आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
युरो २०२४

१७ औँ युरोकपमा चम्किएका यी १४ खेलाडी

सोमबार, २४ असार २०८१, १५ : ५९
सोमबार, २४ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करण जर्मनीमा चलिरहेको छ । प्रतियोगिता उत्तरार्धतिर पुगिसकेको छ । प्रतियोगितामा अब सेमिफाइनल र फाइनल खेलमात्र खेलिन बाँकी छ ।

प्रतियोगिताको सेमिफाइनलमा मंगलबार राति स्पेनले बलियो प्रतिद्वन्द्वी फ्रान्सको सामना गर्दैछ । दोस्रो सेमिफाइनल खेल बुधबार राति नेदरल्यान्ड्स र इङ्ल्यान्डबिच खेलिने छ ।

विश्वकप, युरोकप, कोपा–अमेरिकाजस्ता ठुला प्रतियोगिताले विश्व फुटबललाई केही नयाँ प्रतिभा र क्षमतावान् खेलाडी पनि उपहार दिने गरेको छ ।

यी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्षमतावान् युवा खेलाडीमाथि विश्वभरका चर्चित क्लबहरूले आँखा लगाउने गरेका छन् । त्यसैले युवा खेलाडी पनि यस्ता प्रतियोगितामा सकेसम्म उत्कृष्ट प्रदर्शनको प्रयास गर्छन् ।

जारी युरोकपमा पनि केही खेलाडी आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा छन् । रिकार्डो कालाफियोरी, निको विलियम्सजस्ता खेलाडीमाथि थुप्रै चर्चित क्लबले आँखा लगाएका छन् ।

त्यसैले यो युरोकपले अबको ट्रान्सफर विन्डोमा केही खेलाडीको भाग्य निर्धारण गर्न सक्ने सम्भावना देखिन्छ । १७औँ युरोकपमा चम्किएका यस्तै केही खेलाडीको बारेमा यहाँ चर्चा गरिएको छ ।

  • ज्याक बिजोल (स्लोभानिया)

ज्याक बिजोल स्लोभेनियाका डिफेन्सिभ मिडफिल्डर हुन् । स्लोभेनियालाई प्रि–क्वार्टरफाइनलसम्म पुर्‍याउन उनको भूमिका महत्त्वपूर्ण रह्यो । उनी हाल इटालियन क्लब युडिनेसबाट ब्यवसायिक फुटबल खेल्छन् ।

bijol

स्लोभेनियाको टोली प्रि–क्वार्टरफाइनलमा पोर्चुगलसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । बलियो पोर्चुगलले प्रि–क्वार्टरफाइनल खेलमा गोल गर्न सकेको थिएन । त्यसअघि समूहगत चरणमा पनि स्लोभेनियाको प्रदर्शन उत्कृष्ट थियो ।

स्लोभेनियाले डेनमार्क, सर्बिया र इङ्ल्यान्ड गरी आफ्ना तीनवटै प्रतिद्वन्द्वीलाई बराबरीमा रोकेको थियो । इङ्ल्यान्डले त स्लोभेनियाविरुद्ध गोलसम्म गर्न सकेन । स्लोभेनियाको यो प्रदर्शनमा २५ वर्षीय ज्याक बिजोलको प्रदर्शन सानदार रह्यो ।

ज्याक बिजोलले ह्यारी केन र क्रिस्टियानो रोनाल्डोको टोलीविरुद्ध गरेको प्रदर्शनका कारण अहिले थुप्रै क्लबले उनीमाथि आँखा गाडेको छ । युरोकपमा सहभागी हुनुअघि उनलाई इटालियन क्लब रोमाले भित्राउन चाहेको थियो । तर, अहिले अर्को इटालियन क्लब इन्टर मिलान र इङ्लिस क्लब एस्टन भिल्लाले पनि उनलाई भित्राउने तयारी अगाडि बढाएको छ ।

  • रिकार्डो कालाफियोरी (इटाली)

युरोकपको १७ औँ संस्करणमा चम्किएका अर्का खेलाडी रिकार्डो कालाफियोरी हुन् । २२ वर्षीय रिकार्डो हाल इटालियन क्लब बोलोग्नाबाट व्यावसायिक फुटबल खेल्छन् । जारी युरोकपमा साविक विजेता इटालीलाई उपाधिको बलियो बलियो दाबेदारका रूपमा हेरिएको थियो ।

तर, इटाली प्रि–क्वार्टरफाइनल खेलमै अप्रत्याशित रूपमा स्विट्जरल्यान्डसँग २–० गोलले पराजित भयो । इटाली समूहगत चरणको उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । समग्रमा इटालीको प्रदर्शन सन्तोषजनक नरहे पनि रिकार्डोको खेल भने उत्कृष्ट थियो ।

Riccardo Calafiori Italy 2024

लामो कपालमा ‘हेयर ब्यान्ड’ बाँधेर मैदानमा ओर्लने यी सेन्टर ब्याकका कारण नै इटालीको नकआउट चरणको यात्रा सम्भव भएको थियो । आफ्नो बायाँ खुट्टाले साथीहरुलाई सटिक पास उपलब्ध गराउन पनि उनी खप्पिस छन् ।

यद्यपि, समूहगत चरणको स्पेनविरुद्धको खेलमा उनीबाट एउटा आत्मघाती गोल भएको थियो । उनी स्विट्जरल्यान्डविरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा भने सहभागी थिएनन् । दोहोरो पहेँलो कार्ड पाएका कारण उनी त्यो खेल खेल्नबाट वञ्चित भएका थिए ।

जारी युरोकपमा उत्कृष्ट प्रदर्शनकै कारण आर्सनल, लिभरपुल, चेल्सीजस्ता चर्चित क्लबहरू उनलाई अनुबन्ध गर्न सक्रिय भएका छन् । बोलोग्नालाई च्याम्पियन्स लिगमा छनोट गराउन पनि उनको योगदान महत्त्वपूर्ण थियो ।

  • मार्क गुइही (इङ्ल्यान्ड)

इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली सेन्टर ब्याक हुन्, मार्क गुइही । जारी युरोकपमा उनको प्रदर्शन लोभलाग्दो रह्यो । जारी युरोकपमा आफ्नो उत्कृष्ट प्रदर्शनका कारण उनले धेरैको मन पनि जितेका छन् ।

२३ वर्षीय मार्क हाल इङ्लिस क्लब क्रिस्टल प्यालेसबाट व्यावसायिक फुटबल खेल्छन् । जारी युरोकपमा इङ्ल्यान्डलाई सेमिफाइनलमा पुर्‍याउने उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । समूहगत चरणमा पनि इङ्ल्यान्ड अपराजित रह्यो ।

Marc Guehi England 2024 (4)

इङ्ल्यान्डको यो अभियानमा मार्क आफ्नो भूमिकामा शतप्रतिशत खरो ओर्लिएका छन् । पछिल्लो समय मार्कमाथि प्रिमियर लिगका चर्चित क्लबहरूले आँखा गाडेका छन् । क्रिस्टल प्यालेस पनि हालको भन्दा बढी पारिश्रमिकमा उनलाई क्लबमै रोक्ने तयारीमा देखिन्छ ।

  • फर्डी काडियोग्लु (टर्की)

युरोकपको १७औँ संस्करणमा टर्कीले आफ्नो ‘डार्क हर्स’ को छविलाई कायम राख्यो । एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै टर्की प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुग्न सफल भयो । क्वार्टरफाइनलमा भने टर्कीको टोली बलियो नेदरल्यान्ड्सँग १–२ गोलले पराजित हुन पुग्यो ।

GOAL - Blank WEB - Facebook - 2024-07-02T144626.340

त्यसअघि टर्कीले प्रि–क्वार्टरफाइनलमा अस्ट्रियालाई २–१ गोलले हराएको थियो । समूहगत चरणमा पनि टर्कीको प्रदर्शन उत्कृष्ट थियो । टर्कीको उत्कृष्ट प्रदर्शनमा फर्डी काडियोग्लुको योगदान महत्त्वपूर्ण रहेको थियो । उनको प्रभावकारी प्रदर्शन पनि टोलीको सफलताको कारण बन पुग्यो ।

२४ वर्षीय फर्डी हाल टर्कीको क्लब फेनरबाचेबाट ब्यवसायिक फुटबल खेल्छन् । उनी टोलीका प्रभावशाली मिडफिल्डर हुन् । पछिल्लो समय वेस्ट हाम, उल्भ्स, म्यानचेस्टर युनाइटेड र आर्सनलले उनलाई क्लबमा आबद्ध गर्न चाहेका छन् ।

  • खभिचा कभारात्सकेलिया (जर्जिया)

जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन्, खभिचा कभारात्सकेलिया । २३ वर्षीय विंगरले यसअघि युरोकपजस्तो ठुलो प्रतियोगिता खेलेका थिएनन् । त्यसैले युरोकप सुरु हुनुअघि उनीबाट ठुलो आशा पनि गरिएको थिएन ।

Khvicha Kvaratskhelia

तर, उनले जारी युरोकपमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे । जर्जियालाई प्रतियोगिताको अन्तिम १६ मा पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जर्जिया समूहगत चरणबाट तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा पुगेको थियो ।

जारी युरोकपको समूहगत चरणमा जर्जियाले बलियो पोर्चुगलमाथि २–० गोलको अप्रत्याशित जित हात पार्दा खभिचा कभारात्सकेलियाले पनि एक गोल गरेका थिए । अन्य खेलमा पनि उनको प्रदर्शन स्तरीय रहेको थियो ।

उनी हाल इटालियन क्लब नापोलीबाट व्यावसायिक फुटबल खेल्छन् । तर, जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गरेपछि चर्चित फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनले पनि उनलाई भित्र्याउन चासो देखाएको समाचारमा जनाइएको छ ।

  • जियोर्गी मामार्दशभिली (जर्जिया)

आफ्नो पहिलो सहभागितामै जर्जियाले युरोकपजस्तो ठुलो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्‍यो । जर्जिया गजबको प्रदर्शन गर्दै प्रतियोगिताको प्रि–क्वार्टरफाइनलसम्म पुग्न सफल भयो । जारी युरोकपमा जर्जियाका केही खेलाडीको प्रदर्शन निकै स्तरीय रह्यो ।

त्यसैमध्ये एक हुन्, जियोर्गी मामार्दशभिली । उनी टोलीका गोलरक्षक हुन् । उनले यो युरोकपमार्फत आफू विश्वकै उत्कृष्ट गोलरक्षकमध्ये एक भएको सन्देश पनि दिए । २३ वर्षीय जियोर्गी हाल स्पेनिस क्लब भ्यालेन्सियाबाट व्यावसायिक फुटबल खेल्छन् । 

Giorgi Mamardashvili

जारी युरोकपको समूहगत चरणमा जर्जियाले केवल चार गोल खायो । जियोर्गीको उत्कृष्ट प्रदर्शनका कारण नै यो सम्भव भएको थियो । यदि जर्जियाले समूहगत चरणमा बढी गोल खाएको भए नकआउट चरणमा पुग्न असफल हुने थियो ।

जर्जियाले समूहगत चरणमा विपक्षीको पोस्टमा पनि चार गोल नै गर्‍यो । जर्जियाको टोली अन्तिम १६ चरणमा भने स्पेनसँग १–४ गोलले पराजित भएको थियो । पछिल्लो समय उनीमाथि चेल्सी, लिभरपुल र न्युक्यासलले पनि आँखा गाडेका छन् ।

  • जर्जेस मिकाउटाडेज (जर्जिया)

युरोकपको १७औँ संस्करणमा चर्चा बटुल्ने अर्का जर्जियन खेलाडी हुन्, जर्जेस मिकाउटाडेज । २३ वर्षीय जर्जेस टोलीका प्रभावशाली स्ट्राइकर हुन् । उनी हाल फ्रान्सेली क्लब मेट्जबाट व्यावसायिक फुटबल खेल्छन् ।

Georges Mikautadze

तर, जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनीप्रति अन्य क्लबले पनि चासो देखाउन थालेका छन् । जारी युरोकपको समूहगत चरणको खेलमा जर्जियाले कुल चार गोल गरेको थियो । त्यसमध्ये तीनवटा गोल त एक्लै जर्जेसले गरेका थिए । उनले टर्की, चेक गणतन्त्र र पोर्चुगलविरुद्धको खेलमा एक–एक गोल गरेका थिए ।

उनी हालसम्म जारी युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा आसीन छन् । त्यसैले यो युरोकपले चर्चाको शिखरमा पुर्‍याएका खेलाडीमध्ये जर्जेसको नाम अग्रस्थानमा आउँछ । इङ्लिस क्लब वेस्ट हामले उनलाई भित्राउन निकै प्रयास गरिरहेको समाचारमा जनाइएको छ । यसका अतिरिक्त मोनाकोले पनि उनलाई भित्राउन चाहेको छ ।

  • म्याक्सिमिलियन मिटलस्टाड (जर्मनी)

जर्मनीका लेफ्ट–ब्याक हुन्, म्याक्सिमिलियन मिटलस्टाड । २७ वर्षीय म्याक्सिमिलियन नयाँ खेलाडी भने होइनन् । तर, जर्मनीको राष्ट्रिय टोलीबाट उनले धेरै खेल खेलेका छैनन् । युरोकपमा पनि यो उनको पहिलो सहभागिता हो ।

Maximilian Mittelstadt

उनी सन् २०२३ मा जर्मन क्लब भीएफबी स्टुटगार्टमा आबद्ध भएका थिए । जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये उनी पनि एक हुन् । यद्यपि, जर्मनी यो युरोकपमा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन । जर्मन टोली क्वार्टरफाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–२ गोलले पराजित भयो ।

तर, जर्मनीलाई क्वार्टरफाइनलसम्म पुर्‍याउन म्याक्सिमिलियनको योगदान महत्त्वपूर्ण रह्यो । खासगरी समूहगत चरणमा हंगेरीविरुद्धको खेलमा उनको प्रदर्शन दर्शनीय थियो । समूहगत चरणमा अपराजित रहँदै जर्मनी अघिल्लो चरणमा पुगेको थियो । जारी युरोकपमा उनको चर्चा पनि निकै चुलिएको छ ।

  • डान एन्डोय (स्विट्जरल्यान्ड)

युरोकपको १७ औँ संस्करणमा स्विट्जरल्यान्डको टोली एकपछि अर्को अप्रत्याशित नतिजा निकाल्दै क्वार्टरफाइनलसम्म पुगेको थियो । क्वार्टरफाइनलमा स्विस टोलीलाई इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा ३–५ गोलले हराएको थियो ।

त्यसअघि प्रि–क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले उपाधिको बलियो दाबेदार मानिएको इटालीलाई २–० गोलले पाखा लगाएको थियो । प्रतियोगिताको समूहगत चरणमा पनि स्विट्जरल्यान्ड अपराजित रहेको थियो ।

Dan Ndoye

जारी युरोकपमा स्विट्जरल्यान्डको उत्कृष्ट प्रदर्शनमा डान एन्डोयको योगदान महत्त्वपूर्ण रह्यो । उनी युवा पुस्ताका उदीयमान स्विस खेलाडी हुन् । स्विस टोलीलाई युरोकपमा छनोट गराउन पनि २३ वर्षीय डान एन्डोयको प्रदर्शन महत्त्वपूर्ण थियो ।

उनले जारी युरोकपको समूहगत चरणमा जर्मनीविरुद्ध दर्शनीय खेल पस्किएका थिए । उनले त्यो खेलमा गोल पनि गरेका थिए । त्यो खेलमा बलियो जर्मनी १–१ गोलको बराबरीमा रोकिएको थियो । उनी हाल बोलोग्नाबाट व्यावसायिक फुटबल खेल्छन् ।

तर, युरोकप चलिरहँदा उनका एजेन्टले छिट्टै उनी चर्चित क्लबमा आबद्ध हुने रहस्य खोलेका छन् । सम्भवतः उनी निकट भविष्यमै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुने अनुमान गरिएको छ । यसका अतिरिक्त इन्टर मिलानले पनि उनीप्रति चासो देखाएको छ ।

  • ड्यानी ओल्मो (स्पेन)

ड्यनी ओल्मो स्पेनिस टोलीका आक्रामक मिडफिल्डर हुन् । मैदानमा लेफ्ट विंगरको रूपमा उनको भूमिका निकै प्रभावकारी रहने गरेको छ । २६ वर्षीय ड्यानी हाल जर्मन क्लब आरबी लेइपजिगबाट व्यावसायिक फुटबल खेल्छन् ।

जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये उनी पनि एक हुन् । प्रारम्भिक चरणमा स्पेनलाई तीनवटै खेल जिताउँदै समूह विजेता बनाउन पनि उनको भूमिका महत्त्वपूर्ण थियो । उनले प्रि–क्वार्टरफाइनल खेलमा स्पेनले जर्जियालाई हराउँदा एक गोल पनि गरेका थिए ।

Dani Olmo

यसका अतिरिक्त उनले जर्मनीविरुद्धको क्वार्टरफाइनल खेलमा पनि आफ्नो टोलीलाई विजयी बनाउन एक गोल गरेका थिए । हाल स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ र फाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्दैछ । सेमिफाइनल खेलमा पनि ड्यानी ओल्मोबाट उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ ।

उनी पनि जारी युरोकपको समाप्तिपछि कुनै प्रभावशाली क्लबमा आबद्ध हुने सम्भावना प्रबल छ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनादेखि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसम्मले उनीमाथि आँखा लगाएको छ ।

  • फाबियन रुइज (स्पेन)

स्पेनिस टोली युरोकपको १७औँ संस्करणको उपाधितर्फ लम्किरहेको छ । स्पेनलाई प्रतियोगिताको सेमिफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्ने अर्का प्रभावशाली खेलाडी २८ वर्षीय फाबियन रुइज पनि हुन् ।

यी प्रभावशाली मिडफिल्डर हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनबाट व्यावसायिक फुटबल खेल्छन् । उनी जारी युरोकपमा स्पेनको सबैभन्दा ठुलो शक्तिका रूपमा पनि देखिएका छन् । पछिल्लो समय उनले क्लबका लागि सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

Fabian Ruiz (Spain)

तर, युरोकपमा देशका लागि उनले उनको प्रदर्शन उदाहरणीय देखिन्छ । उनले जारी युरोकपको अन्तिम १६ चरणको जर्जियाविरुद्धको खेलमा गोल गरेका थिए । त्यसअघि उनले समूहगत चरणमा क्रोएसियाविरुद्ध पनि गोल गरेका थिए ।

उनले गोलका लागि थुप्रै उत्कृष्ट पास पनि उपलब्ध गराएका छन् । जारी युरोकपको प्रदर्शनपछि पीएसजीले पक्कै पनि उनलाई गुमाउन चाहने छैन । पछिल्लो समय टोट्टनहाम, रियल बेटिस, एट्लेटिको मड्रिडलगायतका क्लबले पनि उनीमाथि आँखा गाडेका छन् ।

  • निकोलस सेइवाल्ड (अस्ट्रिया)

युरोकपको १७औँ संस्करणमा अस्ट्रियाले उत्कृष्ट प्रदर्शन गर्‍यो । समूहगत चरणमा विजेता बन्दै अस्ट्रिया नकआउट चरणमा प्रवेश गरेको थियो । समूहगत चरणमा अस्ट्रियाले नेदरल्यान्ड्सलाई ३–२ र पोल्यान्डलाई ३–१ गोलले हराएको थियो ।

अस्ट्रियाको यो लोभलाग्दो सफलतामा २३ वर्षीय डिफेन्सिभ मिडफिल्डर निकोलस सेइवाल्डको योगदान महत्त्वपूर्ण थियो । यद्यपि, प्रि–क्वार्टरफाइनल खेलमा अस्ट्रियन टोली टर्कीसँग १–२ गोलले पराजित हुन पुगेको थियो ।

Nicolas Seiwald

‘डार्क हर्स’ को छवि बनाएको अस्ट्रियालाई नकआउट चरणमा पुर्‍याउन टोलीका सबै खेलाडीको प्रदर्शन उत्कृष्ट थियो । तर, त्यसमध्ये पनि निकोलस सेइवाल्डको चर्चा बढी भयो । उनी हाल आरबी लेइपजिगबाट व्यावसायिक फुटबल खेल्छन् ।

खासगरी उनीको बलमाथि नियन्त्रण राख्ने शैली र साथीहरूलाई पास उपलब्ध गराउने कला गजबको देखिन्छ । जारी युरोकपको प्रदर्शनपछि क्लब फुटबलमा पनि उनको चर्चा चुलिएको छ ।  

  • जाभी सिमोन्स (नेदरल्यान्ड्स)

जाभी सिमोन्स नेदरल्यान्ड्सका युवा खेलाडी हुन् । डच टोलीलाई १७औँ युरोकपको सेमिफाइनलमा पुर्‍याउन पनि २१ वर्षीय यी आक्रामक मिडफिल्डरले प्रमुख भूमिका निर्वाह गरेका छन् ।

Xavi Simons

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यावसायिक फुटबल खेल्ने सिमोन्स हाल लोनमा आरबी लेइपजिग पुगेका छन् । लेइपजिगमा उत्कृष्ट प्रदर्शन गरेका कारण नै उनले युरोकपका लागि टोलीमा स्थान पाएका थिए ।

यो सिजन लेइपजिगको २५ गोलमा उनको योगदान रह्यो । उनले युरोकपमा पनि टोलीका लागि गतिलो प्रदर्शन गरे । उनले यो युरोकपमा तीनवटा गोलका लागि पास उपलब्ध गराएका छन् । पछिल्लो समय बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड र आर्सनलजस्ता ठुला क्लबले गतिलो पारिश्रमिकमा उनलाई आबद्ध गर्ने योजना बनाएका छन् ।

  • निको विलियम्स (स्पेन)

१७औँ युरोकपमा स्पेनलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्ने अर्का खेलाडी विंगर निको विलियम्स पनि हुन् । २१ वर्षीय निको विलियम्स जारी युरोकपमा गतिलो चर्चा बटुल्ने खेलाडीमध्ये एक पनि हुन् ।

Nico Williams

उनी हाल स्पेनिस क्लब एथलेटिक बिल्बाओबाट व्यावसायिक फुटबल खेल्छन् । उनले जारी युरोकपमा टोलीका अनुभवी खेलाडीलाई गतिलो साथ दिएका छन् । जर्जियाविरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा उनले एक गोल पनि गरेका थिए ।

पछिल्लो समय चर्चित क्लबहरू उनलाई भित्र्याउन लालायित देखिन्छन् । यो सूचीमा स्पेनिस क्लब बार्सिलोना र इङ्लिस प्रिमियर लिग क्लब चेल्सी पनि रहेका छन् । 

गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप