बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
युरोकप फुटबलको दोस्रो सेमिफाइनल

समान चरित्र बोकेका दुई महारथी ‘अरेन्जी’ र ‘थ्री लायन्स’

बुधबार, २६ असार २०८१, १३ : ४४
बुधबार, २६ असार २०८१

(जारी युरोकपमा यी दुवै टोली लयमा छन् । १७औँ संस्करणमा दुवै टोलीको प्रदर्शनमा केही विविधता देखिन्छ । तर, अन्तर्राष्ट्रिय फुटबलमा भने यी दुई टोलीबिच धेरै समानता पाइन्छ । लाग्छ, दुवै टोलीको भाग्य एउटै कलमले लेखिएको हो । पाँचपटक सेमिफाइनलमा पुगेर पनि डच टोलीले विश्वकपको उपाधि उचाल्न सकेको छैन । अर्कोतिर, निकैअघि एकपटक विश्वकपको उपाधि चुमेको इङ्ल्यान्डले भने युरोकपको स्वाद चाख्न पाएको छैन ।) 

  • बिहीबारको खेल
  • इङ्ल्यान्डविरुद्ध नेदरल्यान्ड्स (बिहान ००ः४५ बजे)

काठमाडौँ । युरोकप फुटबलको १७ औँ संस्करणमा दोस्रो सेमिफाइनल खेल बिहीबार खेलिँदैछ । दोस्रो सेमिफाइनलमा विश्व फुटबलका दुई प्रभावशाली राष्ट्र नेदरल्यान्ड्स र इङ्ल्यान्डबिच भिडन्त हुनेछ । खेल नेपाली समय अनुसार बिहीबार बिहान ००ः४५ बजे सुरु हुनेछ । 

उक्त खेलसँगै जारी युरोकपको फाइनल समीकरण पनि पुरा हुनेछ । स्पेन यसअघि नै फाइनलमा पुगिसकेको छ । पहिलो सेमिफाइनल खेलमा स्पेनले बलियो प्रतिद्वन्द्वी फ्रान्समाथि २–१ गोलको रोमाञ्चक जित हासिल गरेको थियो । 

जारी युरोकपमा यी दुवै टोली लयमा छन् । १७औँ संस्करणमा यी दुई टोलीको प्रदर्शनमा केही विविधता देखिन्छ । तर, अन्तर्राष्ट्रिय फुटबलमा भने यी दुई राष्ट्रबिच धेरै विषयमा समानता पाइन्छ । जारी युरोकपमा समूहगत चरणको प्रदर्शनले डच टोलीभन्दा इङ्ल्यान्डलाई केही बलियो देखाउँछ । 

विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो वरीयतामा भने ‘दी थ्री लायन्स’ र ‘अरेन्जी’बिच खासै ठुलो अन्तर देखिँदैन । पछिल्लो फिफा वरीयतामा इङ्ल्यान्ड पाँचौँ स्थानमा छ । डच टोली भने वरीयताको सातौँ स्थानमा आसिन छ । 

  • सेमिफाइनल यात्रा

इङ्ल्यान्ड समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । जारी युरोकपमा इङ्ल्यान्ड हालसम्म अपराजित छ । इङ्ल्यान्डले समूहगत चरणको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । 

इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा सर्बियालाई १–० गोलले हराएको थियो । इङ्ल्यान्डको टोली दोस्रो खेलमा डेनमार्कसँग १–१ र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको थियो । इङ्ल्यान्डले समूहगत चरणमा दुई गोल गरेको थियो भने एक गोल खाएको थियो ।

skynews-england-euro-win_6620056

अर्कोतिर, समूह ‘डी’ मा रहेको नेदरल्यान्ड्सले बल्लतल्ल प्रतियोगिताको नकआउट चरणमा प्रवेश पाएको हो । ‘अरेन्जी’ आफ्नो समूहमा तेस्रो भएको थियो । नेदरल्यान्ड्सले तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । 

नेदरल्यान्ड्सले पहिलो खेलमा पोल्यान्डलाई २–१ गोलले हराएको थियो । डच टोली दोस्रो खेलमा भने बलियो फ्रान्ससँग गोलरहित बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा नेदरल्यान्ड्सलाई अस्ट्रियाले २–३ गोलले पराजयको स्वाद चखाएको थियो ।

डच टोलीले समूहगत चरणमा चार गोल गर्‍यो भने चार गोल नै खाएको थियो । चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेपछि नेदरल्यान्ड्स तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । 

vqq2jg3g_team-netherlands-afp_625x300_24_June_24

प्रतियोगिताको प्रि–क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई अतिरिक्त समयमा २–१ गोलले पाखा लगाएको थियो । त्यसपछि क्वार्टरफाइनल खेलमा ‘दी थ्री लायन्स’ ले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गरेको थियो । निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । 

नेदरल्यान्ड्सले भने प्रि–क्वार्टरफाइनल खेलमा रोमानियामाथि ३–० गोलको जित हात पारेको थियो । क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले टर्कीमाथि २–१ गोलको जित हासिल गरेको थियो । समग्रमा समूहगत चरणको तुलनामा नकआउट चरणका खेलमा डच टोलीको प्रदर्शनमा केही निखार देखिन्छ ।

  • युरोकपमा उपलब्धि

युरोकप फुटबलमा इङ्ल्यान्डको यो ११औँ सहभागिता हो । इङ्ल्यान्डले सन् १९६८ मा सम्पन्न तेस्रो संस्करणदेखि युरोकपमा सहभागिता जनाउन थालेको हो । पहिलो सहभागितामा इङ्ल्यान्ड तेस्रो भएको थियो । त्यतिबेला तेस्रो स्थानका लागि पनि भिडन्त गराइन्थ्यो । 

त्यतिबेला तेस्रो स्थानमा लागि भएको खेलमा इङ्ल्यान्डले तात्कालिन सोभियत सँघलाई २–० गोलले हराएको थियो । इङ्ल्यान्डले हालसम्म युरोकपको उपाधि भने जित्न सकेको छैन । इङ्ल्यान्ड युरोकपको साविक उप–विजेता पनि हो । इङ्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो । 

6689b0e97742d.image

यसैगरी, युरोकपमा नेदरल्यान्ड्सको पनि यो ११औँ सहभागिता हो । नेदरल्यान्ड्सले सन् १९७६ मा पहिलोपटक युरोकप खेलेको थियो । युरोकपमा नेदरल्यान्ड्सको प्रदर्शन अब्बल रहँदै आएको छ । तर, नेदरल्यान्ड्स ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता भने सधैँ अन्तिम समयमा आएर चुक्ने गरेको छ । 

युरोकपमा पनि नेदरल्यान्ड्सले हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ । सन् १९८८ मा नेदरल्यान्ड्सले युरोकपको उपाधि जितेको थियो । त्यतिबेला नेदरल्यान्ड्सले फाइनलमा तात्कालिन सोभियत संघलाई २–० गोलले हराएको थियो । त्यसदेखि वाहेक नेदरल्यान्ड्स कहिल्यै युरोकपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।

  • विश्वकपमा सधैँ अभागी

विश्व फुटबलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्स दुवैले निकै लामो इतिहास बोकेका छन् । तर, ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा भने यी दुवै टोली सधैँ अभागी साबित हुँदै आएका छन् । युरोकपमा डच टोलीले एकपटक उपाधि जिते पनि इङ्ल्यान्डले त्यो सफलता हात पार्न सकेको छैन ।

यसको विपरीत, विश्वकप फुटबलमा निकैअघि इङ्ल्यान्डले एकपटक उपाधि चुमे पनि नेदरल्यान्ड्सले हालसम्म त्यो उपलब्धि प्राप्त गर्न सकेको छैन । इङ्ल्यान्डको टोलीले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । 

त्यतिबेला इङ्ल्यान्डले फाइनलमा तत्कालीन पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४–२ गोलले हराएको थियो । त्यसदेखि बाहेक इङ्ल्यान्ड कहिल्यै विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन । सन् १९९० र सन् २०१८ मा भने इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । 

GettyImages-2160997214-1720441119

नेदरल्यान्ड्सले भने तीनपटक फाइनलमा पुगेर पनि विश्वकपको उपाधि चुम्न सकेको छैन । सन् १९७४ को विश्वकपको फाइनलमा नेदरल्यान्ड्सको टोली तात्कालिन पश्चिम जर्मनीसँग १–२ गोलले पराजित भएको थियो ।

त्यसलगत्तै सन् १९७८ को विश्वकपमा पनि डच टोली फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा ३–१ गोलले पराजित गरेको थियो । सन् २०१० मा पनि ‘अरेन्जी’ विश्वकपको फाइनलमा पुगेको थियो । 

त्यो विश्वकपको फाइनलमा नेदरल्यान्ड्सको टोलीलाई स्पेनले अतिरिक्त समयमा ०–१ गोलले हराएको थियो । यसका अतिरिक्त थप दुईपटक नेदरल्यान्ड्स विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । डच टोली सन् १९९८ मा चौथो र सन् २०१४ मा तेस्रो भएको थियो ।

  • छनोट चरणमा प्रदर्शन

जारी युरोकपको छनोट चरणमा पनि यी दुवै टोलीको प्रदर्शन निकै अब्बल रहेको थियो । छनोट चरणमा इङ्ल्यान्डको प्रदर्शन झनै उत्कृष्ट थियो । इङ्ल्यान्ड छनोट प्रतियोगितामा अपराजित रहँदै आफ्नो समूहको विजेता बनेर युरोकपमा पुगेको हो । 

छनोट चरणमा इङ्ल्यान्डले आफूले खेलेको आठमध्ये ६ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । इङ्ल्यान्डको टोलीले छनोट प्रतियोगितामा कुल २२ गोल गरेको थियो भने केवल चार गोल खाएको थियो ।

यसैगरी छनोट प्रतियोगितामा नेदरल्यान्ड्स आफ्नो समूहको उप–विजेता बनेको थियो । नेदरल्यान्ड्सले छनोट प्रतियोगितामा खेलेका आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो । नेदरल्यान्ड्सले विपक्षीको पोस्टमा १७ गोल गरेको थियो भने सात गोल खाएको थियो ।

SEI_211837734

  • आपसमा २३औँ भिडन्त

अन्तर्राष्ट्रिय फुटबलमा नेदरल्यान्ड्स र इङ्ल्यान्डले हालसम्म आपसमा कुल २२ खेल खेलेका छन् । यो तथ्याङ्कले पनि यी दुवै टोलीको स्तरलाई समान हैसियतको देखाउँछ । इङ्ल्यान्डले हालसम्म ६ खेलमा नेदरल्यान्ड्सलाई हराएको छ । नेदरल्यान्ड्सले सात खेलमा इङ्ल्यान्डलाई पराजित गरेको छ । नौ खेल भने बराबरीमा सकिएको छ । 

सन् १९३५ को मे १८ तारिखमा यी दुई राष्ट्रबिच पहिलो पटक भिडन्त भएको थियो । त्यो खेलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १–० गोलले हराएको थियो । सन् २०१९ को जुन ६ मा यी दुई टोलीबिच अन्तिम पटक भिडन्त भएको थियो । त्यो खेलमा नेदरल्यान्ड्सले इङ्ल्यान्डलाई ३–१ गोलले पराजित गरेको थियो । बिहीबार बिहान यी दुई राष्ट्र २३औँ पटक आपसमा भिड्न लागेका हुन् ।  

  • भान डाइकविरुद्ध ह्यारी केन

जारी युरोकपमा रोनाल्ड कुमन नेदरल्यान्ड्सका प्रमुख प्रशिक्षक हुन् । डच टोलीमा लिभरपुलका भर्जिल भान डाइक (कप्तान), ब्राइटनका बार्ट भरब्रुगेन (गोलरक्षक), बायर्न म्युनिखका म्याथिज डि लिट, म्यानचेस्टर सिटीका नाथन अके, लिभरपुलका कोडी गाक्पो, बोरुसिया डर्टमन्डका डोनिल मालेन लगायतका खेलाडी छन् । 

यसैगरी, इङ्ल्यान्डको टोली गारेथ साउथगेटको प्रमुख प्रशिक्षकत्वमा छ । टोलीमा एभर्टनका जोर्डन पिकफोर्ड (गोलरक्षक), म्यानचेस्टर सिटीका कायल वाल्कर, जोन स्टोन्स र फिल फोडेन, म्यानचेस्टर युनाइटेका लुक स, आर्सनलका बुकायो साका, लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड, बायर्न म्युनिखका ह्यारी केन (कप्तान), रियल म्याड्रिडका जुड बेलिङ्ह्याम लगायतका खेलाडी छन् ।  

जारी युरोकपमा डच टोलीका लागि कोडी गाक्पोले तीन गोल गरिसकेका छन् । डोनिल मालेनले पनि दुई गोल गरेका छन् । इङ्ल्यान्डका लागि भने हालसम्म जुड बेलिङ्ह्याम र ह्यारी केनले दुई–दुई गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप