दोधारा चाँदनीमा २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा
कैलाली । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले कञ्चनपुरको दोधारा चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ ।
कार्यालयका प्रमुख सञ्जय साहले भने, “दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षा मापन गरिएको थियो ।” अति भारी वर्षापछि दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ ।
धनगढीमा गएको १२ घण्टामा एकसय ८४ दशमलव सात मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन साहले आग्रह गरे। दुई सय मिमिभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।
अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् ।
डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्व सूचना दिने यन्त्र गए रातिको बाढीले बगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैंसेपाटी घटना : हनिट्रयापमा संलग्न आरोपमा थप १ जना पक्राउ
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो
-
सुनको मूल्य तोलामा १ लाख ६१ हजार
-
भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बीपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै
-
राउत प्रधानन्यायाधीश नियुक्त
-
हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव