अभिषेक शर्माको कीर्तिमानी शतकमा भारतको सहज जित
हरारे । अभिषेक शर्माले भारतका लागि टी–२० अन्तर्राष्ट्रिय तेस्रो चाँडो शतक बनाउँदा टोलीले जिम्बाब्वेमाथि सहज जित हासिल गरेको छ । आइतबार भएको खेलमा भारत १ सय रनले विजयी बनेको हो ।
भारतले प्रस्तुत गरेको २ सय ३५ रनको लक्ष्य पछ्याउँदा जिम्बाब्वे १८.४ ओभरमा १ सय ३४ रन बनाउँदै अलआउट हुन पुग्यो । जिम्बाब्वेका लागि वेस्ली मधेभेरेले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, लुक जोङ्वेले २६ बलमा ३३ रन बनाए भने ब्रायन बेनेटले विस्फोट इनिङ्स खेल्दै मात्र ९ बलमा २६ रन जोडे । भारतका लागि मुकेश कुमार र अभेष खानले ३–३ विकेट हात पारे । रवि विश्नोईले २ तथा वासिङ्टन सुन्दरले १ विकेट लिए ।
यसअघि अभिषेक शर्माले ४७ बलमा शतक प्रहार गरेपछि भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३४ को विशाल योगफल तयार गरेको थियो । १ सय रन बनाएर आउट हुनुअघि शर्माले आफ्नो इनिङ्समा ७ चौका र ८ छक्का हिर्काए । उनले लगातार तीन छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।
उनीभन्दा चाँडो सन् २०१७ मा रोहित शर्माले ३५ बलमा र सन् २०२३ मा सूर्यकुमार यादवले ४५ बलमा शतक बनाएका थिए । दुवै खेलाडीले श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । केएल राहुलले पनि सन् २०१७ मा वेस्ट इन्डिजविरुद्ध ४६ बलमा शतक बनाएका थिए ।
शर्मालाई रुतुराज गायकवाडले ४७ बलमा ७७ रन बनाउँदै राम्रो साथ दिए । उनले आफ्नो इनिङ्समा ११ चौका र १ छक्का प्रहार गरे । रिंकु सिंहले तीव्र गतिमा रन बनाउँदै २२ बलमा ४८ रन जोडे । उनले २ चौका र ५ छक्का हिर्काए ।
जिम्बाब्वेका लागि ब्लेसिङ मुजराबानी र वेलिङटन मसाकाड्जाले १–१ विकेट लिए । भारत पहिलो खेलमा जिम्बाब्वेसँग १३ रनले पराजित भएको थियो । योसँगै ५ खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । अब तेस्रो खेल बुधबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
-
सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
-
नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य
-
जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन
-
नेता तथा कार्यकर्ता एकताबद्ध भएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्छ : सभापति देउवा
-
बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै