आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

युरोकपमा कार्डको कथा, सेमिफाइनल गुमाउने यी खेलाडी

सोमबार, २४ असार २०८१, ०७ : २६
सोमबार, २४ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा सेमिफाइनल समीकरण पुरा भइसकेको छ । प्रतियोगिताको सेमिफाइनल खेल बुधबार र बिहीबार खेलिने छ ।

पहिलो सेमिफाइनलमा बुधबार स्पेनले फ्रान्सको सामना गर्नेछ । बिहीबार नेदरल्यान्ड्स र इङ्ल्यान्डबिच दोस्रो सेमिफाइनल खेल खेलिने छ । दुवै सेमिफाइनल खेल राति ००ः४५ बजे सुरु हुनेछन् ।

स्पेनका दुई खेलाडीले भने सेमिफाइनल खेल गुमाउने भएका छन् । इङ्ल्यान्ड, नेदरल्यान्ड्स र फ्रान्सका कुनै पनि खेलाडीले सेमिफाइनल खेल गुमाउने छैनन् ।

इङ्ल्यान्डका जुड बेलिङ्मघ, फिल फोडेन, कोनोर गालाघर, कोबी माइनु र काइरन ट्रिपियर स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलअघि सम्भावित जोखिममा थिए ।

तर, इङ्ल्यान्डका कुनै पनि खेलाडीले कार्ड पाएबापत सेमिफाइनल खेल गुमाउनु पर्ने अवस्था सृजना भएन । इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटका लागि यो खुसीको खबर हो ।

इङ्ल्यान्डका मार्क गुएहीले दोहोरो पहेँलो कार्ड पाएका कारण यसअघि नै एक खेल गुमाएका थिए । त्यसैले उनले स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेल खेल्न पाएका थिएनन् । उनी सेमिफाइनलका लागि टोलीमा फर्किएका छन् ।

यसैगरी नेदरल्यान्ड्सका खेलाडीले पनि सेमिफाइनल खेल गुमाउने छैनन् । टर्कीविरुद्धको क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सका चार खेलाडीले पहेँलो कार्ड पाएका थिए । त्यो खेलमा पहेँलो कार्ड पाउने डच खेलाडी डेन्जल डम्फ्रिज, डोनेल मालेन, जेर्डी स्काउटेन र जोए विरम्यानले हुन् । तर, उनीहरूले सेमिफाइनल खेल गुमाउनु पर्ने अवस्था भने सृजना भएन ।

यसैगरी फ्रान्सका खेलाडीले पनि स्पेनविरुद्धको सेमिफाइनल खेल गुमाउनु पर्ने छैन । एड्रियन राबियोटले दोहोरो पहेँलो कार्ड पाएका कारण पोर्चुगलविरुद्धको क्वार्टरफाइनल खेल गुमाएका थिए । उनले समूहगत चरणको पोल्यान्डविरुद्धको खेलमा र प्रि–क्वार्टरफाइनलको बेल्जियमविरुद्धको खेलमा पहेँलो कार्ड पाएका थिए । उनी सेमिफाइनल खेलमा भने टोलीमा सहभागी हुनेछन् ।

यसैगरी फ्रान्सका कप्तान केलियन एमबाप्पेले पोर्चुगलविरुद्धको क्वार्टरफाइनल खेलमा एउटा पहेँलो कार्ड पाएका थिए । तर, उनले सेमिफाइनल खेल भने गुमाउने छैनन् । यसका अतिरिक्त एन्टोनिया ग्रिजम्यान, आउरेलिन र ओसमेन डेम्बेलले पनि सम्भावित जोखिममा थिए । तर, उनीहरूले पनि सेमिफाइनल खेल खेल्न पाउने छन् ।

यो मामलामा स्पेन भने अभागी देखिएको छ । स्पेनका दुईजना प्रभावशाली खेलाडीले सेमिफाइनल खेल गुमाउने छन् । डानी कार्भाहाल र रोविन ले नर्मान्डले दोहोरो पहेँलो कार्ड पाएका कारण सेमिफाइनल खेल गुमाउने भएका हुन् ।

डानी कार्भाजलले जर्मनीविरुद्धको क्वार्टरफाइनलमा दुई पहेँलो कार्ड पाएका थिए । रोविनले भने समूहगत चरणमा इटालीविरुद्ध र क्वार्टरफाइनलमा जर्मनीविरुद्ध पहेँलो कार्ड पाएका थिए । यसका अतिरिक्त क्वार्टरफाइनल खेलसम्म स्पेनिस टोलीका कप्तान अल्भारो मोराटा पनि जोखिममा थिए । तर, उनले सेमिफाइनल खेल गुमाउनु पर्ने अवस्था सृजना भएन ।

जारी युरोकपमा सबैभन्दा बढी कार्ड पाउने टोली स्पेन र जर्मनी हुन् । यी दुई टोलीका खेलाडीले १३–१३ वटा पहेँलो कार्ड पाएका छन् । यो सूचिमा तेस्रो स्थानमा रहेका अस्ट्रियाका खेलाडीले १२ वटा कार्ड पाएका छन् ।

यसैगरी स्लोभानियाका खेलाडीले ११ तथा स्विट्जरल्यान्ड, इटाली र हंगेरीका खेलाडीले नौ–नौवटा कार्ड पाएका छन् । इङ्ल्यान्ड, पोर्चुगल, स्लोभाकिया, रोमानिया, डेनमार्क र सर्बियाका खेलाडीले आठ–आठवटा कार्ड पाएका छन् ।

यसैगरी फ्रान्स, नेदरल्यान्ड्स, टर्की, बेल्जियम, क्रोएसिया, अल्बानिया र चेक गणतन्त्रका खेलाडीले सबैभन्दा कम सात–सातवटा कार्ड पाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप