आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

तेस्रो युएसएड यात्रा दाङको लमहीमा

आइतबार, २३ असार २०८१, २२ : ३१
आइतबार, २३ असार २०८१

लमही । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ । 

आज लमहीको बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिकलगायत विभिन्न प्रस्तुति दिइयो । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन कपिलवस्तुको वाणगङ्गाबाट सुरु भएको यात्रा बुटवल हुँदै लमही आइपुगेको हो ।

यूएसएडका अनुसार सोमबार बाँकेको कोहलपुर र मङ्गलबार नेपालगञ्जमा पनि कार्यक्रम गर्ने तालिका छ ।  युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै आठ दशकदेखि रहँदै आएको छ । साथै युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रमार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पुर्याएको छ भने करिब ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिइसकेको जनाइएको छ । 

सन् २००० देखि युएसएडले नेपालका विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा रु एक खर्ब ९६ अर्ब भन्दा बढीको सहयोग प्रदान गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप