आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
सुरक्षा चुनौती

जमल दुर्घटनाले देखाएको अफलाइन राइडको खतरा

अफलाइन हिँड्दा सुरक्षा चुनौती बढ्यो : प्रहरी
बुधबार, २६ असार २०८१, ०६ : ४९
बुधबार, २६ असार २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ जमल स्थित यल्लो प्यागोडा होटल नजिकै असार १५ मा मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परेर गोरखा सिरानचौर घर भएर ललितपुर बस्ने ३५ वर्षीया अनु गुरुङले ज्यान गुमाइन् । 

दुर्घटनामा सख्त घाइते अनुको उपचारको क्रममा १८ असारमा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । गोङ्गबुबाट हात्तिवन जाँदै गरेका अनुसहित उनका अरू दुईजना साथीहरू अफलाइन राइडिङमा सवार थिए । 

अनु चढेको मोटरसाइकल जुम्ला घर भएका तेज रावलले चलाएका थिए । रावलको मोटरसाइकल ढलेपछि पछाडिबाट तीव्र गतिमा आएका जुम्लाकै पदम धितालले ठक्कर दिए । अनु गम्भीर घाइते भइन् ।

जुम्लाका रावल, धिताल र सुरेश अधिकारीको मोटरसाइकलमा चढेका थिए अनु र उनका दुई साथीहरू । उनीहरू हुन्, मनिता चौधरी र विनिशा गुरुङ । आफन्तले पठाएको ल्यापटप रिसिभ गरेर डेरामा फर्किँदा उनीहरू अफलाइन राइडमा सँगै फर्किन लागेका थिए । पदम धितालले चलाएको मोटरसाइकलमा मनिता सवार थिइन् ।

दुर्घटना भएपछि तीनैजना राइडर फरार भए । तेज रावल र सुरेश अधिकारीको मोटरसाइकल पठाओमा आबद्ध छ । तर, पदम धितालको मोटरसाइकल कुनै पनि राइड सेयरिङ प्लेटफर्ममा आबद्ध छैन । धितालसँग सवारी चालक अनुमति पत्र पनि छैन ।

दुर्घटनामा राइडर रावल पनि घाइते भएका थिए । उनलाई सुरेश अधिकारीले टिचिङमा लगेर उपचार गराए । उपचार गर्न जाँदा नाम र मोबाइल नम्बर फरक इन्ट्री गरेको एसपी अधिकारीले जानकारी दिए । असार २१ मा उनीहरूलाई गोङ्गबुबाट पक्राउ गरेर प्रहरीले सवारी ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

राइड सेयरिङमा सवार यात्रु यसअघि पनि बारम्बार दुर्घटनामा परिरहेका छन् । २१ पुस २०७९ मा कलाकार सन्ध्या खड्का सड्क दुर्घटनामा परिन् । उनी सवार पठाओ बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोक्किँदा दुर्घटना भएको थियो । 

अफलाइन हिँड्दा सुरक्षा चुनौती

अफलाइन राइड सेयरिङमा हिँड्दा सुरक्षा चुनौती देखिएको एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘अफलाइनमा हुँदा राइडर र यात्रुको सुरक्षा खतरा हुन्छ, उनीहरू लुटपाट र कुटपिटलगायत अपराधको जोखिममा पर्न सक्छन् ।’

अफलाइन राइडिङमा यात्रुको बीमा गरिएको हुँदैन । त्यस्तोमा जोखिम स्वाभाविक धेरै हुन्छ । अफलाइन राइडिङमा यात्रुको बीमा नगरेको हुनाले त्यस्तो दुर्घटना आफ्नो जिम्मेवारीमा नपर्ने पठाओका नेपाल प्रमुख असिममान बस्नेतले बताए । उनले भने, ‘अफलाइनमा के हुन्छ त्यसमा हाम्रो जिम्मेवारी हुँदैन ।’

चार पाङ्ग्रेको तुलनामा दुई पाङ्ग्रे सवारी सवारी साधन धेरै दुर्घटना हुने गरेको छ । अझ अफलाइनमा हिँड्दा जोखिम झन् बढ्ने पूर्व प्रहरी इन्स्पेक्टर सीताराम हाछेथुले बताए । उपत्यकाको ट्राफिक व्यवस्थापनमा लामो अनुभव भएका हाछेथु भन्छन्, ‘दुईपाङ्ग्रे विश्वमै असुरक्षित साधन हो, त्यस्तो सवारीको चालक अनुमति पत्र दिँदा नै कडाइ गर्नुपर्छ ।’

अफलाइनमा चल्ने राइडरलाई राइड सेयरिङ प्लेटफर्म कम्पनीले कारबाही गर्न नमिल्ने बस्नेतको भनाई छ । उनले भने, ‘यातायात व्यवस्था कार्यालय बागमतीले अफलाइन राइडरलाई कारबाहीको दायरामा ल्याउन ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ । तर, राइडर हाम्रो कर्मचारी नभएको हुनाले हामीले चाहिँ कारबाही गर्न मिल्दैन ।’

३० कार्तिक २०७८ मा कलङ्की खसी बजारमा पठाओ दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । त्यसबेला पठाओ राइडर ३५ वर्षीय रामबहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादव कुमार शाहले ज्यान गुमाएका हुन् । पठाओ राइडर र यात्रुले ज्यान गुमाएको त्यो पहिलो घटना थियो ।

चार पाङ्ग्रेको तुलनामा दुई पाङ्ग्रे सवारीसाधन धेरै दुर्घटना हुने गरेको छ । अझ अफलाइनमा हिँड्दा जोखिम झन् बढ्ने पूर्व प्रहरी इन्स्पेक्टर सीताराम हाछेथुले बताए । उपत्यकाको ट्राफिक व्यवस्थापनमा लामो अनुभव भएका हाछेथु भन्छन्, ‘दुईपाङ्ग्रे विश्वमै असुरक्षित साधन हो, त्यस्तो सवारीको चालक अनुमति पत्र दिँदा नै कडाइ गर्नुपर्छ ।’

नेपालमा सडकको खराब अवस्थाको कारण पनि धेरै दुर्घटना हुने गरेको हाछेथुले बताए । राइड सेयरिङ प्लेटफर्ममा आबद्ध हुन चालक अनुमति पत्र लिएको दुई वर्ष पुरा हुनुपर्ने नियम बनाउनुपर्ने हाछेथुको भनाइ छ । उनले भने–‘राइड सेयरिङ प्लेटफर्मले मोटरसाइकलको अवस्था पनि परीक्षण गरेर मात्र आबद्धता दिनुपर्छ ।’

राइड सेयरिङको दुरुपयोग बढ्दै

फर्जी कागजात बनाउने गिरोहले अर्डर भएका कागजात राइड सेयरिङमाार्फत डेलिभरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । कार्तिक २०८० मा प्रहरीले फर्जी कागजात बनाउनेहरूलाई पक्राउ गरेको थियो । पठाओ राइडरमार्फत अनुसन्धान गर्दा प्रहरी दीपक केसीले सञ्चालन गरेको फर्जी कागजात कारखानासम्म पुगेको थियो ।

ठगीमा संलग्न गिरोहले पठाओ राइडरको नागरिकता दुरुपयोग गरेको पनि भेटिएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका राजन श्रेष्ठ र झापा गौरादहका ईश्वरी पाण्डेले राइडर नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरेर ३ करोड ३७ लाख ठगेका हुन् ।

२०७८ माघमा कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर दुईजना युवाले ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर लुटपाट गरे । राइडर प्रवीण राईको हातखुट्टा बाँधेर उनीहरू बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल लुटेका हुन् । लुटमा संलग्न २१ वर्षीय सुमन तामाङ र मीनराज राईलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

ठगीमा संलग्न गिरोहले पठाओ राइडरको नागरिकता दुरुपयोग गरेको पनि भेटिएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका राजन श्रेष्ठ र झापा गौरादहका ईश्वरी पाण्डेले राइडर नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरेर ३ करोड ३७ लाख ठगेका हुन् ।

२०८१ वैशाखमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । आफ्नो नागरिकता हराएको राइडरले बताए । जापान पठाउँछौँ भनेर आरोपीहरूले रकम ठगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप