आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
बुक बिल्डिङ

सर्वसाधारणबाट १ अर्ब ५८ करोड उठाएर ‘रिलायन्स स्पिनिङ मिल्स’ले के गर्दैछ ?

सोमबार, २४ असार २०८१, ११ : ४५
सोमबार, २४ असार २०८१

काठमाडौँ । यतिबेला बजारमा रिलायन्स स्पिनिङ मिल्सको निकै चर्चा छ । बुक बिल्डिङमार्फत उच्च मूल्यको प्रियिमयम सेयर जारी गर्न लागेको कम्पनीको वित्तीय पाटो, हालसम्म कम्पनीले गरेको लगानी र प्रतिफललाई जोडेर विभिन्न कोणबाट बहस सुरु भएको हो ।

पहिलो पटक आईपीओमार्फत सर्वसाधारणमा जान लागेको कम्पनीको भावी उद्देश्यमाथि सबैले चासो राखेका छन् । ईटहरी–१२, सुनसरीमा स्थापित रिलायन्स स्पिनिङ मिल्स अर्थात् धागो उत्पादन उद्योगले छिटै सर्वसाधारणमा १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्दैछ ।

reliance spinning mills (7)

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोडको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६ सय कित्ता सेयर जारी गर्न लागेको हो । वैदेशिक रोजगारीमा गएकाहरूका लागि पहिलो चरणमा असार २७ गते सेयर जारी गर्न लागेको कम्पनीले यसलगत्तै सर्वसाधारणका लागि सेयर जारी गर्ने जनाएको छ । कुल निष्कासितको ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर संस्थागत लगानीकर्तालाई छुट्ट्याएको कम्पनीले बाँकी ६० प्रतिशत (११ लाख ५५ हजार ९६० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, स्थानीय प्रभावित लगायत सर्वसाधारणलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

reliance spinning mills (1)

तर, एक सय रुपैयाँ अङ्कित सेयर मूल्यमा ७२०.८० रुपैयाँ प्रिमियम थप गर्दै ८२० रुपैयाँ ८० पैसा तोकिएपछि लगानीकर्ता सशङ्कित हुन पुगेका छन् । कम्पनीको प्रिमियम आईपीओका लागि सर्वसाधारण लगानीकर्ताले कम्तीमा ५० कित्ताका लागि ४१ हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ ।

  • सर्वसाधारणबाट १ अर्ब ५८ करोड उठाएर के गर्दैछ कम्पनी ?

कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०५१ वैशाख २८ गते र उद्योग विभागबाट २०५२ भदौ १९ गतेबाट ए वर्गको ठुलो उद्योग सञ्चालन स्वीकृति पाएको रिलायन्स स्पिनिङ मिल्सले छिमेकी मुलुक भारतसँगै थाइल्याण्ड, कोरिया, जापान लगायत विभिन्न देशबाट कच्चा पदार्थ ल्याएर कटन, भिस्कास/सिन्थेटिक, उन, एक्रेलिक धागो उत्पादन गर्ने गर्छ ।

reliance spinning mills (2)

उद्योगबाट उत्पादन भएको तयारी धागो भारतसँगै तेस्रो मुलुक इटाली, टर्की, दुबई, मलेसिया, बेलायत लगायतका देशमा निर्यात हुने गरेको कम्पनीका उपाध्यक्ष तथा मानव संसाधन विभाग प्रमुख महेश पोखरेल बताउँछन् ।

‘उद्योगको उत्पादन क्षमता वार्षिक ४८ हजार ९६० मेट्रिक टन बराबर हो । यसमध्ये २० देखि २५ प्रतिशत उत्पादन स्वदेशी बजारमै खपत हुन्छ । बाँकी उत्पादन छिमेकी मुलुक भारतसँगै अन्य तेस्रो मुलुक टर्की, दुबई, मलेसिया लगायतका देशमा निर्यात हुन्छ । स्वदेशी उत्पादन अल्लोको विदेशमा राम्रो माग भए पनि कच्चा पदार्थ उत्पादन गर्न नसक्दा माग अनुसार आपूर्ति दिन सकिएको छैन,’ पोखरेलले भने ।

reliance spinning mills (10)

रियालयन्स स्पिनिङ मिलले हाल उद्योग ए र उद्योग बी गरेर दुई वटा स्थानमा उद्योग चलाइरहेको छ । जापानी उच्च टेक्नोलोजीमा आधारित मेसिनबाट ईटहरी नगरपालिका १२ खनारमा मूल उद्योग स्थापना गरी धागो उत्पादन गरिरहेको रिलायन्सले शाखा उद्योगको रूपमा इटहरी नगरपालिका ४, दुहबीमा उद्योग ‘बी’ सञ्चालन गरिरहेको छ । निकट भविष्यमै थप आईपीओ मार्फत लगानी जुटाउन लागेको कम्पनीले उद्योग ‘सी’ को योजना बनाएको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

‘उद्योग सञ्चालनको २७ वर्षपछि किन कम्पनी पब्लिकमा जानुपर्‍यो, फेरि के गर्न लाग्यो ? भन्नेजस्ता प्रश्न बजारमा उठ्नु स्वाभाविक हो । तर, सर्वसाधारणबाट लगानी उठाएर संस्थापक सञ्चालकहरूले कम्पनी छाड्न लागेका होइनन् । बरु अझ लगानी बढाएर उत्पादनलाई बृहत् र विस्तार गर्न खोजिएको हो,’ पोखरेलले भने ।

reliance spinning mills (9)

कम्पनीमा औद्योगिक घराना गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानी छ । पछिल्लो वित्तीय रिपोर्ट अनुसार हाल कम्पनीको कुल अधिकृत पुँजी २ अर्ब ६० करोड रुपैयाँ रहेकोमा जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ७१ करोड रुपैयाँ छ । प्रिमियम मूल्यका आधारमा कम्पनीले थप आईपीओ मार्फत थप १ अर्ब ५८ करोड १३ लाख ५३ हजार २८० रुपैयाँ लगानी जुटाउँदैछ ।

  • घट्दो नाफा तर महँगो सेयर

सञ्चालनको झण्डै तीन दशकपछि बल्ल पब्लिक (सर्वसाधारण) मा जान लागेको कम्पनीको खास विवाद प्रिमियम सेयर मूल्यमा देखिन्छ । कम्पनीले प्रिमियम सेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकेको छ । तर, कम्पनीको वित्तीय स्थिति हेर्ने हो भने पछिल्लो तीन आर्थिक वर्षमा त्यति सन्तोषजनक छैन । आर्थिक वर्ष २०७७/७८ मा ८९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ४ करोड रुपैयाँ र २०७९/८० मा १ अर्ब २ करोड नाफा कमाएको छ । यी तीन आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) क्रमशः ५३.९१ रुपैयाँ, ६१.१२ रुपैयाँ र ५४.१२ रुपैयाँ छ ।

reliance spinning mills (8)

चालु आर्थिक वर्षको ९ महिनाको समेत अपरिष्कृत वित्तीय रिपोर्ट सार्वजनिक गरिसकेको कम्पनीले समीक्षा अवधिमा जम्मा २ करोड ६३ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । प्रतिसेयर आम्दानीका हिसाबले यो जम्मा ०.९३ रुपैयाँ बराबर हो । तर पनि कम्पनीले अङ्कित मूल्यमा ७२० रुपैयाँ ८० पैसा थपेर प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरिरहेको छ ।

reliance spinning mills (6)

कम्पनी घाटामा जान थालेपछि पब्लिकलाई भिडाउन खोजिएको हो ? भन्ने प्रश्नमा उपाध्यक्ष पोखरेलले भने, ‘यसो होइन । कम्पनी अहिले पनि राम्रो नाफामा छ । एकैवर्ष अर्बमाथिको नाफा कमाइरहेको कम्पनी यो वर्षमात्र केही खस्किएको हो । आर्थिक मन्दी, लोडसेडिङ विविध कारणले गर्दा उत्पादन बढ्न सकेन । त्यसैले आम्दानी घट्यो । तर, अब हामी पूरै तयारीका साथ काममा लागिरहेका छौँ । विद्युतको समस्याको पनि अब छिटै हल हुँदैछ । कम्पनी आफैँले १२ मेगावाट बराबरको सोलार प्लान्ट राख्दैछ । थप जग्गा भाडामा लिएर उद्योग सी प्लान्ट बनाउँदै छौँ । यसका लागि लगानी जुटाउनु परेको हो ।’

reliance spinning mills (3)

नेपाल विद्युत् प्राधिकरणबाट १४ मेगावाट विद्युत् उपभोगको स्वीकृति लिएको कम्पनीले हाल दैनिक औसत २.५ लाख युनिट विद्युत् खपत गरिरहेको छ । यसको अतिरिक्त कम्पनीले १० मेगावाट बराबरको ऊर्जा डिजल/एफओबाट उत्पादन गरी खपत गरिरहेको पोखरेलले जानकारी दिए । विद्युत् प्राधिकरणलाई भने कम्पनीले मासिक सरदर ६ करोड रुपैयाँ विद्युत् महसुल बुझाइरहेको छ ।

reliance spinning mills (4)

उच्चतम आत्मविश्वासका साथ औद्योगिक इमानदारिता कायम राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुसार गुणस्तरीय धागो उत्पादन र निर्यातलाई जोड दिने प्रतिबद्धता जनाएको कम्पनीले आफ्नो व्यवसायलाई थप विस्तार गर्न आईपीओमा जान लागिएको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ सम्म कम्पनीले आफ्नो प्रतिसेयर आम्दानी कम्तीमा ५३ रुपैयाँ ९३ पैसा पुर्‍याउने लक्ष्य राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप