आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

हिरासतमा बेचन : समाजसेवी हुँ, चेक च्यातिदिएँ

टाउको दुख्यो भनेर औपचारिक बयान गर्न अस्वीकार
सोमबार, २४ असार २०८१, २० : ४१
सोमबार, २४ असार २०८१

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा हिरासतमा छन् । वीरगन्ज उपमहानगरपालिका–७ घर भएर काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झा असार १४ मा पक्राउ परेका हुन् ।

११ दिन हिरासतमा बसेका झासँग अनुसन्धान अधिकृतहरूले अहिलेसम्म बयान लिएका छैनन् । उनले बहाना बनाएर बयान दिन अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

झा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले बयान लिन खोजेपछि उनी ‘टाउको दुख्यो, बोल्दिनँ’ भनेर पन्छिने गरेका छन् ।

आगन्तुकहरूसँग भेटमा उनलाई कडाइ गरिएको छ । कानुन व्यवसायी र उनका दुई जना छोराबाहेक अरूलाई भेट्न बन्देज गरिएको छ । उनका कान्छा छोरा भर्खरै क्यानडाबाट काठमाडौँ आएका छन् ।

शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको पहिलो चरणको अनुसन्धान निष्कर्ष छ । प्रहरीका अनुसार झाले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।

मन्त्रीपरिषद्बाट निर्णय गराउन सक्छन् भनेर गिरोहका सदस्यहरूले उनलाई चेक दिएका हुन् । उनलाई चेक दिन सानु भण्डारीले गिरोहका सदस्य रामशरण केसीलाई भनेका थिए । तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन् ।

पक्राउ परेपछि अनुसन्धान अधिकृतहरूले सोधपुछ गर्दा उनले भनेका छन्, ‘चेक च्यातिदिएँ ।’

अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बैंकमा पेस गर्दा हस्ताक्षर नमिलेपछि सो चेक सटही भएन । भुटानी शरणार्थी प्रकरणको योजनाकारमध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका थिए ।

भुटानी शरणार्थी प्रकरण आफूलाई थाहा भएको झाले बताएका छन् । प्रहरी अधिकृतहरूसँग उनले भनेका छन्, ‘भुटानीको बारेमा मलाई थाहा छ तर, म पैसा दिएर काम गराउँदिनँ ।’

आफू समाजसेवी भएको जिकिर गर्दै उनले प्रहरी अधिकृतहरूसँग नेपालका राजनीतिक दलका नेताहरूसँग चिनजान र सम्पर्क रहेको स्वीकारेका छन् । अधिकृतहरूसँग उनले भनेका छन्, ‘नेताहरूसँग मेरो चिनजान छ तर, यस्तो काम भन्दिनँ ।’

बानेश्वरस्थित थापागाउँमा उनले ‘विभांशु ब्रदर्श’ नामको कन्स्ट्रक्सन कम्पनी सञ्चालन गरेका छन् । सो कम्पनीमार्फत उनले विद्युतको ठेक्का लिने गरेका थिए । २०५१ देखि उनी ठेक्कापट्टा गर्थे ।

शरणार्थी प्रकरणमा बालकृष्ण खाण सहितका उच्च अधिकारीहरू पक्राउ परेपछि उनी फरार भए । उनका पारिवारिक सदस्यहरूका अनुसार झा लामो समय भारतमा लुकेर बसेका थिए । उनकी छोरी भारतमा छिन् । झालाई कञ्चनपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।

यसअघि पक्राउ परेका रामशरण केसीले बयानमा भनेका छन्, ‘२०७८ मंसिर १३ मा बसेको मन्त्रीपरिषद् बैठकबाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’

रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको बताएका छन् । बयानमा उनले भनेका छन्, ‘चेक दिएको भिडियो पनि बनाएको थिएँ ।’

तर, झा त्यसपछि शरणार्थी प्रकरणको कुनै पनि घटनामा देखिएका छैनन् ।

प्रमाण सङ्कलन गर्दै


बयान लिनुअघि झाविरुद्ध अनुसन्धान अधिकृतहरूले प्रमाण सङ्कलन गरिरहेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ भन्छन्, ‘पहिले प्रमाण सङ्कलन गरेपछि बयान गराउँछौँ ।’

प्रहरीसँग झाको नाममा जारी भएको चेकको फोटोकपीमात्रै छ । चेक सटही भए–नभएको बारेमा बैंकसँग विवरण माग गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

उनीविरुद्ध सङ्गठित रूपमा ठगेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ । प्रमाण सङ्कलनका लागि उनको मोबाइलको फरेन्सिक जाँच गरिने अनुसन्धान अधिकृतहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप