गौतमबुद्ध र पोखरा विमानस्थलको संसदीय उपसमितिले एकैपटक प्रतिवेदन बुझाउने
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानको सञ्चालनमा देखिएका समस्याबारे अध्ययन गर्न प्रतिनिधिसभा सार्वजनिक लेखा समितिद्वारा गठित दुई उपसमितिले प्रतिवेदन एकैपटक बुझाउने तयारी गरेका छन् । दुई उपसमितिको टोलीले पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थलको स्थलगत अध्ययन पूरा गरिसकेका छन् ।
भैरहवाको गौतमबुद्ध विमानस्थलमा पूर्वपर्यटन मन्त्री तथा नेकपा एमालेका सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमितिले असार १६ गतेदेखि १८ गतेसम्म स्थलगत अनुगमन गरेको थियो । भट्टराई संयोजक रहेको उपसमितिमा सांसदहरू अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, विक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सेराज अहमद फारुकी सदस्य छन् ।
यस्तै पोखरा विमानस्थलमा पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको टोलीले अध्ययन गरेर सोमबार काठमाडौँ फर्किसकेको छ । दुवै टोलीमा कर्मचारीको प्रतिनिधित्व गर्दै सहभागी उपसचिव सावित्रा शर्माले प्रतिवेदन लेखनतिर केन्द्रित भएको रातोपाटीलाई बताइन् । उनले दुवै विमानस्थलको प्रतिवेदन एकैपटक बुझाउने गरी काम भइरहेको जानकारी दिइन् ।
एक महिनाको समयसीमा तोकेर अध्ययन टोली गठन गरिएको थियो । टोलीका सदस्य सांसद श्याम घिमिरेले भैरहवाबाट फर्किएपछि राजनीतिक माहौल फेरिँदा सबै सांसदहरू व्यस्त रहे पनि अब भने छिटै बैठक बस्ने रातोपाटीलाई बताए ।
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुने आशा
भैरहवाको गौतबुद्ध विमान २०७९ सालको जेठ २ गते बुद्ध पूर्णिमादेखि सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान सङ्ख्या वृद्धि नहुँदा स्थानीय तथा व्यवसायी निराश छन् ।
सुरुमा जजिरा, हिमालय लगायतका एयरलायन्सले उडान नगरेका पनि होइनन् । तर, अहिले ती बन्द सबै छन् । विमानस्थल सञ्चालनको आशा देखेर लगानी गरेका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान नभएपछि अहिले निराश भएका छन्।
अहिले पूर्वपर्यटन मन्त्री भट्टराई नेतृत्वमा ८ जना प्रतिनिधि सभा सदस्यसहितको टोलीले विमानस्थल सञ्चालनको विषयमा चासो राख्दै भैरहवा आएपछि विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा यहाँका व्यवसायीहरूले गरेको छन् ।
लुम्बिनी प्रदेश नाटाका पूर्वअध्यक्ष सागर अधिकारीले विमानस्थल शिलान्यास, उद्घाटन, निर्माण गर्दा फरक–फरक दल रहेको स्मरण गर्दै अहिले अन्तर्राष्ट्रिय उडान गर्न सबै दलको साझा एजेन्डा बन्नुपर्ने बताए । उनले संसदीय समितिमा पनि सबै दलका सांसदहरू रहेकाले अब सञ्चालन गर्न एउटा दिशा निर्देश हुने आशा जागेको बताए ।
उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले विमानस्थल चल्ने आशामा व्यवसायीहरूले अर्बौँको लगानी यहाँ गरेको दाबी गर्दे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा सम्म आफूहरूको लगानी जोखिम परेको गुनासो गरे । उनले पनि संसदीय टोलीको प्रतिवेदनपछि विमानस्थलमा चल्ने आशा रहेको जिकिर गरे ।
गौतमबुद्ध विमानस्थल प्रमुख प्रतीकबाबु तिवारीका अनुसार २०८१ वैशाखसम्ममा जजिरा एयरलाइन्सले भैरहवामा ११० वटा उडान गरेको थियो । जजिरापछि नेपाली र चिनियाँ लगानीको हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियामा दुईतर्फी ६८ वटा चार्टर्ड उडान गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ ।
नेपाल वायुसेवा निगमले गत वर्ष जेठदेखि सातामा एक दिन (मंगलबार) मलेसियाबाट काठमाडौँ आउने उडान भैरहवा ‘टचडाउन’ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने गरेको छ ।
उक्त संसदीय उप समितिको टोलीका सदस्य सांसद श्याम कुमार घिमिरेले विमानस्थल निर्माण गर्दा नै भावनात्मक रूपमा निर्माण गरिएको बताउँदै व्यावसायिक योजना नहुँदा समस्या रहेको रातोपाटीलाई बताए । उनले अहिले विमानस्थल निर्माण राम्रो भए पनि त्यसलाई व्यावसायिक रूपमा हेरेर बढाउन नसकिएको बताए । विमानस्थल सञ्चालनका लागि आवश्यक भिसा सेन्टर, म्यानपावर कम्पनी र बीमा कम्पनी नभएको यात्रु पाउन सकस भएको उनको भनाई छ ।
उनले भने, ‘भिसा लगाउन, श्रम अनुमति र टिकटका लागि मान्छे काठमाडौँ नै आउनु परेपछि किन भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल जान्छन् ?’ उनले अन्तर्राष्ट्रिय नाम थपिँदा विमानस्थलको आन्तरिक खर्चसमेत वृद्धि भएको बताए ।
सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्स आकर्षित गर्न अवतरण, गृह आश्रय, पार्किङ, सञ्चार तथा उड्डयन सहायता शुल्क र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिएको छ । तैपनि अन्तर्राष्ट्रिय एयरलाइन्सहरू नआएको विमानस्थलका अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै