बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा विश्वकै पहिलो ‘अल वेदर क्रिकेट स्टेडियम’ बन्दै, वर्षाले पनि खेल प्रभावित नहुने

मङ्गलबार, २५ असार २०८१, १४ : २७
मङ्गलबार, २५ असार २०८१

काठमाडौँ । क्रिकेट खेलमा मौसमको निकै ठुलो भूमिका रहन्छ । खेलका क्रममा थोरै वर्षा भए पनि खेल अवरुद्ध बन्न पुग्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा वर्षाले खेल प्रभावित भएकै कारण स्वाभाविक नतिजा आउन नसकेको धेरै उदाहरण छन् ।

वर्षाका कारण खेल प्रभावित हुँदा समर्थकहरू सबैभन्दा बढी निराश हुने गरेका छन् । तर, अहिले विश्व क्रिकेटका लागि एउटा खुसीको समाचार आएको छ । क्रिकेट प्रेमीका लागि यस्तो सुखद समाचार अस्ट्रेलियाबाट प्राप्त भएको हो ।

अस्ट्रेलियामा विश्वकै अनौठो क्रिकेट स्टेडियम बनाउने तयारी गरिँदैछ । उक्त क्रिकेट स्टेडियमको काम निकट भविष्यमै अगाडि बढ्ने बताइएको छ । प्रतिकुल मौसमलाई ध्यानमा राखी बनाउन थालिएको यो स्टेडियमको परिचय ‘अल वेदर इन्डोर स्टेडियम’का रूपमा अगाडि सारिएको छ ।

उक्त स्टेडियममा जस्तोसुकै प्रतिकुल मौसममा पनि क्रिकेट खेल सञ्चालन गर्न सकिने बताइएको छ । उक्त स्टेडियम अस्ट्रेलियाको तस्मानियामा बनाउने तयारी गरिएको छ । स्टेडियमको नाम भने ‘माक्वारी प्वाइन्ट स्टेडियम’ राखिएको छ ।

स्टेडियम २३ हजार दर्शक क्षमताको रहने समाचारमा जनाइएको छ । यो स्टेडियमको छत पारदर्शी हुने र छतबाट पर्याप्त उज्यालो स्टेडियमभित्र पुग्ने बताइएको छ । जतिसुकै उचाइको छक्का प्रहार गरे पनि बलले छतलाई नछुने पनि बनाइएको छ ।

यो स्टेडियम तयार पार्न तस्मानियाको परिवेशलाई पनि ध्यानमा राखिएको समाचारमा जनाइएको छ । रंगशालाको डिजाइन तयार पार्दा तस्मानियाका आदिवासी समुदायको सुझावलाई पनि पनि महत्त्व दिइएको बताइएको छ ।

उक्त स्टेडियमबाट समुद्रको मनोरम दृश्य पनि देखिने बताइएको छ । स्टेडियमको निर्माण कार्य सन् २०२८ सम्ममा पुरा भइसक्ने दाबी गरिएको छ । अस्ट्रेलियाका स्पोर्टस एन्ड इभेन्टमन्त्री निक स्ट्रिटका अनुसार, यो स्टेडियमले विश्व क्रिकेटमा ठुलो परिवर्तन ल्याउन सहयोग पुर्‍याउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप