शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

मोदीको रुस भ्रमणबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले के–के भने ?

बुधबार, २६ असार २०८१, १३ : ४३
बुधबार, २६ असार २०८१

नयाँ दिल्ली ।  यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रियाको भ्रमणमा छन् । रुसको भ्रमण सक्काएर उनी त्यता गएका हुन् । उनको रुस भ्रमणले विश्व राजनीतिलाई तरङ्गित बनाएको छ । 

कसैले यो भ्रमण अमेरिकाका लागि चिन्ताजनक भनेका छन् भने कसैले अर्कै कुरा गरिरहेका छन् । मोदीको मस्को भ्रमणलाई लिएर विदेशी सञ्चारमाध्यमहरूले अनेकौँ टीकाटिप्पणी गरेका छन् ।

गत महिना लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएपछि मोदीको यो पहिलो द्विपक्षीय भ्रमण हो । मोदीले आफ्नो पहिलो विदेश भ्रमणका लागि भारतका रुस र अस्ट्रियालाई रोजेका छन् । विदेश नीतिको प्राथमिकताका आधारमा यी देशलाई महत्त्व दिइएको हो ।

मोदी र पुटिनको भेटको तस्बिरको चिनियाँ सञ्चार माध्यमले उडाए खिल्ली

चिनियाँ सञ्चारमाध्यमले मोदीको रुसको भ्रमणमाथि लगातार नजर राखेका थिए । मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अंकमाल गरेको तस्बिरमाथि यिनीहरूले प्रश्न उठाएका छन् । शक्ति कूटनीतिको खेलमा शब्दभन्दा धेरै शारीरिक हाउभाउले बोल्छ भनेर साउथ चाइना मर्निङ पोस्टले एक रिपोर्टमा भनेको छ ।

मोदी न्यानोपन र आलिंगनको कूटनीतिका लागि प्रसिद्ध छन् । विदेश भ्रमणमा शीर्ष नेतासँगको भेटघाटमा मोदी अंकमाल गर्छन् ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिन भने हात मिलाएरै अभिवादन गर्छन् । सायद यही कारणले गर्दा मोदीको पुटिनसँगको भेटका  तस्बिर अन्तर्राष्ट्रिय हेडलाइनमा आएका हुन सक्ने रिपोर्टमा भनिएको छ । यसले युक्रेन विरुद्ध पुटिनको आक्रामक नीतिलाई सक्षम बनाउन बेइजिङ र नयाँ दिल्लीको भूमिकाको जाँच गर्न वासिङ्टन र उसका सहयोगीहरूलाई उत्प्रेरित गर्ने पनि बताइएको छ ।

नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकामा युक्रेनलाई युद्ध जित्न कसरी मद्दत गर्ने भन्ने विषयमा छलफल भइरहेको समयमा मोदी मस्कोमा थिए । यस्तो अवस्थामा भारतीय प्रधानमन्त्रीको उपस्थिति पक्कै पनि पुटिनका लागि ठूलो हौसला हो । यसले ह्वाइट हाउसको बढ्दो दबाबलाई बेवास्ता गर्दै मोदीको भारतले अमेरिका र रुसबीच कुनै एकको पक्ष लिएको छैन भन्ने देखाएको पनि समाचारमा भनिएको छ ।

अमेरिकाको निरन्तर प्रयास असफल: ग्लोबल टाइम्स

चीनको अर्को एउटा मिडिया रिपोर्टमा मोदीको भ्रमणलाई अमेरिकाको लागि निराशाजनक कदमको रूपमा वर्णन गरिएको छ । रुस र भारतबिचको घनिष्ठ सम्बन्धको अर्थ युक्रेन सङ्कट सुरु भएदेखि नै रुसलाई रोक्ने र एक्लो पार्ने अमेरिकाको निरन्तर प्रयास असफल भएको ग्लोबल टाइम्सको एक रिपोर्टमा विश्लेषकहरूले भनेका छन् । तर, भारतको सन्तुलित कूटनीति आफ्नो स्वार्थ अनुरूप मात्रै नभएको, बरु विश्वव्यापी रणनीतिक सन्तुलनमा पनि योगदान पुर्‍याउने खालको भएको र यसले लामो समयदेखि अमेरिकी नेतृत्वलाई चुनौती दिइरहेको रिपोर्टमा भनिएको छ । मोदीको रुस भ्रमणले प्रमुख शक्तिहरूबिचको विदेश नीति सन्तुलन देखाएको चाइना फरेन अफेयर्स युनिभर्सिटीका प्रोफेसर ली हाइडोङले ग्लोबल टाइम्सलाई बताएका छन् ।

भारतले मस्कोसँग राम्रो सम्बन्ध बनायो: अमेरिकी मिडिया

अमेरिकी मिडिया रिपोर्टमा मोदीको मस्को भ्रमणलाई नेटो देशहरूको बैठकको विरुद्धमा वर्णन गरिएको छ । सोमबार नेटो शिखर सम्मेलनको ७५ औँ वार्षिकोत्सव थियो । सो सम्मेलनका लागि ३८ विभिन्न देशका नेता वासिङ्टनमा भेला भएका थिए । त्यतिबेला युक्रेनलाई समर्थन गर्नेबारे निरन्तर छलफल भएको थियो ।

युक्रेनी मामिलामा रुसबारे स्पष्ट धारणा राख्न पश्चिमी देशहरूले भारतमाथि दबाब दिँदै आएका छन् । पश्चिमी सरकारहरू भारतसमेत विश्वका अन्य धेरै सरकारहरूलाई युक्रेनी युद्ध विरुद्ध पुटिनबारे सार्वजनिक अडान लिन असफल भएको न्युयोर्क टाइम्सको एक मिडिया रिपोर्टमा भनिएको छ । युक्रेनी आक्रमणको आक्रामकताको निन्दा गर्न मोदीले सकेसम्म आलटाल गर्ने गरेका छन् । शान्तिको लागि पनि सामान्य मात्रै आह्वान गर्ने गरेका छन् । भारतले मस्कोसँग न्यानो सम्बन्ध कायम राखेको छ । यो शीतयुद्धका दिनहरूदेखि नै कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप