आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर

आइतबार, २३ असार २०८१, २२ : ३८
आइतबार, २३ असार २०८१

खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न सेमिफाइनल खेलमा झापा ताप्लेजुङलाई शून्यका विरुद्ध छ तथा भोजपुर ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

झापाको जितका लागि जर्सी नं ८ की खेलाडी जेनिफर रानामगर एक्लैले छ गोल गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । पहिलो हाफको १४, १६, २७  र २९औँ मिनेट तथा दोस्रो हाफको १७ र २० औँ मिनेटमा छ गोल गर्न सफल जेनिफर प्रतियोगिताको ‘म्यान अफ दी म्याच’समेत घोषित हुनुभएको छ । 

झापा आजै  भएको क्वाटरफाइनल खेलमा तेह्रथुमलाई शून्यका विरुद्ध चार गोल गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, भोजपुरको जितका लागि पहिलो हाफको तीन मिनेटमा जर्सी नं ११ की खेलाडी आशिका कार्की र छैटौँ मिनेटमा जर्सी नं १५ की खेलाडी सविना तामाङले एक÷एक गोल गर्न सफल भएको आयोजकले जनाएको छ । भोजपुर र ओखलढुङ्गाबीचको सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ भने भोजपुरकी जर्सी नं १४ की खेलाडी आरती भुजेल घोषित भइन् ।  

जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल यही असार २५ गते दिउँसो १ बजेदेखि सुरु हुने छ । यही असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका महिला खेलाडी सहभागी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप