आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बाढीले बगाएर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता

सोमबार, २४ असार २०८१, ११ : ०८
सोमबार, २४ असार २०८१

कञ्चनपुर ।  वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना वेपत्ता भएका छन् । नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ । 

यस्तै आइतबार नै कञ्चनपुरको बेलडाँडी गाउँपालिका––३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार डडेलधुरा पर्शुराम नगरपालिका–३ का ५६ वर्षीय नवराज पनेरुको पहिरोमा पुरिएर मृत्यु भएको थियो । गाउँ नजिकैको भातगडा भन्ने ठाउँमा रहेको खानेपानीको मुहान सरसफाइ गर्ने क्रममा माथिबाट खसेको पहिरोमा परी पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । 

अविरल वर्षासँगै ती दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप