आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अजलको अर्को राष्ट्रिय कीर्तिमान

सोमबार, २४ असार २०८१, १७ : ०९
सोमबार, २४ असार २०८१

काठमाडौँ । अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले पुरुष एकसय मिटर बटरफ्लाई स्पर्धामा ५९.१७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि यो कीर्तिमान अनुभव सुब्बाको नाममा थियो । अनुभवले २५ औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा यो कीर्तिमान बनाएका थिए । त्यो प्रतियोगितामा अनुभवले निर्धारित दुरी ५९.७७ सेकेन्डमा पार गरेका थिए । 

यसअघि अजलले जारी प्रतियोगिताको पुरुष ५० मिटर बटरफ्लाई स्पर्धा २५.५२ सेकेन्डमा पुरा गर्दै पहिलो कीर्तिमान स्थापित गरेका थिए । प्रतियोगितामा कुल तीन राष्ट्रिय कीर्तिमान बने ।

थप एक कीर्तिमान दिवाकर अवाले बनाएका थिए । दिवाकरले भने पुरुष दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी दुई मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३ औँ दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माले बनाएको दुई मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

कीर्तिमानधारीले प्रत्येक कीर्तिमान वापत पाँच हजार रुपैयाँका दरले नगद पुरस्कार पाए । प्रतियोगितामा एक सय ६६ अंकसहित निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो ।

५३ अंकसहित सेन्ट मेरिज दोश्रो र ३६ अंकसहित जेम्स स्कुल तेश्रो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ, आयोजक नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वर कार्कीलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।

समापनका अवसरमा भारतको नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्ट्सको दुईसय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजार नगदसहित सम्मान गरिएको जानकारी आयोजक संघका सचिव गंगालाल गोलेले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप