आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

इन्डोनेसियाकाे सुनखानीमा पहिरो, १२ जनाको मृत्यु

सोमबार, २४ असार २०८१, १३ : ३४
सोमबार, २४ असार २०८१

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुमा केही दिनदेखि परेको अविरल वर्षाका कारण ठुलो दुर्घटना भएको छ । सुलावेसी टापुमा रहेको एउटा अवैध सुन खानीमा पहिरो गएको छ । पहिरोका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । अरू १८ जना बेपत्ता भएको बताइएको छ ।

स्थानीय गोरोन्तालो प्रान्तको सुमावा जिल्लामा आइतबार बिहान गएको पहिरोमा परेर खानी र अवैध उत्खनन् क्षेत्र नजिकै बसोबास गर्ने कामदार र बासिन्दाको मृत्यु भएको स्थानीय उद्धार एजेन्सी बसर्नासका प्रमुख हेर्यान्टोले बताएका छन् । यस घटनामा माटोमुनि पुरिएका ५ जनाको सकुशल उद्धार गरिएको पनि बताइएको छ । यद्यपि उद्धार टोलीले सोमबार पनि बेपत्ता १८ जनाको खोजी गरिरहेको थियो ।

उद्धार कार्यमा समस्या

राष्ट्रिय उद्धार टोली, पुलिस र सेनाका कर्मचारीहरूसहित १६४  कर्मचारीहरू मिलेर बेपत्ता व्यक्तिहरूको खोजी कार्य भइरहेको छ । तर उद्धारकर्मीहरूलाई पहिरो स्थलसम्म पुग्न करिब २० किलोमिटर (१२ दशमलव ४३ माइल) दुरी पार गर्नु परिरहेको छ । लगातारको वर्षाका कारण उद्धार कार्यमा समस्या भइरहेको बताइएको छ । पहिरोका कारण केही घरहरु पनि ध्वस्त भएका छन् ।

इन्डोनेसियाको प्रकोप एजेन्सी (बीएनपीबी) ले पहिरोबाट धेरै घर र एउटा पुलमा क्षति पुगेको जनाएको छ । गोरोन्तालो प्रान्तका केही क्षेत्रमा सोमबार र मङ्गलवार पनि पानी पर्न सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

अप्रिलमा दक्षिणी सुलावेसीमा मुसलधारे वर्षाबिच पहिरो जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । मे महिनामा इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप