बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘मिस्टियानो पेनाल्डो’ प्रकरणबारे बीबीसीले जारी गर्‍यो विज्ञप्ति

मङ्गलबार, २५ असार २०८१, १२ : ३०
मङ्गलबार, २५ असार २०८१

काठमाडौँ । युरो २०२४ को खेलका दौरान क्रिस्टियानो रोनाल्डोलाई ‘मिस्टियानो पेनाल्डो’ लेखेको क्याप्सनबारे चौतर्फी आलोचना भएपछि बीबीसीले एक विज्ञप्ति जारी गरेको छ । 

पोर्चुगल र स्लोभानियाबिचको अन्तिम १६ को खेलका दौरान रोनाल्डोले गरेको पेनाल्टी मिसलाई बीबीसीले ‘मिस्टियानो पेनाल्डो’ भनेर क्याप्सन राखेको थियो । अल नासरका स्टार खेलाडीले अतिरिक्त समयको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्नबाट चुकेका थिए ।

यसपछि उनी मैदानमा नै रुन पुगेका थिए । तर, टाई–ब्रेकरमा यसको भर्पाई गर्दै उनले पहिलो पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । पेनाल्टीमा पोर्चुगल विजयी बनेको थियो ।

आफ्नो मनपर्ने खेलाडीबारे अपमानजनक टिप्पणी गरेको थाहा पाएपछि रोनाल्डोका फ्यानहरूले सामाजिक सञ्जालमा यसबारे आक्रोश व्यक्त गरेका थिए । इंग्ल्यान्ड र चेल्सीका लिजेन्ड जोन टेरीले समेत यसको विरोध गरेका थिए ।

आलोचनाबारे बीबीसीले बल्ल विज्ञप्ति जारी हो । विज्ञप्तिमा उक्त क्याप्सन मात्र शब्दहरूको ‘रचनात्मक प्रयोग’ भएको बीबीसीको स्पष्टीकरण दिएको छ ।

‘हामीले म्याच अफ द डे एनलाइसिसका दौरान पहिले पनि यस्तो गरेका थियौँ । यो क्रिस्टियानो रोनाल्डोप्रति लक्षित थिएन । वास्तवमा कार्यक्रमका दौरान हामीले रोनाल्डोको पक्षमा नै धेरै कुरा राखेका थियौँ,’  बीबीसीले भनेको छ ।

बीबीसीले खेलअघि होसे फोन्टेले रोनाल्डोको प्रशिक्षणको तारिफ गरेको, हाफ टाइमका दौरान ग्यारी लिनेकर र एलन सिएररले रोनाल्डोको प्रशंसा गरेको र दुवैले पेनाल्टी सुटआउटमा रोनाल्डो पेनाल्टी लिने पहिलो खेलाडीका रूपमा आएकोमा उनको आत्मविश्वासको तारिफल गरेको उल्लेख गरेको छ ।

फुटबल पण्डितहरू रोनाल्डोको बारेमा अति नै आलोचनात्मक नभएको र कार्यक्रमका दौरान उनलाई सम्मान नै गरेको बीबीसीको तर्क छ । ‘यद्यपि, केही दर्शकहरू क्याप्सनबारे दुःखी रहेकोमा हामीले निर्माण टोलीले यसबारे प्रतिक्रिया दिँदै आगामी कार्यक्रममा ध्यान दिन भनेका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप