शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
कर छलीको आशङ्का

राजस्वले भन्सार विभागसँग माग्यो ईभी आयातको सम्पूर्ण विवरण

बुधबार, २६ असार २०८१, ११ : ५४
बुधबार, २६ असार २०८१

काठमाडौँ । राजस्व अनुसन्धान विभागले विद्युतीय सवारी साधन (ईभी)को आयातसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको छ । आयात–निर्यातसँग सम्बन्धित निकाय भन्सार विभागलाई पत्र लेख्दै विद्युतीय सवारी आयातकर्ताले आयातका क्रममा बुझाएको सम्पूर्ण विवरण उपलब्ध गराउन भनेको हो ।

विद्युतीय सवारी साधनले कर छली गरेर राज्यलाई अर्बौं रुपैयाँको हानि नोक्सानी गराएको आरोप छ । भन्सार विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको आशङ्का गर्दै तातोपानी र रसुवा भन्सार कार्यालयलाई पत्र लेखेको थियो । त्यसपछि विद्युतीय सवारीले भन्सार छली गरेको आरोपमाथि अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ ।

राजस्व अनुसन्धान विभागले एक महिना यता विद्युतीय सवारी साधनले कर छली गरे–नगरेको विषयमा छानबिन गर्दै आएको छ । विभागसँग कुनै पनि विषयमाथि ६ महिनासम्ममा छानबिन गर्न सक्ने अधिकार छ ।

‘यतिबेला हामीले छानबिन गरिरहेका छौँ । एउटा कम्पनीबाट कागजपत्र लिएका छौँ र आवश्यकताअनुसार थप कागज पनि मगाइरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक कर्मचारीले भने । सम्बन्धित कम्पनीबाट आएको कागजात हेरेपछि भन्सार विभागसँग थप कागजात माग गरिएको छ ।

राजस्व अनुसन्धान विभागले भन्सार विभागलाई लेखेको पत्रमा आयातीत विद्युतीय सवारी साधन उत्पादन भएको मुलुक, भन्सार जाँचपास भएको मूल्य, कर तिरेको मूल्य र मोटर पिक पावर र क्षमता खुलाइदिन भनिएको छ । यस्तै कुन ब्राण्डको कति विद्युतीय सवारी साधन आएको भन्ने तथ्यसमेत राख्न राजस्वले भन्सारलाई लेखेको पत्रमा उल्लेख छ ।

‘हामीले भन्सार विभागलाई लेखेको पत्रको जवाफ आइसकेको छैन । भन्सार विभागले हाम्रो माग बमोजिमको विवरण तयार गर्दै छ,’ ती कर्मचारीले भने, ‘अबको दुई–चार दिनमा भन्सारबाट सम्पूर्ण विवरण आउँछ ।’

राजस्व विभागले निरन्तर भन्सार विभागसँग समन्वय गरिरहेको र राजस्वको मागबमोजिम कागजात आएपछि थप अनुसन्धान अघि बढ्ने ती कर्मचारीले बताए ।

नेपालमा विद्युतीय सवारी साधनको आयात गर्दा आयातकर्ताले मोटर पिक पावर र क्षमता घटाएको शङ्का सरकारी निकायको छ । अर्थमन्त्रालयले नै विद्युतीय सवारी साधनको मोटर क्षमता घटाउँदै सरकारलाई जिल्याएर विद्युतीय सवारीको आयात भइरहेको निष्कर्ष निकालेको थियो । सो निष्कर्ष बमोजिम भन्सार विभागले जेठ पहिलो सातामा नै दुई भन्सार कार्यालय र भन्सार जाँचपास परीक्षण कार्यालयलाई पत्र लेखेको थियो ।

भन्सार विभागको सो पत्रमा उत्तरी नाकाबाट आउने चिनियाँ सवारीको आयातमा कर छली हुन सक्ने आकलन गरिएको थियो । सोही बमोजिम राजस्व अनुसन्धान विभागले सबैभन्दा ठुलो विद्युतीय सवारी आयातकर्ता र बिक्री गर्ने कम्पनी साइमेक्स इंकको कार्यालयबाट कागजपत्र उठाएर ल्याएको थियो । यस्तै आवश्यकताअनुसारको थप कागजपत्र समेत मगाइरहेको छ ।

साइमेक्स इंकले दिएको भन्सार जाँचपाससँग सम्बन्धित विषयलाई भन्सार विभागबाट झिकाइने कागजपत्रसँग जुधाएर हेर्ने राजस्व अनुसन्धान विभागको तयारी छ । यसका लागि आवश्यकता बमोजिम विज्ञ ल्याउनेसम्मको तयारी अनुसन्धान विभागको छ ।

अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले ईभी कम्पनीहरूमाथि कर छली गरेको आरोप लागेपछि विभागले अनुसन्धान अघि बढाएको रातोपाटीलाई बताए ।

‘हामीले अनुसन्धान अघि बढाएका हौँ । अहिले अनुसन्धानकै क्रममा छौँ,’ महानिर्देशक बुढाले भने, ‘अनुसन्धान सकिएपछि मात्रै यसबारे थप जानकारी दिन मिल्छ ।’

ईभीमा कर छली गरेको विषयलाई गम्भीर रूपमा लिएर गहन अनुसन्धानमा विभागको विशेष टोली खटिएको छ ।
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप