका छन् । उरुग्वेका लागि पनि म्याक्सिमिलियानो अराउजो र डार्विन नुनेजले दुई–दुई गोल गरेका छन् ।
जारी कोपा–अमेरिकामा उरुग्वेको टोली मार्सेलो बिएस्लाको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । उरुग्वेको टोलीमा लुइस स्वारेज (कप्तान), सर्जियो रोचेट (गोलरक्षक), जोसे मारिया जिमेन्ज, रोनाल्ड अराउजो, म्यानुएल युगार्ट, फेड्रिको भल्भेर्ड, डार्विन नुनेजलगायतका खेलाडी छन् ।
यसैगरी कोलम्बियाका प्रमुख प्रशिक्षक नेस्त्रो लोरेन्जो हुन् । कोलम्बियाको टोलीमा जेम्स रोड्रिग्वेज (कप्तान), डेभिड ओस्पिना (गोलरक्षक), कार्लोस क्वेस्टा, जोन लुकुमी, रिचर्ड रियोस, लुइस डियाज, मिगुएल बोर्जा, यारी मिना, जोन डुरान, जोन मोजिका लगायतका खेलाडी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशको सर्वोच्च अदालतले पूर्व प्रम जियालाई दियो सफाइ
-
रविका वकिलको दलिल : धरौटी माग्दा अन्याय हुन्छ, तारेखामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ
-
आशिका तामाङ पक्राउ
-
गाजामा युद्धविराम सम्झौताको मस्यौदालाई हमासले दियो मञ्जुरी
-
अहिलेको सन्दर्भमा समाजवादको सही बाटो कसरी पहिल्याउने ?
-
प्रधानमन्त्रीबाट कर्मक्युर होटेल उद्घाटन