आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

दाँत माझ्ने ब्रसमा हुन्छन् १२ लाख ब्याक्टेरिया

सोमबार, २४ असार २०८१, १३ : ५८
सोमबार, २४ असार २०८१

काठमाडौँ । दाँतलाई सफा राख्न हामी नियमित रूपमा ब्रस गर्छौँ । तर कयौँ महिनासम्म एउटै ब्रस प्रयोग गरिरहेका हुन्छौँ । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । 

एक पटक दाँत माझिसकेको ब्रसमा १२ लाख भन्दा धेरै ब्याक्टेरिया हुन सक्छन् । न्यूयोर्क स्टेट डेन्टल जर्नलको रिपोर्टअनुसार प्रयोगमा आइसकेका ७० प्रतिशत टुथब्रस यी ब्याक्टेरियाले दूषित भइसकेका हुन्छन् । 

जसका कारण स्वास्थ्य समस्या या ब्याक्टेरियल इन्फेक्शन हुने खतरा हुन्छ । टुथब्रसलाई राम्रोसँग राख्ने हो र सामान्य सरसफाइलाई ध्यान दिने हो भने यी खतरालाई कम गर्न सकिन्छ ।

टुथब्रसमा कुन कुन ब्याक्टेरिया हुन सक्छन् ?

इंग्ल्याण्डको म्यानचेस्टर युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार टुथब्रसमा ई. कोली ब्याक्टेरिया हुन सक्छ । यसले बान्ता वा पखाला गराउने जस्ता समस्या निम्त्याउन सक्छन् । यसबाहेक टुथब्रसमा स्टेफिलोकोसी (स्टेफ) ब्याक्टेरियाको खतरा पनि हुन सक्छ । यो ब्याक्टेरियाले छालामा सङ्क्रमण गराउँछ ।

टुथब्रस कति दिनमा फेर्नुपर्छ ?

दाँत माझ्ने ब्रश हरेक तीन/तीन महिनामा फेर्नुपर्छ । दाँत माझिरहँदा यसको ब्रिस्टल बिग्रन सक्छ वा ब्रिस्टलको आकार परिवर्तन हुन सक्छ । यस्तो अवस्थामा टुथब्रसको ब्रिस्टलमा ब्याक्टेरिया बढ्न सक्छ । कुनै रोग निको भएको छ भने पनि टुथब्रस परिवर्तन गर्नु राम्रो हुन्छ ।

घरमै टुथब्रसलाई सफा गर्न सकिन्छ ?

नियमित रूपमा टुथब्रस सफा गरिएन भने यसको ब्रिस्टलहरूमा फोहोर लुकेर बस्न सक्छन् । यस्तो अवस्थामा टुथब्रसलाई हरेक दिन प्रयोग गर्नु अघि र पछि सामान्य वा मनतातो पानीले राम्ररी धुनुस् । यो त भए दिनँहु गरिने काम । यस बाहेक अरू सावधानी अपनाउन चाहने हो भने तपाईं यी चरणहरू पालना गर्न सक्नुहुन्छः

टुथब्रसबाट ब्याक्टेरिया पूर्ण रूपमा हटाउन तपाईं अल्कोहलयुक्त माउथवाश, ३ प्रतिशत हाइड्रोजन पेरोक्साइड वा भिनेगर जस्ता चीजहरू प्रयोग गर्न सक्नुहुन्छ । यी सबै चिजलाई एउटा कपमा हाल्नुस् अनि यसमा टूथब्रसको ब्रिस्टल डुबाउनुस् । ब्रशलाई १० देखि १५ मिनेटसम्म त्यही कपमा छाडिदिनुस् । अन्ततः केमिकलबाट टुथब्रस हटाउनुस् अनि पानीले राम्ररी धुनुस् । यो प्रक्रिया अपनाउँदा टुथब्रस किटाणुमुक्त हुनेछ ।

टुथब्रसलाई ब्याक्टेरियाबाट बचाउन यी टिप्स अपनाउन सक्नु हुन्छः

– ब्रस गर्नु अघि र पछि हात राम्ररी धुनुस् ।

–हरेक तीन महीनामा ब्रस फेर्नुस् ।

–बिस्रल्स बिग्रिएको टुथब्रस नचलाउनुस् ।

–ब्रसलाई शौचालयभन्दा टाढा राख्नुस् ।

–टुथब्रस खाट, सोफा जस्ता ठाउँहरूमा नराख्नुस् ।

–आफ्नो टुथब्रसलाई अरुको टुथब्रससँग नराख्नुस् ।

–घुमफिर वा यात्राको समयमा कभर लगाएर मात्रै टुथब्रस लैजानुस् ।

–परिवारमा कोही बिरामी छ भने उसको टुथब्रस अरुको भन्दा अलग्गै राख्नुस् । 

टुथब्रस राख्ने सबैभन्दा सुरक्षित तरिका के हो ?

धेरैजसो मानिसहरू आफ्नो टुथब्रस बाथरुम वा शौचालयभित्रै राख्छन् । शौचालय फ्लस गर्दा केही ब्याक्टेरिया हावामा उडेर आउँछन् र केही टुथब्रसमा पनि टाँसिन सक्छन् । बाथरुम र शौचालय सँगै छ भने टूथब्रसलाई बाथरुमबाट बाहिर राख्नुस् । फ्लस गर्नु अघि प्यानको ढक्कन बन्द गर्नुस् ।

दिनमा कति पटक र कति समयसम्म दाँत माझ्नुपर्छ ?

अमेरिकन डेन्टल एसोसिएसन (एडीए)ले दिनमा दुई पटक टूथब्रस गर्न सिफारिस गरेको छ । एक पटक ब्रस गर्दा कम्तिमा दुई मिनेट गर्न भनिएको छ । राति सुत्नुअघि र बिहान खाजा खाइसकेपछि ब्रस गर्नुपर्छ । धेरैजसो मानिसहरु बिहान खाली पेट दाँत माझ्ने गर्छन् । त्यसपछि नाश्ता गर्छन् । यसो गर्दा बिहानको खाजापछि दाँतको बिचमा अड्किएर बसिरहन्छ । बिहानको खाना खाएपछि ब्रस गर्दा दाँतको बिचमा जमेको खाना र फोहोर हटाउन मद्दत मिल्छ ।

दाँतमा चिपचिप सेतो तह जम्मा हुन्छ, जसलाई प्लाक भनिन्छ । यसलाई सफा गर्न जरुरी छ । तर यो पूर्ण रूपमा हटाइएन भने क्याभिटी लेयर एक्सपोज हुन्छ । त्यसैले सधैं हलुका हातले ब्रश गर्नु पर्छ । ब्रस गर्नुका साथै दिनमा एक पटक दाँतको बिचमा सफा गर्नु पर्छ । यसका लागि डेन्टल फ्लस वा अन्य इन्टरडेन्टल क्लिनर जस्तै फ्लस पिक्स वा वाटर फ्लसर प्रयोग गर्न सकिन्छ । तपाईँसँग फ्लसर छैन भने पानीले कुल्ला गर्न पनि सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप