बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कला

देउता र कलाको समन्वय

सोमबार, २४ असार २०८१, ०६ : ४४
सोमबार, २४ असार २०८१

यही वर्षको जेठ ८ देखि २८ गतेसम्म नेपाल आर्ट काउन्सिलमा एउटा सामूहिक कला प्रदर्शनी भयो । 

यस कला प्रदर्शनीमा समसामयिक कला, लोककला, व्यावसायिक कला, उपयोगी कला, हस्तकला जम्मै राखिएका थिए । त्यसैले यसलाई कला प्रदर्शनी भन्नुभन्दा ‘कला मेला’ भन्नु अझ सार्थक होला । अहिले हामीकहाँ हुने गरेका कुनै पनि कला प्रदर्शनी यस्तायस्तै प्रवृत्तिमा देखापर्छन् । जहाँ बग्रेल्ती कला हुन्छन्, कलाकारहरू चाहिँ हुँदैनन्, कलाका विज्ञ (चर्चा–परिचर्चा गर्नका लागि) पनि हुँदैनन्, यस्तो खालको मेला उहिले राणाकालदेखि प्रचलनमा थियो । 

खासगरी नेपाली देवी–देवतालाई मुख्य थिम बनाएर कोरिएका कला र बनाइएका मूर्ति यस प्रदर्शनीमा राखिएका थिए । देवी–देवता नै मूल विषय भएकाले प्रदर्शनीमा परम्परागत कलाकै वर्चस्व थियो । 

अहिले मूर्तिलाई थप सिँगारपटार गरी सुन, चाँदी, मोती, माणिक, मुगा आदिले सजाउने प्रचलन छ, जसले कलाको चमक अझ बढाएको छ । यसो हुनु वा गर्नु पुरानो शास्त्रीय मान्यताको बर्खिलाप हो भन्ने कलाकारहरू पनि छन्, जो यसको विरोध पनि गर्छन् ।

लिच्छवि कलाको अनुसरण मात्र गरियो भने कालो, चिल्लो, नितान्त सादा (गरगहना नै नभएको, वा कम भएको) शान्त, गम्भीर स्वभावका मूर्ति मात्र बन्छन् । मल्लकालका मूर्तिहरूमा  थप गरगहना देखिन्छ । त्यसैले कहाँबाट कस्तो कलाको विशेषतालाई टिप्दा चाहिँ मौलिकता हुन्छ भन्ने प्रश्न छँदै छ । 

IMG_20240523_133036

अर्कोतिर परम्परागत र समसामयिक कलालाई छुट्ट्याएर वा शास्त्रीय विधि–विधानमा आधारित भएर बनाइएका कलालाई मात्रै अलग्याएर प्रदर्शन गर्न सहज नहोला । 

परम्परागत कलाको कुरा उठ्दा ‘देवताको कल्पना’ मुख्य रूपमा आउँछ । थुप्रै हात र एकभन्दा बढी शिर भएका देवताको कल्पना गरी सुनैसुनले ढपक्कै ढाकेर मूर्ति बनाइयो भने सुन्दर देखिन्छ नै । यस प्रदर्शनीमा पनि शान्ति भावमा बसेका, गरगहनाले झपक्कै ढाकेका मूर्तिहरू हेर्दा भावुक मन्त्रमुग्ध भएको देखिन्थ्यो । 

पश्चिमी पद्धतिबाट गरिने हुँदा विश्वभर नै समसामयिक कलाहरू एकैजसो प्रवृत्तिमा देखापर्छन् । यसको टेस्ट अलग्ग होला, तर बाह्य आवरणले मात्र यसलाई अलग्ग पहिचान बनाउन सकिँदैन । नेपाली परम्परागत कला बनाउन भने सहज छैन ।

प्रदर्शनीमा सौन्दर्ययुक्त लोभलाग्दा धातुका मूर्तिहरू र मनमोहक पौभाचित्र राखिएका थिए । 

कलाकार बाबुराजा शाक्यको ‘दीपकंर’ नामक धातु (तामा) मूर्ति (जसको मूल्य १४ लाख ४० हजार राखिएको छ), कालु कुमालेको ‘उभिइरहेका बुद्ध’ नामक धातुमूर्ति (नबेच्ने भनेर मूल्य राखिएन)  आकर्षक देखिन्थे । वयोवृद्ध कालु कुमाले परम्परागत कलाको सर्वोच्च कलाकार हुन् । उनका कलालाई त्यसै पनि मूल्य आँक्न सकिँदैन । 

  • कलामा थिम राख्ने प्रचलन 

कला प्रदर्शनीमा थिम राख्ने प्रचलन आधुनिक कलाको विशेषता हो । एकताका एकै थिममा अलग–अलग कलाकारले काम गर्थे । यसो गर्दा कलाले के कस्तो भाव र अभिव्यञ्जना बोल्छ भनेर हेरिन्थ्यो, यो एक प्रकारको आन्दोलन नै भएर आएको थियो । विश्व कला बजारमा यस्तै थिम राखेर अहिले पनि कलाका प्रदर्शनी तथा मेला लाग्ने गर्छन् । नेपालमा विशेषतः समसामयिक कलाको प्रदर्शनीमा यस्तो प्रचलन देखिन्छ । 

नेपाली परम्परागत कलामा स्वयंसिद्ध कला दर्शनलाई ध्यान दिएर वा शास्त्रीय विधि–विधानमा रहेर कला बनाउनुपर्छ, त्यसैले यस्ता कलाहरू चाहेर पनि कुनै निश्चित थिममा बस्दैनन् । कलाकारको आफ्नो निजी विचारले भन्दा पनि शास्त्रीय दर्शनले कला डोरिन्छ, यद्यपि कलाकारले शिल्पको प्रयोग गर्छन् नै । यसकारण कलाकारलाई शिल्पी भन्ने प्रचलन बढेको हो । यस्ता कलामा सामान्यतया थिम हुँदैन ।

IMG_20240523_133114

देवी–देवताकै थिममा यस्ता परम्परागत कला अब्बल देखिनुको पछाडि धेरै कारण छन् । यो हाम्रो मौलिक कला हो, यही मौलिक कलाले हामीलाई विश्वमा एउटा अलग्ग कलागत पहिचान दिएको छ । बाह्य राष्ट्रका पर्यटकले महँगो दाम तिरेर लाने कला पनि यिनै हुन् । यस्ता धेरैजसो कलाहरू १८–२० लाख रुपैयाँभन्दा माथिकै हुन्छन् । दर्शन अनि धर्मसँग गहिरोसँग गाँसिएकाले यी कलालाई माथिल्लो दर्जामा राखेर हेरिन्छ । 

पश्चिमी पद्धतिबाट गरिने हुँदा विश्वभर नै समसामयिक कलाहरू एकैजसो प्रवृत्तिमा देखापर्छन् । यसको टेस्ट अलग्ग होला, तर बाह्य आवरणले मात्र यसलाई अलग्ग पहिचान बनाउन सकिँदैन । नेपाली परम्परागत कला बनाउन भने सहज छैन । यसमा मिहिनेत र समय बढी लाग्छ । यी कला बनाउँदा बडो ध्यान दिएर नियमबद्ध भई मसिना–मसिना काम गर्नुपर्छ । त्यसैले यस्ता कलाले भावकलाई आकर्षित गर्छ । देवी–देवतासँग अधिकांश नेपालीको मन गाँसिएको छ, त्यसैले होला यस प्रदर्शनीमा दर्शकको बढी भिडभाड देखिन्थ्यो । 

यस प्रदर्शनीमा धेरैजसो धातु (बढीजसो तामा)का यथार्थ र वस्तुवादी मूर्तिहरू थिए । शिलाभन्दा अलि पछि बनेको भनिएका यस्ता धातुकला प्राचीन कालकै मानिन्छन् । त्यो शैलीलाई टिपेर बनाइएका धेरैजसो मूर्ति तुलनात्मक रूपमा साना छन् । हेर्दा आकर्षक देखिने यस्ता स–साना मूर्ति बनाउने प्रचलन हिजोआज बढेर गएको छ । 

  • समसामयिक कला 

उसो त देवी देवतालाई अनेक रूपमा संयोजन गरी बनाइएका आधुनिक कला पनि यस प्रदर्शनी राखिएका थिए । केही कला आकर्षक पनि छन् । परम्परागत कलाको तुलनामा भने यी कला त्यति आकर्षक होइनन् । 

समसामयिक कलाको एउटा अलग्ग मोड खडा गर्ने, पश्चिमी कलागत पद्धतिलाई नेपाली कलासँग फ्युजन गरी नेपाली कलामा नयाँ धारलाई स्थापित गर्ने मूर्धन्य कलाकार स्वर्गीय तेजबहादुर चित्रकारले सन् १९३१ मा बनाएको एउटा महत्त्वपूर्ण चित्र यस प्रदर्शनमा राखिएको थियो । विशेष ठाउँ दिएर र चित्रबारे केही लेखेर अलग्ग राखिएको भए यो चित्रमाथि न्याय हुन्थ्यो । यस चित्रको गरिमामय अस्तित्वलाई यस प्रदर्शनीले सम्मान गरेको देखिँदैन । सतीको मृत शरीर बोकेर विक्षिप्त अवस्थामा हिडिँरहेका भगवान् शिवलाई उतारिएको यो चित्र अति महत्त्वको मात्र होइन, यो चित्र हेर्न पाउनु नै ठुलो कुरा हो ।

शेषनागको आसनमा आराम गरिरहेका भगवान् विष्णुलाई देवी लक्ष्मीले पाउ दबाएको चित्र देख्नु सामान्य हो, यहाँ भने रसनाले त्यही पोजमा विष्णुले लक्ष्मीको पाउ दबाइरहेको दृश्य ल्याएकी छन् । । लैङ्गिक विभेदको सवाललाई चोटिलो रूपमा उठाइएको यो चित्र नितान्त फरक ढंगबाट देखापरेको छ ।

समसामयिक कलाकारकै कुरा गर्ने हो भने यसबाहेक स्वर्गीय उत्तम नेपाली र वयोवृद्ध कलाकार हरिप्रसाद शर्माका चित्र पनि यस प्रदर्शनीमा राखिएको थियो । नेपालको कला इतिहासमा एउटा महत्त्वपूर्ण कालखण्डलाई प्रतिनिधित्व गर्ने यी चित्रलाई गोलमटोल रूपमा राखिदिँदा प्रश्न उब्जन्छ— दर्शकले नेपाली कलालाई कसरी आत्मसात् गर्लान् ? 

यसबाहेक मदन चित्रकार, सीमा शाह, वत्सगोपाल वैद्य, किरण मानन्धर, लोक चित्रकार, रागिनी उपाध्याय, एरिना ताम्रकार, रोशन प्रधान, मनीषलाल श्रेष्ठ, चिराग बाङदेल, संगी श्रेष्ठ, एससी सुमन, समुन्द्रमान सिंह, उदय चरण श्रेष्ठ, उमा शाह, उजय वज्राचार्य,  सागर मानन्धर, ज्योति विक, आशा डंगोल, इसान परियार, सविता डंगोल आदिका चित्र पनि त्यहाँ राखिएका थिए । यी सबै कलाकार नेपाली आधुनिक कलाको मूल धारका कलाकार हुन् । 

IMG_20240523_131539

रसना बज्राचार्यको एउटा चित्र छ, जसलाई परम्परागत भेषमा समसामयिक कला भन्न सकिन्छ, जसले महिलाको सवाल उठाएको छ । परम्परागत कलागत संरचनालाई लिएर बनाइएको यस चित्रमा पात्रको भूमिका भने फेरबदल गरिएको छ । शेषनागको आसनमा आराम गरिरहेका भगवान् विष्णुलाई देवी लक्ष्मीले पाउ दबाएको चित्र देख्नु सामान्य हो, यहाँ भने रसनाले त्यही पोजमा विष्णुले लक्ष्मीको पाउ दबाइरहेको दृश्य ल्याएकी छन् । । विषय र विचारले यो चित्र आधुनिक छ । लैङ्गिक विभेदको सवाललाई चोटिलो रूपमा उठाइएको यो चित्र नितान्त फरक ढंगबाट देखापरेको छ । 

  • कलाकार नदेखिनु विडम्बना  

चिटिक्क परेका र टलक्क टल्केका धातुका मूर्ति साँच्चै लोभलाग्दा देखिन्थे । यी  कला बनाउने कलाकार भने प्रदर्शनीम देखिएनन् । कलाकारहरूको चर्चा नहुने हुँदा, खोजी नगरिने हुँदा प्रायः यस्ता कलाका कार्यक्रममा त्यसै पनि कलाकार जाने गर्दैनन् । यो अटपटजस्तो देखिने अवस्था किन बस्यो । यस्ता कार्यक्रममा कलाकारहरू किन जाँदैनन्, कलाकारलाई किन प्रस्तुत गरिँदैन, कलाकारको कुरा किन गरिँदैन, कलाकारको व्यक्तिगत कलागत पहिचानको कुरा किन खोतलिँदैन ? यी प्रश्न यस प्रदर्शनीले पुनः उब्जायो । यो कलागत वातावरणले गर्दा पनि कलाकार सधैँ शिल्पीभन्दा माथि नउठेको साँचो हो । 

कलाविद् सत्यमोहन जोशीका अनुसार नेपालमा लिच्छविकालमै धातुबाट मूर्ति बनाउने प्रचलन थियो । उनले पाँचौँ शताब्दीका राजा मानदेवको ताम्रमुद्रालाई उदाहरणका रूपमा पेस गरेका छन् । 

नेपालमा यस्ता मूर्तिहरू बन्ने अनि बनाउने हजारौँ कलाकार छन् । जुन कलाकार  कतै कुनामा बसेर दिनरात खटेर यस्ता मूर्तिहरू बनाएका होलान्, बनाउँदै होलान् । यिनीहरूलाई यो प्रदर्शनीका बारेमा थाहा छ वा छैन, हेक्का भएन तर यी कलाकारले नै हाम्रो राष्ट्रको परम्परागत कला र सम्पदाको गरिमा थामिरहेका छन् । यस्ता कलाकारलाई व्यक्तिगत रूपमै पहिचान गर्नुपर्छ  र उनीहरूलाई संस्थागत रूपमै सम्मान गरिनुपर्छ ।

यी मूर्ति कलासँग मिसाएर वा अलिकता स्पेस दिएर ठाकुरप्रसाद मैनालीका कला राखिएको रहेछ, जो अलिकति अटपटजस्तो लाग्थ्यो । ठाकुरप्रसाद मैनाली नेपाली आधुनिक मूर्तिकला भित्र्याउने आदरणीय मूर्तिकार हुन् । 

विश्व कलाको इतिहासमा ‘हाइ रिनेसन्स’ (उच्च पुनर्जागरण)को मुभमेन्ट ईसाको १५औँ–१६औँ शताब्दीमा भयो । युरोपमा त्यस बखतका कलाबारे मात्र उत्खनन गरेनन्, कलाकारबारे अर्थात् उनीहरुको कलाशैली, कल्पनाशीलता र शिल्प दक्षताको समेत खोजीनिती गरियो । त्यसैले आज हामीले लियोनार्दो द भिन्ची, राफेल अनि माइकल एन्जलोलाई उनका कामसहित चिन्ने गर्छौँ । यसपछिका दिनहरूमा कला र कलाकारहरूको संयुक्त रूपमै चर्चा हुने गरेको कला इतिहास छ । हामीकहाँ यस्तो अभ्यास कमै हुन्छ । 

IMG_20240523_132933

  • धातु कलाको इतिहास 

कलाविद् सत्यमोहन जोशीका अनुसार नेपालमा लिच्छविकालमै धातुबाट मूर्ति बनाउने प्रचलन थियो । उनले पाँचौँ शताब्दीका राजा मानदेवको ताम्रमुद्रालाई उदाहरणका रूपमा पेस गरेका छन् । 

त्यस ताम्रमुद्रामा एक खुट्टा उचालेको सिंहको मूर्ति अनि कमलको आसनमा नारी मूर्ति भएबाट धातु मूर्तिको प्रचलन त्यतिबेलै भइसकेको बुझिन्छ । नेपालमा सबैभन्दा प्राचीन मुद्रा पनि यही हो । 

पछि सातौँ शताब्दी (राजा अंशुवर्माको पाला)मा जटाधारी लोकेश्वरको धातुमूर्ति (मीननाथ) देखा पर्छ भनेर जोशीले उल्लेख गरेका छन् । यो धातु मूर्ति ललितपुर चक्र महाविहार (चकवहाः टंगल)मा अहिले पनि मन्दिरभित्र सुरक्षित छ । प्रत्येक वर्ष वैशाख शुक्लमा रातो मत्स्येन्द्रनाथको रथयात्राकै क्रममा यस मूर्तिको रथयात्रा हुन्छ । 

यो मूर्ति त्यस बेला ‘कमिसन वर्क’का रूपमा कलाकार (शिल्पी, शिल्पकार)ले यस्ता कला बनाएका हुन् । यसो हुँदा कुन कलाकारले यो मूर्ति बनाए कहीँ अभिलेख भएको छैन । त्यस बेलाका कलाहरूको स्वदेशी वा विदेशी कलाविद्बाट खोजीनिती भएका छन् तर त्यसका कलाकारका बारेमा खोजीनिती गरी अनुसन्धान गरिएको आजसम्म देखिएको छैन । 

यही परम्परालाई कायम गर्दै आजका कलाकारले पनि यस्तायस्तै परम्परागत देवी–देवताका धातु मूर्तिहरू आज पनि बनाउने गर्छन् । पर्यटन स्थलका दोकानतिर यस्ता मूर्ति प्रशस्तै देख्न सकिन्छ । आज पनि कमिसन वर्ककै रूपमा अधिकांश यस्ता मूर्ति बनाइने हुँदा कलाकारको नाम लेख्ने प्रचलन बन्न सकेको छैन । कलाकारको व्यक्तिगत पहिचान र उनको शिल्प दक्षता बारेमा आज पनि अभिलेख राख्ने र प्रदर्शन गर्ने परम्पराको विकास भएको छैन । यस कारण आज कैयौँ परम्परागत चित्र वा मूर्तिहरू समसामयिक कलाजस्ता देखिन्छन् । यसको लेखाजोखा र मूल्याङ्कन कसले गर्ने ? यो पनि एक सवाल बनेर रहेको छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप