आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मन्त्री छनोटमा देउवाको नीति : गुटगत भागबण्डा हुँदैन

शक्ति सन्तुलन मिलाएर मन्त्री छान्ने तयारी
सोमबार, २४ असार २०८१, २० : ०३
सोमबार, २४ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर मन्त्री छनोटको रणनीति बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सबैलाई मिलाएर लैजाने देउवाको बचन छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले पार्टीका सांसदहरू मन्त्री बनाइदिन भन्दै सभापतिलाई भेट्न आइरहेको सुनाए । ‘अहिले सभापतिज्यूले कसैलाई बचन दिनुभएको छैन । सबैलाई मिलाएर लैजान्छु भन्नुभएको छ,’ उनले भने ।

एमालेसँग मन्त्रालयको टुङ्गो लगाएपछि पार्टीभित्र आन्तरिक छलफल गरी मन्त्रीको नाम फाइनल गर्ने स्वकीय सचिव देउवाको भनाइ छ । मन्त्री छनोटमा यसपटक आन्तरिक विवाद नहुने गरी सभापति देउवा अगाडि बढ्न खोजेको प्रस्ट हुन्छ ।

सभापति देउवालाई सोमबार भेटेर फर्किएका एक सांसदले यसपटक मन्त्रीको गुटगत भागबण्डा गर्ने पक्षमा देउवा नदेखिएको रातोपाटीलाई बताए । ‘मन्त्रीका लागि सबै सांसद योग्य र सक्षम नै हुनुहुन्छ । कसैलाई काखापाखा नगरी सबैलाई मिलाएर लैजान्छु,’ देउवाको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘सबैलाई एकै पटक मन्त्री बनाउन सकिँदैन । केही साथीहरूको अर्को पटक पालो आउँछ ।’

सभापति देउवाले मन्त्री छनोटका सम्बन्धमा पार्टीभित्र विपक्षी खेमाका नेता शेखर कोइरालाको मनस्थिति बुझ्न आइतबार संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई भेट्न पठाएका थिए । कांग्रेसभित्रको शक्ति केन्द्र मानिने नेताहरूको मनिस्थति बुझेर उनीहरूनिकट सांसदलाई विश्वासमा लिएर मन्त्री बनाउने देउवाको योजना छ ।

असार १७ मा कांग्रेस र एमालेबिच सत्ता समीकरणको समझदारी भएपछि असार १८ बाटै देउवा निवासमा कांग्रेस सांसदको भिड दैनिक देखिने गरेको छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बनाउन भएको सहमतिलाई कांग्रेसले कार्यसम्पादन र संसदीय दलबाट अनुमोदन गरिसकेको छ ।

कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत नपाउने निश्चितजस्तै छ । यही साताभित्रै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएपछि कांग्रेस सांसदहरू मन्त्री पाउन दौडधुप तीव्र तुल्याइरहेका छन् । सभापति देउवाका साथै आफू निकट प्रभावशाली नेताको घरमा कांग्रेस सांसदको घरदैलो चलिरहेको छ ।

कांग्रेसमा सभापतिका अलावा नेता शेखर कोइराला, महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला पनि शक्ति केन्द्र मानिन्छन् । शेखर र गगनले आफैँ मन्त्री बन्ने सङ्केत गरेका छन् भने निधि, शशांक र सिटौला आफैँ पनि रेसमा रहेको कांग्रेसवृत्तमा चर्चा छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार प्रतिनिधि सभाका ८८ र राष्ट्रिय सभाका १६ गरी १०४ जना सांसदमा सभापति देउवाबाहेक सबै मन्त्रीको दौडमा छन् । ‘सबैलाई एमाले र कांग्रेसको बलियो सरकार बन्छ भन्ने छ । त्यसैले पनि अहिले धेरै जना मन्त्रीका लागि सभापतिलाई रिझाउन दिनहुँ बुढानीलकण्ठ धाइराख्नु भएको होला । तर, सभापतिले कसलाई मन्त्री बनाउने भन्ने सोच बनाइसक्नु भएको छ,’ ती पदाधिकारीले भने ।

कांग्रेस सांसद श्याम घिमिरेले मन्त्री छनोट गर्न सभापतिलाई सकस देखिएको बताए । आफू दुई–तीन दिनअघि सभापति देउवालाई भेट्न जाँदा ‘मन्त्रीका लागि यत्रो मान्छेको भिड छ । खै कसरी मिलाउने हो,’ भनेको घिमिरेले सुनाए ।

मन्त्री माग्न आफ्नो निवास पुग्ने सबैजसो सांसदलाई देउवाले ‘कोसिस गर्छु’ भन्ने रेडिमेड जवाफ दिने गरेका छन् । सोमबार बिहान सभापति देउवालाई भेटेर फर्किएका एक सांसदले भने, ‘सभापतिजीले सबैलाई म कोसिस गर्छु भनिराख्नु भएको छ । मलाई पनि कोसिस गर्छु भन्नुभयो । हेरौँ के गर्नुहुन्छ !’

ती सांसदका अनुसार प्रमुख सचेतक लेखक बाहेकका विषयमा देउवाले मुख खोलेका छैनन् । ‘अहिलेसम्म रमेश लेखकजीको मात्र पक्काजस्तो छ । मैले को–कोलाई पठाउने सोचमा हुनुहुन्छ भन्दा दुःख गरेको छ यार ! रमेशलाई बनाउँछु । तिमीलाई पनि कोसिस गर्छु भन्नु भयो । धेरै कुरा केही भएन, म फर्किएँ,’ ती सांसदले भने ।

बुढानीलकण्ठ पुगेर फर्किएका सांसदहरूका अनुसार मन्त्री छनोटको ठोस मापदण्ड बनाउने मुडमा देउवा देखिएका छैनन् । देउवाका स्वकीय सचिव भानुले भने मन्त्री छनोटको मापदण्डबारे केही दिनमा बैठक बस्ने बताए । ‘अहिलेसम्म केही छैन । मन्त्री छनोटको मापदण्ड बनाउन केही दिनमा नेताहरू बस्नुहुन्छ । अझै चार–पाँच दिन बाँकी नै छ,’ उनले भने ।

एमाले र कांग्रेसबिच सबै मन्त्रालयको टुङ्गो लागिसकेपछि पार्टीमा निर्णय हुने उनको भनाइ छ । ‘अहिलेसम्म एमाले र कांग्रेसका बिचमा मन्त्रालयको सबै टुङ्गो लागिसकेको छैन । एक–दुई दिनमा त्यो टुङ्गिएपछि पार्टीभित्र छलफल सुरु हुन्छ,’ भानुले भने, ‘एमालेले कुन कुन मन्त्रालय लिन्छ । कुन कुन पार्टी सरकारमा सहभागी हुन्छ भन्ने टुङ्गिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप