आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
अपराध

मुगुको लुटपाटमा सशस्त्र विद्रोहको एसएलआर प्रयोग

पूर्व लडाकु पनि पक्राउ
सोमबार, २४ असार २०८१, २१ : ३७
सोमबार, २४ असार २०८१

काठमाडौँ । मुगु सदरमुकाम गमगढीबाट ३ दिनको पैदल दुरीमा पर्ने मुगुम कार्माराङ गाउँपालिका–१ स्थित डोल्फु गाउँमा लुटपाट भयो । लुटेरा समूहले जेठ १२ मा एसएलआर (सेल्फ लोडिङ राइफल) पड्काएर कुकुर मारे अनि, गाउँ नै लुटेर भागे । सो गाउँको २४ वटा घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी अधिकृतहरू बताउँछन् ।

लुटेरासँग प्रतिकार गर्न सक्नेहरू यार्सागुम्बा टिप्न गएका थिए । गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै थिए । प्रहरीका अनुसार त्यहाँ ९९५ तोला चाँदी, ५० लाख २५ हजार नगद र मुगा माला लुटेर आरोपीहरू भागेका हुन् ।

घटना भएको महिना दिनपछि इन्स्पेक्टर भरत केसी नेतृत्वको टिमले लुटमा संलग्न ३ जनालाई पक्राउ गर्न सफल भएको छ । लुटमा संलग्नमध्ये एकजना माओवादी सेनाका पूर्व लडाकु हुन् । जुम्लाको गुठिचौर गाउँपालिका–३ घर भएका गणेश भण्डारी उर्फ आक्रोशले आफू पहिले जनमुक्ति सेनामा काम गरेको प्रहरीलाई बताएका छन् । आक्रोशले दाबी गरे पनि त्यसबारे पुष्टि गर्ने प्रयास भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

पक्राउ पर्नेमा जुम्ला गुठीचौर–३ घर भएका पूर्णप्रसाद भण्डारी र वडा नम्बर–४ घर भएका कमल थापा छन् । लुटेराहरूको साथबाट प्रहरीले १ थान एसएलआर, २५ राउन्ड गोली र एउटा कटुवा पेस्तोल बरामद गरेको छ ।

लुटमा प्रयोग गरिएको एसएलआर अर्का एक जना पूर्व लडाकुसँग खरिद गरेको उनीहरुले प्रहरीलाई बताएका छन् । प्रहरीले दुई वटा म्यागेजिन, ३ थान सञ्चार सेट, एक थान बाइनाकुलर र ५ सेट आर्मीको कम्याट पनि बरामद गरेको छ । एसएलआर १० वर्षे सशस्त्र विद्रोहमा प्रयोग भएको हतियार भएको आशङ्का गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको मुगुका डीएसपी वीरेन्द्र थापाले बताए ।

घटनामा संलग्न ८ जना फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप