‘अब धुर्मुस फर्कियो’
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ करिब पाँच वर्षपछि पुनः अभिनयमा फर्केका छन् । गायिका सुजाता केसी र गायक तुलसी सिवाकोटीको युगल स्वर रहेको रोमान्टिक शैलीको गीतको भिडियो ‘हङ्गामा’बाट उनी अभिनयमा फर्केका हुन् । प्रहिल कार्कीले निर्देशन गरेको यस म्युजिक भिडियोमा उनलाई पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ले साथ दिएकी छन् । केही दिनअघि सार्वजनिक भएको ‘हङ्गामा’को यतिबेला राम्रै चर्चा छ ।
करिब २० वर्षअघि ‘मेरी बास्सै’ हास्य टेलिसिरियलमा ‘धुर्मुस’को चरित्र निभाएर चर्चा कमाएका कट्टेल फिल्म, म्युजिक भिडियो, विज्ञापन आदिमा जमिरहेकै बेला समाजसेवातिर लागेका थिए । केही समय हराएका प्रायः कलाकार फिल्म (ठुलो पर्दा)बाट कमब्याक गरिरहँदा उनले भने सानोपर्दाको त्यो पनि म्युजिक भिडियो किन रोजे ?
‘म अभिनयमा फर्किन गर्न चाहन्थेँ । माध्यम जेसुकै होस्— म्युजिक भिडियो, सिरियल होस् वा फिल्म,’ उनले भने, ‘यस गीतको भिडियोका लागि अफर आयो । गीत पनि राम्रो लाग्यो । पेसा कलाकारिता भएकाले कलाको जुनै विधाबाट कमब्याक गर्नु एउटै हो ।’
अभिनयमा फर्किएपछि उनले सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । यतिखेर उनलाई शुभचिन्तकले सोधिरहेका रहेछन्— भिडियोमा देख्न पाइयो, फिल्म र सिरियल कहिले ? ‘मैले धुर्मुसको चरित्र निभाएको झन्डै २० वर्ष भयो । अहिले पनि कतिपय दर्शकले त्यो चरित्रमा देख्न चाहन्छन्,’ सीताराम भन्छन्, ‘यो मप्रतिको माया र विश्वास हो, यो टुट्न दिन्नँ । अब पर्दामा धुर्मुस फर्कियो ।’
‘म कलाकारितामा चिनिएकै धुर्मुसको गेटअपबाट हो । त्यसैको खोजी अहिले भइरहेको जस्तो लाग्यो,’ सीताराम भन्छन्, ‘धुर्मुस चरित्र यति चर्चित भयो कि मेरो नामै धुर्मुस भइदियो । मैले गरेका अन्य चरित्र पनि धुर्मुसले गरेको भनिन्थ्यो ।
धुर्मुस चरित्रबाटै दर्शक हँसाउने र कलाकारितालाई निरन्तरता दिने उनको योजना छ । ‘म आफैँ पनि सिरियलको योजना बनाइरहेको छु,’ उनी भन्छन्, ‘विभिन्न सिरियल र केही फिल्मबाट पनि अफर आइरहेका छन् । अबका दिनमा फिल्म पनि खेल्छु ।’
२०७२ को भूकम्प अघिसम्म उनी कलाकारितामै व्यस्त थिए । भूकम्पले धेरैलाई घरबारविहीन बनायो । कतिपय भूकम्पपीडितका दुःख देखेर उनी भावविह्वल भए र बस्तीहरू निर्माण गरेर पीडितको घाउमा मलम लगाउने काममा जुटे । सुरुमा उनले काभ्रेपलाञ्चोकको पाँचखालमा नमुना बस्ती बनाए । त्यसपछि गिरानचौर एकीकृत नमुना बस्ती र एकीकृत नमुना मुसहर बस्ती बसाले । यी बस्ती निर्माण गर्दासम्म उनी अभिनयमा सक्रिय थिए । भरतपुरमा राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेदेखि भने उनको अभिनय यात्रा रोकिएको थियो ।
‘वस्ती निर्माणपछि रंगशाला निर्माणमा होमिएँ । जिम्मेवारी ठुलो, खटिनुपर्ने धेरै र स्रोत सुनिश्चित गर्न धेरैतिर धाउनुपथ्र्याे,’ उनी भन्छन्, ‘त्यो समय कलाकारिता गरेर अगाडि बढ्न सक्ने स्थिति थिएन । ममा मजदुरदेखि अभियन्तासम्मको धेरै जिम्मेवारी थियो ।’
अहिले सरकारले त्यो रंगशाला निर्माण गर्ने भएको छ तर आफूले जुटाएको खर्चको राफसाफ नभएकाले उनको तनाव भने घटेको छैन ।
- पछिल्लो एक वर्षदेखि स्टेजमा
सीताराम आठ वर्षपछि गत वर्ष स्टेज कार्यक्रममा फर्किएका थिए, कास्कीको लेखनाथ महोत्सवमार्फत । ‘स्टेज कार्यक्रम दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने एउटा अवसर हो । लामो समयदेखि त्यो अवसरबाट वञ्चित थिएँ,’ त्यतिबेला उनले भावविह्वल हुँदै भनेका थिए ।
लेखनाथ महोत्सवमा प्रस्तुति दिएपछि देशका विभिन्न स्थानबाट उनलाई अफर आउन थाल्यो । पछिल्लो एक वर्षमा उनले देशभरिका ४५ स्थानमा स्टेज प्रस्तुति दिइसकेका छन् ।
२०७५ सालमा सीतारामले दुबईका नेपालीमाझ एक प्रस्तुति दिएका थिए । त्यसको ६ वर्षपछि शुक्रबार साँझ उनी युरोपका लागि उडेका छन् । यो उनको पहिलो युरोप भ्रमण हो ।
‘पहिले हामी स्टेज कार्यक्रममा निकै हिँड्थ्यौँ । प्रत्यक्ष रूपमा दर्शक भेटघाट हुने र फिडब्याक पाउने भएकाले स्टेजमा प्रस्तुति दिन रमाइलो लाग्थ्यो,’ उनी भन्छन्, ‘लामो समयपछि फेरि दर्शकमाझ पुग्दा दर्शकले उस्तै माया र सहानुभूति प्रकट गरिरहनुभएको छ, यसले भावुक बनाउँदो रहेछ ।’
- युरोप–यात्रा
२०७५ सालमा सीतारामले दुबईका नेपालीमाझ एक प्रस्तुति दिएका थिए । त्यसको ६ वर्षपछि शुक्रबार साँझ उनी युरोपका लागि उडेका छन् । यो उनको पहिलो युरोप भ्रमण हो । युरोपका फिनल्यान्ड, माल्टा, क्रोएसिया, बेल्जियम, स्पेन, पोल्यान्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायत झन्डै एक दर्जनभन्दा बढी देशमा रहेका नेपालीमाझ उनले प्रस्तुति दिनेछन् । यो यात्रामा उनको साथमा कलाकार कुञ्जना घिमिरे (सुन्तली), गायक विष्णु खत्री र तुलसी शिवाकोटी छन् ।
युरोपका विभिन्न ठाउँमा गरिने ‘धुर्मुस–सुन्तली साँझ’ कार्यक्रममा उनी धुर्मुसको भूमिकामा र कुञ्जना सुन्तलीको भूमिकामा देखिनेछन् ।
‘म कलाकारितामा चिनिएकै धुर्मुसको गेटअपबाट हो । त्यसैको खोजी अहिले भइरहेको जस्तो लाग्यो,’ सीताराम भन्छन्, ‘धुर्मुस चरित्र यति चर्चित भयो कि मेरो नामै धुर्मुस भइदियो । मैले गरेका अन्य चरित्र पनि धुर्मुसले गरेको भनिन्थ्यो । फिल्म, टेलिफिल्ममा बनाउँदा पनि धुर्मुसले बनाएको भनियो । सबै दर्शकको राय–सुझाव अनुसार हामी दर्शकमाझ धुर्मुस–सुन्तलीका रूपमा आउन लागेका हौँ ।’
युरोपबाहेक अन्य देशबाट समेत अफर आइरहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक बोलाउन पोखरामा गरियो माघमा दाइँ
-
विश्वविद्यालयमा भइरहेको तालाबन्दीप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
-
स्टाफ कलेजका लागि १३१ प्रहरी अधिकृत छनोट, फागुनमा प्रवेश परीक्षा
-
१० बजे १० समाचार : एमालेका नेताहरूमाथि धमाधम कारबाही, वामदेव गौतम एमालेमै फर्किने तयारीमा
-
खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता
-
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : मन्त्री गुरुङ