शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुत्केरी हुन अस्पताल आएकी मनिषाको मृत्यु हुनुअघिको हारगुहारः बरु छोरा चाहिँदैन, मलाई बचाइदेऊ

शुक्रबार, २१ वैशाख २०७५, १६ : ५९
शुक्रबार, २१ वैशाख २०७५

–दीपेन्द्र शर्मा 
सुर्खेत– सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ ।  कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो । 

उनी सामान्य अवस्थामा सुत्केरी गराउनाका लागि बिहीबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् । राति १२ बजेसम्म पनि डाक्टर नआएकाले अस्पतालकै लापर्वाहीका कारण मृत्यु भएको मनिषाका श्रीमान् जगत सिंहले बताए । बिहानै अस्पताल भर्ना गरे पनि डाक्टरले कुनै वास्ता नगरेको सिंहको आरोप छ । 

छिटो सुत्केरी गराउन नर्सले सूई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्यु भएको सिंहले बताए । “बिरामीले बरु छोरा चाहिँदैन तर मलाई बचाइदेऊ भन्दा पनि अस्पतालले बेवास्ता गरेको, समयमा शल्यक्रिया नगरेको, नाक मुखबाट रगत बगेको अवस्थामा गर्भवतीको मृत्यु भएको छ,” उनले भने । उनका अनुसार अहिलेसम्म मृतक बच्चा मृतक सिंहको पेटभित्र नै रहेको छ । 

सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी बगेको भनी हात हालेर पानी पोका फुटालेर भर्ना गरेको श्रीमान्को आरोप छ । अस्पतालमा दिनभरि मनिषाले आफूलाई बचाइदिन भन्दै हारगुहार गर्दा राति १ बजेसम्म पनि डाक्टर उपचारका लागि नआएको उनको भनाइ छ । 

अस्पतालले लापर्वाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।  उपचारमा लापर्वाही गर्नेलाई कडाभन्दा कडा कारवाही तथा मृतकका छोरा र छोरीको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ । 

फोक्सोमा पानी जम्दा गर्भवतीेको मृत्युः अस्पताल 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.डम्बर खड्काले फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताएका छन् ।  गर्भवतीको उपचारमा अस्पतालबाट कुनै लापर्वाही नभएको डा.खड्काको भनाइ छ । उनले मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार अस्पतालका कारण नभई पानी पोका आफैँ फुटेर फोक्सोमा पानी गएकाले मनिषाको मृत्यु भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप