स्वास्थ्य चौकी उद्घाटनका लागि नेता बोक्न ५ वटा हेलिकप्टर रिजर्भ, १० लाख स्वाहा !
विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पाङ्बोचे स्वास्थ्य चौकी उद्घाटन गर्दा विशिष्ट व्यक्तिहरू चढेको हेलिकप्टरको भाडा १० लाख २५ हजार तिरेको पाइएको छ ।
‘पालिकाले पाङ्गबोचे स्वास्थ्य चौकी उद्घाटन गर्न विशिष्ट व्यक्तिहरू चढेको भनी ५ वटा हेली रिजर्भ गरी १० लाख २५ हजार हेली भाडा खर्च लेखेको पाइयो,’ महालेखा परीक्षकको कार्यालयले दिएको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण रिपोर्टमा उल्लेख छ ।
सो पालिकाले विभिन्न दिवस मनाउने कार्यक्रममा खाना, खाजा, ब्यानर लगायतमा मात्रै ९ लाख ७२ हजार ३२० रुपैयाँ खर्च गरेको छ ।
पालिकाका विभिन्न वडाले के कुन कार्यक्रममा, सहभागी सङ्ख्या, प्रयोजनसमेत नखुलाई विभिन्न होटल तथा रेस्टुराँको बिल भर्पाई संलग्न गरी खाना, खाजा लगायत देखाएर विविध शीर्षकमा १३ लाख ३८ हजार ९९० रुपैयाँ खर्च गरेको छ । पालिकाले विभिन्न हाइड्रो पावर कम्पनीहरूलाई समेत मेसिन खरिद गरेर अनुदानस्वरुप हस्तान्तरण गरेको छ । जसमा बोमखोला मिनी हाइड्रोपावरका लागि ९ लाख ९४ हजार ४ सयको मेसिन खरिद गरेको, पाङ्गोम लघु जलविद्युत मर्मतका लागि ५ लाख रुपैयाँ दिएको र बोमखोला मिनी हाइड्रो प्रोजेक्टलाई विद्युत् केबल खरिदका लागि ५ लाख २१ हजार ५९८ रुपैयाँ खर्च गरेको छ ।
यस्तै पालिकाले गाउँसभा सम्पन्न गर्नका लागि भत्ता वितरण बाहेक खाना, खाजा, चिया, नास्ता, ब्याग, रेनकोट खरिद लगायतको भुक्तानीका लागिमात्रै १६ लाख ४८ हजार ३५० खर्च लेखेको छ ।
गाउँपालिकाले सीसीटीभी खरिद तथा जडान नै नगरी सोही शीर्षकमा सीसीटीभी स्टेशन एण्ड स्मार्ट होमलाई ९ लाख ९३ हजार २०२ रुपैयाँ, आलु चिप्स मेसिन खरिदका लागि चेन्ज इन नेपाल प्रालिलाई ४ लाख ५३ हजार ३८६ रुपैयाँ भुक्तानी दिए पनि मेसिन हस्तान्तरण नभएको महालेखाले औँल्याएको छ ।
यस्तै पालिकाले पर्यटन सूचना केन्द्रमा पर्यटनको सूचना व्यवस्थापन गर्न ट्रेक कार्ड सफ्टवेयरको निर्माण र आवश्यक विद्युतीय उपकरण खरिदमा ४३ लाख ४ हजार १८३ रुपैयाँ खर्च लेखेको छ । उक्त खरिद प्रक्रिया अपारदर्शी रहेको महालेखाले जनाएको छ ।
‘पालिकाले ट्रेक कार्ड सफ्टवेयर निर्माण सम्बन्धी विभिन्न कार्यको एकमुष्ट लागत अनुमान तयार गरी नियमावली बमोजिमको खरिद विधि छनौट गर्नुपर्नेमा पालिकाले सफ्टवेयर निर्माण, मेसिन उपकरण खरिद र टे«क कार्ड चिप तथा कार्ड खरिदको छुट्टाछुट्टै लागत अनुमान तयार गरी सोझै खरिद प्रक्रिया मार्फत खरिद गरेको पाइयो,’ महालेखाले भनेको छ, ‘यो नियमावलीमा भएको व्यवस्था विपरीत गरेको खरिद कार्य नियमसम्मत देखिएन ।’
पालिकाले खरिद गरेको कार्ड जिन्सी शाखामा दाखिला पनि नगरेको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको कार्यालयले उक्त पालिकाको बेरुजु रकम ३ करोड १० लाख ६७ हजार देखाएको छ । जसमा असुल गर्नुपर्ने ७५ लाख ९८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ७३ लाख ४७ हजार, नियमित गर्नुपर्ने १ करोड ४८ लाख ४२ हजार र पेस्की १२ लाख ८० हजार रुपैयाँ छ ।
उक्त पालिकाको यसअघिको बेरुजु रकम २१ करोड १३ लाख ६१ हजार थियो । थप भएको बेरुजु रकमसँगै अद्यावधिक बेरुजु २४ करोड ११ लाख ५९ हजार पुगेको महालेखाले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकामा ५ वटा वडा छन् भने यहाँको जनसङ्ख्या ९ हजार २१७ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिंसाको न्यूनीकरण र महिलाको सशक्तीकरण
-
एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन, तस्बिरहरु
-
तीन तहका सरकारबिच समन्वयको अभाव छ : मन्त्री खड्का
-
पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालियो, तस्बिरमा हेर्नुहोस्
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा