आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, २४ असार २०८१, २१ : ५१
सोमबार, २४ असार २०८१

आज २०८१ असार २४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा मन्त्री छान्न एमाले र कांग्रेसका यस्ता छन् मापदण्ड, सातै प्रदेशका सरकारमा गठबन्धन परिवर्तनको कस्तो असर ?, विपद्का घटनामा ७४ जनाको मृत्यु, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा बयान दिन मान्दैनन्, प्रधानमन्त्रीको काँधमा मन्त्रालयको भारी थपिँदै, फरक भूगोलको जिम्मेवारीबाट फिर्ता हुँदै एमालेका नेताहरू, यो वर्ष पनि सरकार बजेट घाटामा लगायत छन् ।

१. मन्त्री छान्न एमाले र कांग्रेसका यस्ता छन् मापदण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने सूचना संसद सचिवालयलाई गराइसकेको अवस्थामा नयाँ गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्री छान्न मापदण्ड बनाउँदैछन् । 

२. सातै प्रदेशका सरकारमा गठबन्धन परिवर्तनको कस्तो असर ?
नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय सत्ता समीकरणको सहमतिले सातै प्रदेश सरकार प्रभावित तुल्याएको छ । यही असार १७ मा कांग्रेस र एमालेबिच सत्ता समीकरण बनेपछि प्रदेश सरकारमा पनि उलटफेर हुने परिस्थिति बनेको हो ।

३. विपद्का घटनामा ७४ जनाको मृत्यु
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्का घटनामा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ ।

४. नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा बयान दिन मान्दैनन् 
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा हिरासतमा छन् । वीरगन्ज उपमहानगरपालिका–७ घर भएर काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झा असार १४ मा पक्राउ परेका हुन् । ११ दिन हिरासतमा बसेका झासँग अनुसन्धान अधिकृतहरूले अहिलेसम्म बयान लिएका छैनन् । उनले बहाना बनाएर बयान दिन अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

५. प्रधानमन्त्रीको काँधमा मन्त्रालयको भारी थपिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपछि अर्को मन्त्रालयको भारी बोक्नु परेको छ । सरकारबाट एमाले बाहिरिएपछि एमालेका मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका प्रचण्डले जसपा नेपालका मन्त्री बाहिरिएपछि उनीहरूले सम्हालेको मन्त्रालय पनि आफैँसँग राखेका छन् । 

६. फरक भूगोलको जिम्मेवारीबाट फिर्ता हुँदै एमालेका नेताहरू
नेकपा एमालेले नेताहरूको जिम्मेवारी हेरफेर र कार्य विभाजनमा पुनर्विचार गर्ने भएको छ । पार्टी पदाधिकारी (उपाध्यक्ष, सचिव) सहित स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्न लागेको एमाले नेताहरूले बताएका छन् ।

७. यो वर्ष पनि सरकार बजेट घाटामा
बजेट कार्यान्वयनको सन्दर्भमा यो वर्ष पनि सरकार ३ खर्ब १९ अर्बभन्दा बढीले घाटामा गएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उठाएको राजस्व र खर्चको स्थितिलाई हेर्दा सरकार ३ खर्ब १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ खुद घाटामा गएको हो ।

८. भारतले किन दिँदैन नेपालाई थप हवाई रुट ?
नेपालले भारतसँग थप हवाई रुट मागे पनि भारतले विभिन्न कारण दर्शाएर अल्झाउँदै आएको छ । राजनीतिक रूपमा भारतले सहमति जनाइसके पनि सुरक्षा लगायतका कारण देखाएर त्यसको कार्यान्वयनमा अल्झाउने काम भइरहेको छ ।

९.मन्त्रालयको नाम शिक्षा, विज्ञान तथा प्रविधि तर महत्व शिक्षालाई मात्र 
तीन वटा छुट्टै विधालाई समेटेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बनाइएको छ । जसमा शिक्षा, विज्ञान र प्रविधि गरेर तीन वटा छुट्टाछुट्टै विषय र सोही अनुरूप जिम्मेवारी छन् । फरक फरक जिम्मेवारी बोकेको यो मन्त्रालयको सचिव विषयगत रूपमा दुई जना हुने गरेका छन् । एक शिक्षातर्फको सचिव र अर्को विज्ञान तथा प्रविधितर्फको सचिव । तर, विज्ञान तथा प्रविधिको क्षेत्र भने उपेक्षामा परेको देखिन्छ । 

१०. एसएलआर हतियारसहित लुटेरा पक्राउ
हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मुगुले लुटेरा समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । 

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप