आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
हवाई रुट

नेपाललाई भारतले किन दिँदैन थप हवाई रुट ?

सोमबार, २४ असार २०८१, ०९ : ३८
सोमबार, २४ असार २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठ १७ गते गरेको भारत भ्रमणको एजेण्डामा हवाई रुटको विषय पनि समावेश थियो ।

भ्रमणका क्रममा हवाई रुटका विषयमा छलफल भयो । भारत थप रुट दिन तयार पनि भयो । दुई जना प्रधानमन्त्रीको भेटघाटपछि तत्कालीन भारतीय विदेशसचिव विनय मोहन क्वात्राले पत्रकारहरूलाई थप हवाई रुट दिने विषयमा सकारात्मक छलफल भएको र यो प्राविधिक विषय भएकाले केही समय लाग्ने प्रतिक्रिया दिएका थिए ।

संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि थप हवाई रुट दिनेमा भारत सरकार सकारात्मक रहेको बताएका थिए । भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले पनि भारतले थप हवाई रुट दिने भन्दै त्यसमा सहमति नै भइसकेको बताएका थिए ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतसँगको सीमा नजिक छ । मौसम लगायत कारणले यो विमानस्थलमा उडान र अवतरण गर्ने विमान भारतीय हवाई क्षेत्रमा पुग्नसक्ने भएकाले त्यसलाई सम्बोधन गर्न भारतले प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले त्यतिबेला नै पत्रकारहरूलाई जानकारी गराएका थिए ।

भैरहवामा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस)को विषयलाई लिएर दुई देशका संयुक्त प्राविधिक टोलीको बैठक बस्ने र त्यसले गर्ने सिफारिसको आधारमा निर्णय गर्ने सहमति भएको थियो । हालसम्म त्यसमा थप छलफल भएको छैन ।

पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार महेन्द्रनगरको रुट तथा सीमा निकट उडानको विषयमा सुझावहरू पठाएको ६ महिनाभन्दा बढी भइसक्यो तर हालसम्म त्यसको कुनै प्रतिक्रिया आएको छैन ।

प्रधानमन्त्री भारतबाट फर्केको दुई हप्तापछि नागरिक उड्डयन प्राधिकरणले जनकपुर, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट रुट उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्र पठाएको थियो । तर लामो समयसम्म भारतले त्यसको बारेमा कुनै प्रतिक्रिया दिएन । प्राधिकरणले पर्यटन मन्त्रालयमार्फत पटक पटक यसको बारेमा ताकेता गरे पनि भारतले कुनै प्रतिक्रिया दिएन ।

२०८० पुसमा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएको बेला हवाई रुटको विषयमा पुनः चर्चा भएको थियो । उनी आएको बेला भारतले परराष्ट्र मन्त्रालयमार्फत पर्यटन मन्त्रालयसँग हवाई रुटको बारेमा सुझाव माग गरेको थियो । पर्यटन मन्त्रालयले त्यसको जवाफ पनि पठाएको थियो । त्यसपछि हालसम्म भारतबाट कुनै प्रतिक्रिया आएको छैन ।

पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार महेन्द्रनगरको रुट तथा सीमा निकट उडानको विषयमा सुझावहरू पठाएको ६ महिनाभन्दा बढी भइसक्यो तर हालसम्म त्यसको कुनै प्रतिक्रिया आएको छैन ।

सन् २०१४ मा भारतका प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्दा हवाई रुटको विषयमा सहमति भएको थियो । सहमति मात्र होइन, त्यही दिन दुवै देशका सम्बन्धित अधिकारीलाई ६ महिनाभित्र यसलाई टुङ्ग्याउन निर्देशन दिएको थियो । त्यो निर्देशन दिएको १० वर्ष भइसक्यो तर हालसम्म कुरा जहाँको त्यहीँ छ । नेपालले विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज र महेन्द्रनरगरको रुट उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ ।

ती सबै रुट नभए भैरहवा र महेन्द्रनगरको रुट तत्काल उपलब्ध गराउन आग्रह गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल–भारतबिच हुने हरेक उच्चस्तरीय भ्रमणमा हवाई रुटको विषय उठ्ने गरेको छ । भारतले रुट उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउँदै आएको छ । तर अवस्था जस्ताको त्यस्तै छ ।

भारतले सम्पूर्ण सीमा क्षेत्रमा सुरक्षाका लागि आर्मी तैनाथ गरेको छ । त्यसैले सुरक्षाका कारण आर्मीको सहमतिमा मात्र हवाई रुटसम्बन्धी निर्णय गर्न सकिने भन्दै भारतले पछिल्लो समय यो विषयलाई टार्न खोजेको ती पूर्वमहाप्रबन्धकले बताए ।

भारतले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका कारण हवाई रुट दिन आनाकानी गरिरहेको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए । पोखरा र भैरहवा विमानस्थल निर्माणमा चीनको संलग्नता भएको कारण भारतले हवाई रुट उपलब्ध गराउन आनाकानी गरिरहेको नेपाल पक्षको बुझाइ छ ।

भारतले गोरखपुरमा रहेको सैनिक ब्यारेकमाथि हवाई क्षेत्र पर्ने भएकाले भैरहवामा विमान प्रवेश बिन्दु उपलब्ध गराउन चाहेको छैन । प्राधिकरणका एक जना पूर्वमहाप्रबन्धकले भने, ‘मेरो पालामा महेन्द्रनगरबाट दोहोरो रुट दिन भारत तयार भइसकेको थियो तर नेपालबाट त्यसको तयारी पूरा नभएको कारण त्यो कार्यान्वयनमा आएन । पछि भारतको तर्फबाट सुरक्षाको कारण देखाउँदै टार्दै आइरहेको छ ।’

भारतले सम्पूर्ण सीमा क्षेत्रमा सुरक्षाका लागि आर्मी तैनाथ गरेको छ । त्यसैले सुरक्षाका कारण आर्मीको सहमतिमा मात्र हवाई रुटसम्बन्धी निर्णय गर्न सकिने भन्दै भारतले पछिल्लो समय यो विषयलाई टार्न खोजेको ती पूर्वमहाप्रबन्धकले बताए ।

हवाई रुट दिने कुरा राजनीतिक र कूटनीतिक विषय भए पनि नेपालले यो विषयलाई भारतसँग राम्रोसँग डिल गर्न नसकेको उनको भनाइ छ ।

  • रुट नदिँदा के हुन्छ ?

भारतले थप रुट दिएन भने पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले खासै फाइदा लिन सक्दैनन् । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘हाल भारतले नेपाल आउने वायुसेवाहरूलाई सिमरा हुँदै प्रवेश अनुमति दिएको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि सोही रुट प्रयोग गर्नुपर्छ । त्यो रुट प्रयोग गर्दा हवाई उडान महँगो हुन्छ ।’

भारतसँग हवाई रुटको विषयमा छलफल हुँदा सबै कुरा मिलेको जस्तो देखिन्छ । तर पछि कार्यान्वयन हुँदैन । यो विषय कर्मचारीस्तरबाट समाधान नहुने बताउँदै उनले प्रधानमन्त्रीस्तरबाट कुरा गरेर टुङ्गो लगाउनुपर्ने बताए ।

उनले भने, ‘भारतलाई पटकपटक पत्र पठाएका छौँ, छलफल गरेका छौँ तर कुरा जहाँको त्यहीँ छ । उनीहरूले मुख्यतः सुरक्षाको कारण देखाउँदै आलटाल गरिरहेका छन् ।’

सिमराबाट अधिकांश अन्तर्राष्ट्रिय उडान नेपालमा प्रवेश गरे पनि मेची र तुम्लिङटारका प्रवेश बिन्दुबाट भुटान र ल्हासा हुँदै विमानहरू नेपाल प्रवेश गर्छन् । विज्ञहरूका अनुसार सिमरा रुटबाट काठमाडौँ प्रदेश गर्न ठिक छ तर सोही रुटबाट भैरहवा र पोखरा विमानस्थल प्रवेशको रुटको दुरी लामो हुन्छ र त्यसले टिकटदेखि हरेक कुरा महँगो हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप