व्यवसाय र अर्थतन्त्र दुवै चलायमान बनाउन कस्तो आउनुपर्छ मौद्रिक नीति ?
काठमाडौँ । कोभिड महामारी लगायत अन्तर्राष्ट्रिय घटनाक्रमका कारण मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा छ । अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भए पनि आन्तरिक अर्थतन्त्र भने सङ्कुचनमा देखिन्छ ।
अर्थतन्त्रमा देखिएको शिथिलता र सङ्कुचनको कारण उद्योग व्यवसायमा ह्रास आएको छ । उद्योग व्यवसायमा आएको ह्रास कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन । बजारमा मागको कमी हुँदा उद्योग धन्दाहरू ३० देखि ४० प्रतिशत भन्दा बढी क्षमतामा चल्न सकेको अवस्था छैन । तर मुलुकको आन्तरिक सूचक नकारात्मक भए पनि बाह्य सूचक बलियो स्थितिमा छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार विदेशी मुद्राको सञ्चितिले १२ महिनाभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था छ । रेमिट्यान्सको आप्रवाह हरेक महिना वृद्धि हुँदै जाँदा चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको देखिन्छ । तर आन्तरिक अर्थतन्त्रमा भने खासै सुधार भएको देखिँदैन ।
सरकारको राजश्व सङ्कलन समेत लक्ष्यअनुसार उठ्न सकेको छैन भने आर्थिक वर्षको अन्तिमसम्म पनि पुँजीगत खर्च ४८ प्रतिशत भन्दा माथि जान सकेको छैन । बैंकहरुमा करिव ६ अर्ब बढी लगानीयोग्य रकम हुँदा पनि उद्योगी व्यवसायीहरू बैंकमा ऋण लिन गएको अवस्था छैन । बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको ब्याजदर विगत सस्तो हुँदा पनि कर्जा प्रवाह हुन नसक्नु निजी क्षेत्रको आत्मबल कमजोर भएको मान्न सकिन्छ ।
मुलुकको बाह्य आर्थिक सूचकहरू सकारात्मक भए पनि आन्तरिक अर्थतन्त्रमा सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुनसक्ने अवस्था छैन । सहकारी समस्या र निर्माण क्षेत्रमा देखिएको शिथिलताले अर्थतन्त्रमा थप समस्या पारेको देखिन्छ । सरकारले निर्माण व्यवसायीहरूको ६० अर्ब रुपैयाँ भुक्तानी दिन सकेको छैन । पुँजीबजार र घरजग्गा कारोबार सुस्त हुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । मुलुकमा देखिएको आर्थिक सुस्तता र रोजगारीका अवसर सिर्जना नहुँदा मुलुकको दक्ष जनशक्ति र पुँजी विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा सरकारले ल्याएको बजेटले अर्थतन्त्र चलायमान बनाउन नसक्ने निजी क्षेत्रको धारणा छ । तर नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीति उद्योगी व्यवसाय र अर्थतन्त्र दुवै चलायमान बनाउने मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
उद्योगी व्यवसायीहरूले मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएकाले केही नीतिगत स्थिरतासहित निजी क्षेत्रमैत्री नीति आउने आशा पलाएको पनि धारणा राख्न थालेका छन् । उनीहरूले राष्ट्र बैंकले १६ औँ योजना र बजेटमार्फत आएको आर्थिक ऐनलाई सम्बोधन हुनेगरी मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति उद्योग व्यवसायलाई चलामान बनाउने गरी आउनुपर्ने बताइन् । उनले बजारमा देखिएको आर्थिक मन्दीलाई सहजीकरण गर्ने मौद्रिक नीति आवश्यक भएको उल्लेख गरिन् ।
पूर्वअध्यक्ष राणाले बैंकको ब्याजदर कम हुँदा विगतमा व्यवसायीहरूले बैंकबाट लिएको ऋण तिर्न नसकेकाले थप कर्जा लिन नसक्ने अवस्थामा व्यवसायीहरू रहेको बताइन् । उनले आगामी मौद्रिक नीति उद्योगी व्यवसायीहरूको लागि सकारात्मक आउँछ भन्ने आस रहेको बताइन् ।
पूर्वअध्यक्ष राणाले आर्थिक गतिविधि चलायमान नभएकाले घरजग्गा कारोबारलाई खुकुलो बनाउँदा चलायमान हुनेगरी मौद्रिक नीति आउनुपर्ने उल्लेख गरिन् । उनले बजेटले लिएर आएको आर्थिक नीतिलाई रिभ्यु गर्नुपर्ने भन्दै यो विषयलाई मौद्रिक नीतिले समेट्नुपर्ने धारणा राखिन् । उनले उद्योग व्यवसाय फस्टाउने र अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउनुको विकल्प नभएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘आगामी आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति उद्योग व्यवसायलाई अगाडि बढाउन सक्ने आउनुपर्छ । पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीलाई सहजीकरण गर्ने मौद्रिक नीति आवश्यक छ ।’
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अर्थतन्त्रमा ठुलो सङ्कट रहेको बताए । उनले बजारमा माग बढ्न नसक्दा उद्योगहरू सञ्चालन हुन नसकेको बताए । पोस्ट कोभिडको प्रभावबाट अझै निजी क्षेत्र प्रभावित रहेको भन्दै उनले राष्ट्र बैंकले निजी क्षेत्रमैत्री नीति लिन आवश्यक रहेको बताए ।
अध्यक्ष सिंहले थला परेको निर्माण उद्योगलाई सरकार र राष्ट्र बैंकले प्राथमिकतामा राख्न सुझाव दिए । उनले सरकार र राष्ट्र बैंकले निर्माण क्षेत्रलाई प्राथमिकतामा नराख्दा अहिले अर्थतन्त्रको चक्र नै अस्तव्यस्त भएको उल्लेख गरे ।
उनले राजश्व सङ्कलन र उद्योगहरू पूर्ण क्षमतामा चल्न नसकेकाले राष्ट्र बैंकले शिथिल भएको निर्माण उद्योगलाई उकास्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्ने माग राखे ।
अध्यक्ष सिंहले निर्माण उद्योगीहरूले बैंकहरुमा बुझाउन नसकेको सावाँ ब्याजलाई एकमुस्ट रूपमा पुँजीकरण गर्ने व्यवस्था गर्न माग गरे । उनले निर्माण क्षेत्रमा २० प्रतिशत रकम बैंकहरुले सहुलियत दरमा प्रवाह गर्नुपर्ने बताए ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र खपत गर्ने लक्ष्य पूरा गर्न लगानी वृद्धि गर्न आवश्यक रहेको बताए । उनले १० वर्षका १० हजार मेगावाट विद्युत् निर्यातको लागि विद्युत् उत्पादनको लागि २ प्रतिशतका दरले लगानी वृद्धि गरेर बैंकहरुले २० प्रतिशत लगानी लगाउनुपर्ने प्रावधान मौद्रिक नीतिले व्यवस्था गर्नुपर्ने बताए ।
उनले जलविद्युतमा भएकाले लगानीमा बैंकहरुको ब्याजदरमा एकरूपता बनाउन माग गरे । उनले जलविद्युतमा विदेशी लगानी ल्याउनको लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति १६ औँ पञ्चवर्षीय योजनालाई साथ दिने र सरकारको वार्षिक आर्थिक नीतिलाई साथ दिने किसिमको आउनुपर्ने बताए । उनले बैंकहरुले कर्जा प्रवाह गर्दा ५० लाख भन्दा माथि घरजग्गा र शेयरमा १२५ प्रतिशत जोखिम भारलाई १०० प्रतिशतमा ल्याउन आवश्यक रहेको बताए ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सीमाभित्र बसेर ल्याउने बताउँदै आएको छ । मौद्रिक नीति तर्जुमा गर्ने राष्ट्र बैंकको आफ्नै सीमा भएको बताउँदै आएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा मुलुकको अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो मौद्रिक नीति ल्याएको बताएको छ । यसअघि पनि राष्ट्र बैंकका गभर्नर अधिकारीले निजी क्षेत्रका मागलाई सम्बोधन गर्नेगरी लचिलो मौद्रिक नीति ल्याउने बताउँदै आएका छन् । सोमवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको प्रयास सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने र मुद्रास्फिर्तीलाई ५.५ प्रतिशत कायम राख्ने लक्ष्य अनुरूप मौद्रिक नीति ल्याउन जुटेको बताए ।
उनले भने, ‘राष्ट्र बैंकको प्रयास सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फर्तीलाई ५.५ प्रतिशत कायम राख्ने लक्ष्य अनुरूप मौद्रिक नीति ल्याउन जुटेका छौँ । हामी आशावादी छौँ । सबैले समन्वयमा काम गर्दा आगामी वर्षमा आर्थिक वृद्धि ६ प्रतिशत पुर्याउन वित्तीय स्रोत खाँचो र अप्ठ्यारो हुने देखिँदैन । अहिले व्यावसायिक मनोबल गिरेको अवस्था छ । त्यो मनोबल उकास्नलाई केही कामहरू समन्वय रूपमा गर्नुछ ।’
उनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने क्षेत्रहरू ऋणात्मक रहेको भन्दै अर्थतन्त्रमा रहेको एक खालको चुनौतीका बिच मौद्रिक नीति बनाउनुपर्ने अवस्थामा रहेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
-
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
-
नेपालीले विदेशमा पसिना बगाउँदा राष्ट्र बैंक ‘मालामाल’
-
सर्वसाधारणलाई जुत्ताको माला लगाउनेमाथि मुद्दा दर्ता